बेलायतले पहिलो चरणमा दुई सय नर्स लैजाने «

बेलायतले पहिलो चरणमा दुई सय नर्स लैजाने

कोरोना संक्रमणपछि अन्तर्राष्ट्रिय श्रम बजारमा देखिएको दक्ष स्वास्थ्यकर्मी तथा प्राविधिक श्रमिकको अभाव पूरा गर्न नेपालबाट नर्स तथा स्वास्थ्य प्रविधिक माग हुन थालेको छ । पछिल्लो दुई दशक अदक्ष श्रमिक स्रोत मुलुकको रूपमा रहेको नेपालबाट बेलायत, इजरायल तथा खाडी देशबाट नर्स तथा स्वास्थ्य प्राविधिकको माग आउन थालेको छ ।
हालै बेलायत सरकारले आफ्नो देशमा देखिएको नर्स तथा केयरगिभरको अभाव पूरा गर्न विभिन्न श्रमिक स्रोत मुलुकबाट एक लाख नर्स भित्र्याउने योजना बनाएको छ । यसमध्ये बेलायत सरकारले नेपालबाट सरकार–सरकार (जीटूजी) मार्पmत ठूलो संख्यामा नर्सको माग गर्ने तयारी गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बेलायत सरकारले सरकारी तवरले ठूलो संख्यामा नेपाली नर्स माग गर्ने तयारी गरेको जानकारी दिए । “पहिलो चरणमा बेलायतले नेपालबाट दुई सय नर्स माग गर्ने र त्यसपछि क्रमशः माग बढाउँदै लैजाने जनाएको छ,” प्रवक्ता घिमिरेले कारोबारसँग भने, “बेलायतले नेपाली नर्सलाई वार्षिक ४८ हजार पाउन्ड दिने जनाएको छ ।” बेलायतले नर्स माग गर्ने जनाएपछि मन्त्रालयले यसको मोडालिटी बनाउन श्रम मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुखको नेतृत्वमा एक समिति बनाई यसका लागि सहजीकरण र मोडालिटी बनाउने काम गरिरहेको छ ।
सो समितिले नेपालबाट जाने नर्सको योग्यता, उमेर, अनुभव र छनोट प्रक्रियाका बारेमा निर्णयसहित सुझाव दिनेछ । यसका लागि मन्त्रालयले नेपालस्थित बेलायती दूतावाससँग छलफल गरिरहेको छ । यस सम्बन्धमा मन्त्रालयले नेपालस्थित बेलायती दूतावासका प्रतिनिधिसँग सोमबारसमेत छलफल गरेको थियो । बेलायतले लैजाने नेपाली नर्सको कार्यक्षेत्र केयरगिभर क्षेत्रसँग सम्बन्धित पनि हुने जनाइएको छ । कुबेतमा पनि नर्सको माग यसैगरी कुबेतको स्वास्थ्य मन्त्रालयको समन्वयमा त्यहाँका विभिन्न अस्पतालमा काम गर्न ७ सय २९ नर्सको माग आएको छ । यसका लागि कुबेतको एडभान्स टेक्नोलोजी कम्पनी केएससीले कुबेतको स्वास्थ्य मन्त्रालयको अनुमतिमा नेपाली नर्स लैजाने ओमेगा इन्टरनेसनल मेनपावरका सञ्चालक राजकुमार राईले जानकारी दिए । यसका लागि सो मेनपावरले वैदेशिक रोजगार विभागबाट ११ कात्तिकमा पूर्व श्रम स्वीकृतिसमेत लिइसकेको छ ।
नर्स पेसामा कुबेत जाने नेपालीको मासिक तलब ३ सय ५० कुबेती दिनार अर्थात् १ लाख ३० हजारभन्दा बढी हुने विभागको श्रम स्वीकृतिमा उल्लेख छ । कुबेतले नेपालबाट बीएसी नर्स, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स (पीसीएल), डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट र डेन्टल एक्सरेलगायतका क्षेत्रमा रोजगारी दिनेगरी नेपाली नर्स लैजाने तयारी भएकोे हो । यसरी जाने नेपाली नर्सले सीटीईभीटी वा अन्य कुनै कलेज युनिभर्सिटीबाट तीन वर्षको कोर्स पूरा गरी सम्बन्धित काममा कम्तिमा तीन वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ । सीएमए, अनमीलगायत अन्य तीन वर्षभन्दा कम करिकुलम सर्टिफिकेट भएका हकमा मेनपावरले नै छनोट गर्ने जानकारी दिइएको छ । मेनपावरले दोस्रो चरणमा विभागबाट लिएको पूर्व श्रम स्वीकृतिअनुसार २ सय ८ पुरुष र ३ सय ९० महिला रहेका छन् । यसअघि भने सो मेनपावरले २० महिला नर्सको पूर्व श्रम स्वीकृति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्