Logo

कोसी पूर्वी तटबन्ध मर्मत गरिने

नदीको कटान नियन्त्रणका लागि सप्तकोसीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने भएको छ ।
नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो । सो विषय अध्ययनका लागि नेपाल–भारत दुई देशीय उच्चपदस्थ पदाधिकारीको टोलीले फिल्ड भिजिटको कामसमेत सकेको छ । टोलीमा नेपाली पक्षबाट ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्रालय, जलस्रोत तथा सिंँचाइ विभागका प्रवक्तासमेत रहेका उप–महानिर्देशक कृष्णप्रसाद नेपाललगायतको उपस्थिति थियो ।
उच्चपदस्थ टोलीमा सहभागी नेपालले भने, “अर्को बाढीभन्दा पहिले गर्नुपर्ने काम आइडेन्टिफाइ गर्नुपर्ने, रिकुमेन्ट गर्नका लागि उनीहरूले आइडेन्टिफाई गरेको कामलाई फिल्ड भेरिफिकेसन गर्न नेपाली पक्षले सहभागिता जनाएको हो । बाँकी अन्य मर्मतलगायतका सम्पूर्ण कार्य भने भारतीय पक्षले नै गर्नेछ ।”
भारतीय पक्षको नेतृत्व भने गंगा नदी बाढी नियन्त्रण आयोजनाका प्रमुख सीके एल दासले गरेका थिए । उनले फिल्डमा पुगेर वस्तुस्थिति अध्ययन गरिएकाले तटबन्ध र स्पर मर्मतको कार्यलाई अघि बढाउन सहज हुने बताए । दासले थप एजेन्डाका विषयमा भने हाई कमिटीको मिटिंगमा कुरा उठाउने बताए ।
टोलीमा नेपालको तर्फबाट विपद् व्यवस्थापन महाशाखासहित भू–आर्जन कार्यालयका पदाधिकारीका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्