Logo

हस्तकला मेलामा आठ करोडको कारोबार

१८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल हस्तकला महासंघले आयोजना गरेको तीन दिने मेलामा करिब आठ करोड रुपैयाँको कारोबार भएको छ ।
मेला समापन कार्यक्रममा महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताए । पहिलो दिन शुक्रबार २३ हजार, दास्रो दिन ५५ हजारले मेला अवलोकन गरेको उनले बताए । दोस्रो दिन शनिबार परेकाले मेला अवलोकनकर्ताको व्यवस्थापन गर्न हम्मे हम्मे परेको शाक्यको भनाइ छ ।
महासंघका अध्यक्ष शाक्यले निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला संस्कृतिको संरक्षण सम्वद्र्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकाले हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले हस्तकलाको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिद्धता व्यक्त गरिन् । सो अवसरमा १६औं कला प्रतियोगिताका विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो । नेचुरल फाइवरतर्फ दाङकी सुनिता कुमारी चौधरी प्रथम भइन् भने पुन महर्जन द्वितीय र आशा माया महर्जन तृतीय भएका छन् ।
त्यस्तै परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितीय र राम बज्राचार्य तृतीय भए । प्रथम द्वितीय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृतहरुको हस्तकला महासंघले नै खरिद गर्ने प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले बताए ।
मेलामा विभिन्न हस्तकला विधाका एकसय २० भन्दा बढी स्टल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्