प्रदेश १ का आर्थिक मामिलामन्त्री आङ्बोलाई भेटेर मागियो १६ करोड ५० लाख बजेट «

प्रदेश १ का आर्थिक मामिलामन्त्री आङ्बोलाई भेटेर मागियो १६ करोड ५० लाख बजेट

सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिका भित्रका अधुरा विकास निर्माण पूरा गर्नका लागि प्रदेश सरकार समक्ष आवश्यक बजेटको माग गरिएको छ । माप्य दूधकोसीका माओवादी नेताहरूले आफ्नो स्थानीय तहमा अलपत्र बनेका ठूला विकासका योजना पूरा गर्न आवश्यक बजेट विनियोजनका लागि प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोलाई भेटेर माग पत्र बुझाएका छन् ।
स्टार युथ क्लबको स्थापना दिवसको अवसरमा सल्लेरीमा सुुरु भलिबल प्रतियोगिता तथा सांगीतिक साँझको उद्घाटन गर्न सल्लेरी आइपुगेका मन्त्री आङ्बोलाई माप्य दूधकोसीका माओवादी नेताहरूले योजना खुलाएर थप बजेटको माग गरेका हुन् ।
थुलुङ दूधकोसीको देउसा र माप्य दूधकोसीको जोड्ने गरी काय खेतमा निर्माणाधीन बेलिब्रिजका लागि २ करोड २० लाख, दिप्लीघाट देखि युङ्कु, दोभान, युङ्दप, वाकु, वाप्सा, गुन्थले, ठानेखोला, जुभिङ, लाकुरी, न्याई हुँदै खुम्बु पासाङल्हामु जोड्ने सडक निर्माणका लागि १० करोड, माप्य दूधकोसी ६ वाकुमा निर्माणाधिन चिण्डो लाइब्रेरीका लागि ५० लाख, माप्य दूधकोसी ४ डाँडागाउँमा महिला भवनका लागि ५० लाख, माप्य दूधकोसी १ जुभिङस्थित सिंहदेवी खालिङ उत्थान समाजको भवन निर्माणका लागि ८० लाख, माप्य दूधकोसी–२ स्थित भोकखोलामा पक्की पुल निर्माणको लागि दुई करोड र माप्य दूधकोसी ७ हाँकुलामा सञ्चालित हिमालय माविको भौतिक संरचना संरक्षण तथा पहिरो व्यवस्थापनका लागि ५० लाख बजेट प्रदेश सरकारसँग माग गरिएको छ ।
सोही अवसरमा स्टार युथ क्लबको तर्फबाट पनि आर्थिक मामिला मन्त्री आङ्बोलाई मागपत्र प्रदान गरिएको छ । हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुका अध्यक्ष गोम्बु शेर्पा, समन्वय समिति सचिव तथा थुलुङ दूधकोसी गाउँपालिका अध्यक्ष असिम राई, प्रदेश कमिटी सदस्य तथा महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती लगायत माप्य दूधकोसी क्षेत्रका माओवादीका नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्