लगानीयोग्य तरलताको दबाबमा मुलुक «

लगानीयोग्य तरलताको दबाबमा मुलुक

बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको तरलता अभावको समस्याले लघुवित्तहरूलाई समेत असर पारेको छ । लगानीको ५० प्रतिशत स्रोतका लागि बैंक तथा वित्तीय संस्थासँग निर्भर रहनुपर्ने लघुवित्तहरू बैंकमा देखिएको तरलता समस्या र त्यससँगै बढेको ब्याजदरका कारण समस्यामा परेका छन् । संस्था चलाउन सञ्चालन लागत नै धेरै लाग्ने यस्ता संस्थाहरूमा एकातर्फ बैंकको ब्याजदर बढ्दा स्रोत जुटाउनमा नै लागत थपिएको छ भने र अर्कातर्फ १५ प्रतिशतभन्दा धेरै ब्याजदर कायम गर्न नपाउने कारण चपेटामा परिरहेका छन् । नेपालमा लघुवित्तहरूले विपन्न तथा महिलाहरूलाई सबैभन्दा धेरै कर्जा प्रवाह गर्र्दै आएको सुनिन्छ । यस्तो अवस्थामा बजारमा देखिएको तरलताको समस्या दुई–तीन महिना अझै लम्बिए आफ्नो व्यवसाय नै संकुचन हुने र त्यसले देशकै अर्थतन्त्रमा धक्का लाग्ने उनीहरूले बताइरहेका छन् । लघुवित्तसँग जोडिएका केही नराम्रा कामहरू बाहिर आए पनि ग्रामीण अर्थतन्त्र विस्तारमा आफूहरूको ठूलो योगदान रहेको र सरकारले यस्तो अवस्थामा आवश्यक कदम चाल्नुपर्ने उनीहरूको माग छ । नेपालमा तरलताको अभाव निम्तिनुका कारण, त्यसले लघुवित्तमा परेको असर र समाधानका विषयमा कारोबारकर्मी सुमित सुवेदीले लघुवित्तकर्मीहरूसँग गरेको कुराकानीको सार :

महिला सशक्तीकरणमा लघुवित्तको योगदान ठूलो छ
ज्योतिचन्द्र ओझा
सीईओ, आरएमडीसी लघुवित्त वित्तीय संस्था

लघुवित्तहरूले लगानीको ५० प्रतिशत स्रोत, बचत तथा आफ्नो पुँजीबाट पूरा गरिरहेका हुन्छन् भने बाँकी ५० प्रतिशत बाहिरबाट जुटाउने गरेका छन् । त्यसमा पनि अधिकांश स्रोत बैंक तथा वित्तीय संस्थाहरूबाट जुटाउँदै आइएको छ ।
अहिले सीडी रेसियो व्यवस्थापनका कारणले भनौं वा विगतमा धेरै कर्जा प्रवाह भएको तर त्यसअनुसारको निक्षेप नपाएका कारणले वाणिज्य बैंकहरूसँग कर्जा प्रवाह गर्ने रकमको अभाव भइरहेको छ । लघुवित्तको लगानीको स्रोत बैंक तथा वित्तीय संस्थाहरू भएपछि त्यहाँ समस्या देखिँदा त्यसको असर लघुवित्तमा पर्ने नै भयो । तरलताको समस्या भएपछि अहिले बैंकहरूले ब्याजदर पनि बढाएका छन् । एक त रकमको अभाव, अर्को ‘बरोइङ कस्ट’ बढेकाले हाम्रो लागत पनि बढेको छ । त्यसले अहिले लघुवित्तहरू निकै नै चापमा परेका छन् ।
लघुवित्तको तौरतरिका नेपालका बैंक तथा अन्य वित्तीय संस्थाको भन्दा फरक छ । यसलाई निगरानी गर्नुपर्नेदेखि वित्तीय साक्षरताका कुराहरू केही भिन्न छन् । विपन्न गरिबहरूमा जाने भएका कारणले पैसा मात्र दिएर हुँदैन, त्यो पैसा कसरी परिचालन गर्ने भन्ने विषयमा अवगत गराउनुपर्ने हुन्छ । निरन्तर निगरानी गर्नुपर्ने हुन्छ । अहिले बिनाधितो कर्जा दिइरहेका छौं, त्यसरी कर्जा दिँदा ‘क्लोज मनिटरिङ’ गर्नुपर्ने हुन्छ । त्यसको रेखदेख गर्नुपर्ने हुन्छ । त्यसैले लघुवित्तको लगानी धेरै लाग्छ । यदि लघुवित्तको स्रोतका लागि सस्तोमा रकम उपलब्ध भयो भने यसलाई प्रभावकारी बनाउन सकिन्छ । विपन्न वर्गमा सस्तोमा रकम पु-याउन सकिन्छ । अहिले भने एक त लगानी बढिरहेको छ । अर्को कोष नै पाइएको छैन । त्यसले समस्या निम्ताएको छ ।
त्यसैले तरलताको समस्या समाधान गर्नुपर्ने देखिन्छ । त्यसका लागि राज्यले ठोस कदम चाल्नुपर्छ । लघुवित्तहरूले गरिब तथा विपन्न वर्गहरूमा कर्जा प्रवाह गर्छन् । गरिबी निवारण राष्ट्रको ठूलो जिम्मेवारी भएकाले लघुवित्तहरूलाई सस्तोमा कोष उपलब्ध भयो भने सस्तोमा नै परिचालन गर्न सकिन्थ्यो । विगतदेखि नै लघुवित्तकर्मीहरूले उठाइरहेको विषय पनि यही हो । सरकारले पनि समय–समयमा लघुवित्त विकास कोषको कुरा गर्ने गरेको छ । हामीहरूले पनि बेला–बेला कुरा उठाइरहेका छौं । त्यसमा सरकारले पनि आवश्यक कदम चाल्नुपर्छ ।
नेपालका लघुवित्तहरू छिमेकी राष्ट्रहरूको तुलनामा राम्रा छन् । एउटा नीतिमा चलेका छन्, व्यवस्थित छन्, निष्पक्ष रूपमा सञ्चालन भएका छन् । विशेष गरीकन महिला सशक्तीकरणमा ठूलो योगदान दिएका छन् । किनभने लघुवित्तबाट प्रवाह हुने ९८ प्रतिशत कर्जा महिलाहरूले नै लिने गर्छन् । उनीहरूले त्यसैबाट व्यवसायहरू सञ्चालन गरेका छन् । त्यसैले यो राष्ट्रको प्राथमिकताको क्षेत्र हो । त्यसमा पनि हामीहरूले अनुदानमा स्रोत उपलब्ध गराइदिन भनेका छैनौं । ब्याजसहित तिर्छौं नै भनेका छौं । हामीलाई सस्तोमा दिनुहोस्, विपन्न तथा महिलाहरूमा पनि हामी सस्तोमा वितरण गर्छौं भन्ने कुरा मात्र हो ।

आर्थिक पुनरुत्थान हुन लाग्दा कर्जाको माग अत्यधिक भयो
नुमनाथ पौडेल
सीईओ, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था

तरलताको कारणले बैंकिङ क्षेत्रमा जुन किसिमको समस्या देखिएको छ, लघुवित्तमा पनि त्यस्तै प्रकारको समस्या क्रमशः हस्तान्तरण हुँदै गएको छ । तरलताको तीनवटा पाटो हुन्छ । एउटा बैंक–वित्तीय संस्थाले राष्ट्र बैंकमा कायम राख्ने सीआरआर र बैंक वित्तीय संस्थाको काउन्टरमा हुने ‘क्यास लिक्विडिटी’ । दोस्रो ‘एसएलआर’ अर्थात् लिक्विड फन्डमा लगानी गर्ने, ट्रेजरी बिल, गभरमेन्ट बन्डलगायत अन्य लिक्विड फन्डमा इन्भेस्ट गर्ने भन्ने कुरा भयो । तेस्रो तरलता कर्जा दिनका लागि चाहिने रकम हो । यी तीनवटा कुरा अलगअलग हुन् ।
अहिले अरू तरलतामा समस्या छैन । कर्जा दिने पैसा नभएको मात्र हो । यो क्रेडिट क्रन्च हो, तरलताको अभाव होइन । बैंकहरूमा निक्षेपकर्तालाई रकम दिन, सीआरआरका लागि तथा राष्ट्र बैंकले भनेझैं १२ प्रतिशतको एसएलआर राख्नलाई कुनै समस्या छैन । पर्याप्त मात्रामा पैसा छ । त्यसमा कुनै समस्या देखिएको छैन । तर, बैंक–वित्तीय संस्था र लघुवित्त संस्थाका ऋणीहरूले मागेको बेलामा भनेजति रकम ऋण लिन नपाएको अवस्था भने सत्य हो । कोरोनापछि कर्जाको माग बढी भयो । आर्थिक पुनरुत्थान हुन लाग्दा कर्जाको अत्यधिक माग भयो । शोधनान्तर घाटा, दसैंका लागि आयात, उपभोगमा भएको खर्च, रेमिट्यान्समा आएको कमी, अनौपचारिक अर्थतन्त्र मौलाएका कारणले कर्जायोग्य रकमको अभाव भयो । यसमा सीडी रेसियोका कारणले पनि असर गरेको होला । अन्य धेरै कुराले पनि असर गरेको छ । नदेखिने कुराहरू पनि छन् । जस्तै दसैंमा धेरै मानिसले घरमा लगेर नोट राखे । त्यो फर्किएर बैंकिङ च्यानलमा आउँदै छ । राजस्व उठ्यो तर सरकारले कम खर्च ग¥यो भन्ने कुराहरू पनि छन् । तर पनि सरकारले पूरै खर्च भने कहिल्यै गर्दैन ।
लघुवित्तको ५० प्रतिशत स्रोत बैंक तथा वित्तीय संस्थाहरूबाट लिइएको ऋण अर्थात् ‘बरोइङ’ हो । त्योबाहेक अरू बचतबाट पूरा हुन्छ । अहिले बचतको लागत बढिरहेको छ । सदस्यहरूको सेभिङको लागत बढिरहेको छ । ब्याजदर बढिरहेको छ । बरोइङको रेटहरू पनि बढिरहेको छ । बेस रेट प्लस प्रिमियम चार्ज गर्न थालेका छन् । त्यो भएकाले लागत मात्र बढेको छैन, भनेको बेला चाहिएको बेला बरोइङ पनि पाइएको छैन । जसका कारण लघु वित्तले लगानी रोक्नुपरेको अवस्था छ । लगानी उठेको पैसा मात्र लगानी गरेर काम चलाउनुपरेको छ । तर, चाहिएजति रकम उपलब्ध भएको छैन ।
अब यसको समाधान सरकारले मात्र गरेर सक्दैन । लघुवित्त तथा वित्तीय संस्थाहरूले पनि यस्तो कोष अभाव भएको समयमा सबैतिर तरलता कायम राखेर लगानी घटाउनुपर्छ । बरोइङमा पनि म्याचुरिटी मिसम्याच नहुने गरी व्यवस्थित गर्नुप¥यो । पर्याप्त मात्रामा तरलता राख्नुप¥यो । जसले तरलता व्यवस्थापनमा केन्द्रित भएर लघुवित्त चलाएको छ, उनीहरूकोमा समस्या आएको छैन । त्यसैले सबै पक्षले आआफ्नो भूमिका निर्वाह गर्नुपर्छ । नियमनकारीहरूले पनि मौद्रिक नीतिको समीक्षा गर्दा सुधारहरू गर्नुपर्छ ।
नेपालको बजारले ब्याजदर सुनिश्चित गर्छ । बजारले नै ब्याजदर तल लैजान्छ, फेरि माथि लैजान्छ । त्यस्तै तरलता पनि बजारले नै तलमाथि लैजान्छ । यहाँ तरलता राष्ट्र बैंकले वा सरकारले दिने चलन छैन । निक्षेप आयो भने तरलता बढ्यो, आएन भने घट्दै जान्छ । मानिसहरूको आम्दानी कम भयो । रेमिट्यान्स कम आयो भने स्वाभाविक रूपमा तरलताको अभाव हुन्छ । यहाँ उफ्रिएर त रेमिट्यान्स आउँदैन । वैदेशिक रोजगारीमा जानुप-यो । उनीहरूले काम गर्नुप-यो । काम गरेको पैसा आएपछि मात्र पठाउने हो । त्यसैले कति कुरा स्वीकार नै गर्नुपर्छ । त्यसबाहेक कुनै विकल्प नै छैन ।

महँगो डिपोजिटको मूल्य पनि महँगो भएर आउँछ
आनन्द पाण्डे
सीईओ, एनएमबी लघुवित्त वित्तीय संस्था

पहिला बैंकहरूले सीसीडी रेसियोमार्फत कर्जा प्रवाह गरेका थिए । अहिले सीडी रेसियो ल्याएका कारणले उहाँहरूले कर्जा दिन नसकेको हो । सबै बैंकहरूमा त्यो समस्या छ । हामी बैंकको ग्राहक । बैंकको डिपोजिट लिएर काम गर्नुपर्छ । अन्य ठाउँबाट त्यति निक्षेप लिन सक्दैनौं । आफ्ना सेयरहोल्डरहरूको लगानी परिचालन गर्ने मात्र हो । त्योबाहेकको सबै पैसा बैंकहरूबाट नै आउने हो । बैंकहरूले कर्जा दिनै नसकेको र दिन सकेका बैंकहरूले पनि महँगोमा डिपोजिट खोजिराख्नुभएको छ । महँगो डिपोजिटको मूल्य पनि महँगो भएर आउँछ ।
हामीहरू सानो कर्जा दिने भएकाले सञ्चालन खर्च धेरै हुन्छ । बढेको ब्याजको खर्चमा सञ्चालन खर्च पनि जोडिएर आउँदा निकै गाह्रो हुने देखिन्छ । हामीहरूले १५ प्रतिशतभन्दा धेरै ब्याज लिन पाउँदैनौं । त्यसमा पनि १५ प्रतिशत बढी हो भन्ने कुराहरू पनि सुनिन्छ । यदि १५ लाई १८ बनाइयो भने पनि त्यसको सामाजिक पक्ष पनि हुन्छ । हुन त कोभिडको समयमा १८ प्रतिशतबाट घटाएर ब्याजदरलाई १५ प्रतिशतमा झारिएको हो । तर पनि सामाजिक असर त पर्छ नै । मार त पर्छ नै ।
लघुवित्तको स्रोतमा लाग्ने ब्याजलाई कसैगरी एउटा सीमाभित्र राख्न सकियो भने सजिलो हुन्छ । अब अहिले हामीले १५ प्रतिशतबाट तल ब्याजदर घटाउने असम्भवजस्तै कुरा हो । १५ मै पनि पहुँच सजिलो बनाउने, खर्चलाई घटाउने भन्ने कुराहरू पनि उठिरहेको छ । अहिलेको अवस्थामा त ब्याजदर घटाउन नसके पनि यथास्थितिमा राख्न पनि ठूलो चुनौती भइरहेको छ ।
हामी सानो पुँजीमा काम गर्ने संस्था हौँ । बैंकहरूलाई हेर्ने हो भने उनीहरूको पुँजी ८ अर्बभन्दा माथि छ । हामी त एक सिजन घाटामा गयौँ भने सेवा नै संकुचन गर्नुपर्ने अवस्था आउँछ । हामीसँग त धेरै पुँजी हुँदैन । हामी पुरानो भएर पनि जम्मा ५०-६० करोडको पुँजीमा काम गरिरहेका छौं । सानाहरूको त त्यही पनि हुँदैन ।
लघुवित्तका केही नराम्रा पाटाहरू पनि होलान्, तर यसका धेरै सकारात्मक पक्षहरू पनि छन् । लघुवित्तहरूको कारणले गाउँगाउँमा आर्थिक क्रियाकलापहरू सञ्चालन भएका छन् । लघुवित्तको उपस्थितिले आर्थिक रूपले पिछडिएको क्षेत्रलाई आर्थिक विकल्प पनि दिएको छ । उद्यम गर्नेले लघुवित्तबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेका छन् । यसरी यो क्षेत्रमा संकुचन आयो भने सेवामा पनि संकुचन आउँछ कि भन्ने डर हो ।
अब यस्तो अवस्थामा समाधान के हुन्छ त भन्ने प्रश्न आउँछ । यसलाई समाधान गर्न ‘वित्तीय साधनको आवश्यकता पर्छ । यो नीति निर्माणको क्षेत्रबाट आउने समस्या हो । पहिला बैंकहरूले सीसीडी रेसियो मिलाएर लगेका थिए । पछि सीसीडीलाई हटाएर सीडी रेसियोमा ल्याइयो । पुँजीलाई कर्जाको रूपमा प्रवाह गर्न नपाएपछि समस्या निम्तिएको हो । २८ वटा बैंकलाई १० अर्बकै हिसाबले हेर्दा पनि २ सय ८० अर्बमा कर्जा सीडी रेसियोका कारणले नै दिन सकेनन् । अब त्यति पैसा कहीं न कहींबाट त डिपोजिटको रूपमा आउनुप-यो नि । नेपालबाहिरबाट पैसा आउने एकमात्र माध्यम रेमिट्यान्स नै हो । अहिले एक त रेमिट्यान्स कम आएको छ । अर्को आएको रेमिट्यान्स पनि आयात बढ्दा बाहिर गइरहेको छ ।
देशको पैसा देशमै लगानी होस् । त्यसले रोजगारी सिर्जना गरोस् भन्ने दिशातर्फ नलागेसम्म यसले नतिजा दिँदैन । देशमा उद्यममा लगानी गर्ने अवस्था सिर्जना गर्ने, प्रविधि बाहिरबाट ल्याएर भए पनि आफ्नो देशमा नै उत्पादन गर्ने नीति नल्याएसम्म यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सकिँदैन । पहिला हामीले अर्बौंको सिमेन्ट किनिन्थ्यो । अहिले नेपालमा नै उत्पादन हुन थालेपछि बाहिरबाट आयात गर्नुपरेको छैन । तेलको मूल्य बढेको छ । तेल खरिद गर्दा ठूलो पैसा बाहिर गइरहेको छ । तेल तथा ग्यासलाई विद्युतले विस्थापन गर्न सक्यो भने दीर्घकालीन रूपमा नै फाइदा दिन्छ । अहिलेका लागि भने नीतिमा केही रिभ्यू गर्नु राम्रो हुन्छ जस्तो लाग्छ ।

कम नाफा लिएर सेवा दिइरहेका छौं
विनोद आचार्य
सीईओ, सिभिल लघुवित्त वित्तीय संस्था

तरलताको समस्या अहिले राष्ट्रिय संकटकै रूपमा देखिएको छ । राष्ट्रिय संकटले लघुवित्तलाई नछुने भन्ने कुरै भएन । विशेष गरेर लघुवित्तको मुख्य वित्तीय स्रोत बैंक तथा वित्तीय संस्थाहरू नै हुन् । स्रोत अभाव भएका कारणले प्रत्यक्ष रूपमा हाम्रो कोषको लागतमा असर परेको छ । कोष नै अभाव भए पछि उच्च मूल्यमा बरो गर्नुपर्ने अवस्था छ । उच्च दर तिरेर पनि लिन गाह्रो भइरहेको छ । यसले यो आर्थिक वर्षको नाफामा नै असर पार्छ कि जस्तो देखिन्छ । ब्याजदरको सम्बन्धमा हामीलाई एउटा सीमामा राखिएको छ । अब त्यो सीमाभित्र रहेर हामीले संस्था सञ्चालन गर्न निकै नै चुनौतीपूर्ण हुने देखिन्छ ।
यस्तो अवस्था कसरी अयो भन्ने सन्दर्भमा सरकारी बजेट खर्चका विषयहरू होलान् । नीतिगत कुराहरू होलान् । तर, हामी लघुवित्तको हिसाबले हामी भर पर्ने ठाउँमा नै समस्या भएका कारणले समस्या निम्तिएको छ । यो समयमा हामीले हाम्रो ग्राहक सदस्यहरूलाई कोषको लागत बढ्यो भन्दैमा ब्याजदर बढाउन सक्ने अवस्था छैन ।
हामीले कम नाफा लिएर पनि उहाँहरूलाई सेवा दिइरहेका छौं । यो समस्या लामो समय जाँदैन कि भन्ने हाम्रो सोच छ । नाफामात्र हेरेर पनि हुँदैन, एक–डेढ महिनाको समयलाई हामीजस्तो संस्थाले धान्नुपर्ने अवस्था हुन्छ । तर, बजारमा तरलताको समस्या लामो समय जान्छ भन्ने सुनिएकाले लामो समय गयो भने हामीलाई गाह्रो हुन्छ ।
हामीसँग बैंक तथा वित्तीय संस्थाबाहेक अन्य भरपर्दो स्रोत छैन । अरू विकल्पहरू नभएका कारणले जे–जति दरमा भए पनि बैंक तथा वित्तीय संस्थाहरूबाटै रकम उठाउनुपर्ने हुन्छ ।
हुन त ब्याजदर ‘डिमान्ड’ र ‘सप्लाई’को कुरा हो । माग उच्च तर स्रोत नै नभएका कारणले ब्याजदर बढेको हो । यदि पैसाको सन्दर्भमा आपूर्ति उच्च हुन्छ भने दर नियन्त्रणमा आउँछ । स्रोतको सन्दर्भमा लघुवित्तलाई बैंक तथा वित्तीय संस्थाका अतिरिक्त अन्य गैरवित्तीय संस्थाहरू जस्तै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा कम्पनीहरूले लगानी गरिदिने हो भने समस्या समाधान हुन्छ । त्यो लगानीलाई विपन्न वर्ग कर्जाको रूपमा गणना गर्ने अथवा केही अन्य झ्यालहरू खोलिदिएको अवस्थामा हामीहरूलाई केही सहज हुन्छ ।
लघुवित्तहरूले आफैं नाफा कमाएर आफैं व्यवस्थापन गर्नुपर्ने हुन्छ । सेयर होल्डरको अपेक्षा पनि पूरा गर्नुपर्ने हुन्छ । यस्तो समयमा घाटामा जाने अवस्थाको सिर्जना भयो भने यसले राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो समस्या ल्याउन सक्छ । वित्तीय संस्था नै घाटामा जाँदा त्यसले देशको अर्थतन्त्रमा ठूलो धक्का लाग्छ । त्यसैले लामो समयसम्म यस्तै अवस्था रहला भन्ने अपेक्षा गरेका छैनौं र गर्ने कुरा पनि हुँदैन । केही छोटो समयका लागि धान्नुपर्ने हुनसक्छ । तर, हाम्रो हातमा नभएको कुरा भएकाले यसलाई सहनुबाहेक अन्य विकल्प देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्