एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी भएका छन्। सोमबार सम्पन्न एनआरएनको निर्वाचनबाट अध्यक्षका प्रत्यासी जमुना गुरुङलाई भारी मतअन्तरले हराउँदै भट्ट विजयी भएका हुन् ।
अध्यक्षमा विजयी भट्टले एक हजार १ सय ९७ मत प्राप्त गरेका थिए भने गुरुङले ५सय ८४ मत प्राप्त गरेकी थिइन् । उक्त निर्वाचनमा कुल १ हजार ७ सय ८८ एनआरएन सहभागी थिए ।
त्यस्तै खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डा बद्री केसी, सचिवद्वयमा डबरबहादुर (डिबी)क्षेत्री र जानकी गुरुङ, कोषध्यक्षमा हिक्मतबहादुर थापा र सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन्।
टीबीआई पब्लिकेशनका अध्यक्ष भट्टले विजयी भएपछि प्रतिक्रिया दिँदै भने ‘आफ्नो कार्यकालमा एनआरएनको नयाँ अध्यायको शुरु हुने तथा स्थापनाकालदेखि पूरा नभएका ऐजेण्डा पूरा गर्ने बताए। अब सबैलाई साथ लिएर अघि बढ्ने छु ।’
२० वर्ष अगाडि अध्ययनको लागि जापान पुगेका भट्ट एनआरएनएमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यष भएर काम गरिसकेका छन् । जापानमा रेष्टुरेन्ट व्यवसायमा सफल मानिएका भट्टको २९० वटा रेष्टुरेन्ट रहेका छन् । जसबाट वार्षिक ३५ अर्बको कारोबार हुने गरेको छ । व्यवसायिक समुह टिबिआईका अध्यक्ष रहेका भट्टको नेपालमा पनि उद्योग,संचार,कलेज लगायतका क्षेत्रमा लगानी रहेको छ।
गोरखामा जन्मिएका भट्ट एनआरएन अभियानमा सुरुवातदेखि सक्रिय थिए । जापानमा एनआरएनको समन्वयन समिति गठन देखि जापान अध्यक्ष हुँदै एनआरएनएको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष हुँदै भट्ट अध्यक्ष बन्न सफल भएका हुन् ।
चौध वर्षअघि स्थापना भएको एनआरएनएले हाल ७७ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। एनआरएनएको महाधिवेशन हरेक दुई वर्षमा नेपालमै हुने गरेको छ। शनिबारदेखि सुरु भएको एनआरएनएको आठौं विश्व सम्मेलन तथा अन्र्तराष्ट्रिय महाधिवेश मङ्गलबार सम्पन्न हुँदैछ । कार्यक्रमको समापन समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवा उपस्थित हुनेछन् ।