हरेक वर्ष धान लगाउने बेला किसान रासायनिक मल नपाएर आजित भइसकेका छन् ।
समयमा नै रसायनिक मलको व्यवस्था गरौैं

हरेक वर्षझैं यसपटक पनि आउँदो धानबालीका लागि रासायनिक मलको अभाव हुन सक्ने देखिएको छ । हरेक वर्ष दोहोरिने यस्ता समस्याले नेपालको निर्वाहमुखी कृषि झन् तहसनहस भई कृषिवस्तु आयात बढाउने निश्चित बछ । कृषिप्रधान मुलुक भन्ने तर बर्सेनि बाली लगाउने बेलामा मल, बीउ तथा सिँचाइको अभावमा खाद्यान्न आयात बढाइरहने हरेक सरकारको नियति नै भइरहेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा करिब पौने १८ अर्बको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ । अर्थात् कृषिप्रधान मुलुकको कृषि तथा किसानको विकासमा सरकार निरपेक्ष देखिन्छ । बर्सेनि खाद्यान्न आयात बढ्दै गएको सत्य एकातिर छ भने बर्सेनि खेतीपातीको मुख्य मौसममा रासायनिक मलको हाहाकारीको तथ्य अर्कातिर छ ।
फेरि वर्षैपिच्छे आइरहेको प्राकृतिक प्रकोपको पीडा त्यसमाथि छ नै । चालू आर्थिक वर्षमा पनि धान भित्र्याउने बेलैमा अचानकको वर्षा र बाढीले करिब १२ अर्बको धान नोक्सान गरेका कारण चामललगायत खाद्यान्नको आयात झन् बढ्ने देखिन्छ, जसका कारण गत आर्थिक वर्षमा ७९ अर्ब ५९ करोडको खाद्यान्न आयात भएकोमा चालू आर्थिक वर्षमा ९० अर्ब कट्ने देखिन्छ । गत आर्थिक वर्षमा भन्दा कम धान उत्पादन हुने भएकाले चालू आर्थिक वर्षमा आयात बढ्नु स्वाभाविक देखिए तापनि सरकारले अझै कृषिमा यथेष्ट ध्यान दिन नसकेको किसानकै गुनासो छ । मल, बीउ तथा सिँचाइको अभावमा जसोतसो निर्वाहमुखी कृषिकर्म चलिरहेको हुनाले मात्र आयात बढेको होइन, बेलाबेलामा आइरहने प्राकृतिक प्रकोपले पनि धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन सकेको छैन ।
सरकारले किसानलाई यस्ता प्राकृतिक प्रकोपको पूर्वजानकारी दिने तथा कृषि बिमा पनि कडाइका साथ लागू गर्ने कार्यमा भएको ढिलाइ पनि बढ्दो खाद्यान्न आयातको कारण हो, जसका कारण नेपालीले भारतदेखि, चीन, अमेरिका, थाइल्यान्ड, इटाली, जापान, कोरिया तथा बंगलादेशबाट आयातित चामल खानुपरेको छ ।
तर, खाद्यान्न आयात बढ्नुमा सबैभन्दा ठूलो समस्या खेतीबालीका बेलामा रासायनिक मलको अभाव हो । हरेक वर्ष धान लगाउने बेला किसान रासायनिक मल नपाएर आजित भइसकेका छन् । यसपटक पनि फेरि त्यही कथा दोहोरियोस् भन्नका लागि सरकारले आउँदो धानबालीका लागि चाहिने रासायनिक मलको लागि स्रोत व्यवस्थापन गर्न ढिलाइ गर्नु हुन्न । धानबालीका लागि रासायनिक मल अभाव हुन सक्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप १ लाख टन मल खरिदका लागि स्रोत जुटाउन लागेको बताए तापनि ढिलाइ हुँदै जाँदा फेरि धानबालीको सिजनमा समस्या नपरोस् भन्नका खातिर समयमा नै मल मगाउनु आवश्यक छ ।
अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले सरकारले छुट्ट्याएको बजेटले रासायनिक मल खरिद गर्न नपुगेको मन्त्रालयको जिकिर छ । त्यसैले थप स्रोत जुटाउन मन्त्रालय लागेको पनि दाबी गरेको छ । सरकारले चालू आर्थिक वर्षमा छुट्ट्याएको बजेटले २ लाख ४० हजार टनमात्र मल खरिद गर्न पुग्ने तर थप १ लाख टन मलका लागि बजेट नपुग्ने मन्त्रालयको दाबी हो । मन्त्रालयका अनुसार १ लाख टनका लागि थप ६ अर्ब रुपैयाँबराबर आवश्यक पर्नेछ ।
यसै पनि नेपालमा कृषि उत्पादन वृद्धि गर्न आधुनिकीकरण, यान्त्रिकीकरण तथा व्यवसायीकरण गर्ने योजनामा सरकार असफल हुँदै आइरहेको छ, जसका कारण नेपालमा धानको उत्पादकत्व कम छ । त्यसमाथि सदाझैं अन्तरमन्त्रालय समन्वयको कमीमा धानबाली लगाउने बेलामा रासायनिक मलको हाहाकार नहोस् भन्नका लागि समयमा नै बजेटको व्यवस्था गरी मल आयात गर्न ढिलाइ नहोस् । मन्त्रालयका अनुसार धानबालीका लागि १ लाख मेट्रिक टन युरिया, ७५ हजार टन डीएपी, १० हजार टन पोटास आवश्यक पर्छ । जब सरकारसँग तथ्यांक उपलब्ध छ भने त्यहीअनुसार समयमा नै मलको व्यवस्था गर्न ढिलाइ नगरौं ।