एमाले नीति निर्माता शक्ति हो : ओली «

एमाले नीति निर्माता शक्ति हो : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले जुन नीति बनायो, त्यही राष्ट्रिय नीति हुने दाबी गरेका छन् । आइतबार नेपाल खेलकुद महासंघ र काठमाडौं महानगरको सहकार्यमा आयोजित खेल नीति सम्मेलनको उद्घाटन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् ।
ओलीले भने, ‘हाम्रो नीति राष्ट्रिय नीति हो । यसभन्दा पृथक् हामी हुदैनौँ । हामी नीति निर्माता शक्ति हौं । राष्ट्रलाई अघि बढाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने शक्ति हौँ । हामीले जुन नीति बनाउँछौँ । त्यही राष्ट्रिय नीति हो ।’
खेल नीति मात्र नभएर एमालेले लिएका सबै क्षेत्रका नीतिहरू राष्ट्रिय नीति भएको दाबी उनले गरेका थिए । ‘विदेश, शिक्षा, स्वास्थ्य र पर्यटन नीति जस्तो लिन्छौँ । ती राष्ट्रका नीति हुन् । हामी संकीर्ण स्वार्थका लागि नीति निर्माण गर्दैनौँ । बृहत्तर रूपमा फलदायी हुने नीति निर्माण गर्छौँ,’ ओलीले थपे ।
कुनै संस्था-पार्टीले लिएकै नीति कसरी राष्ट्रिय नीति हुन्छ भन्ने प्रश्नसमेत उठाएका उनले आफूहरूका नीतिलाई कसैले पनि चुनौती दिन नसक्ने भएकाले राष्ट्रिय नीति हुनेमा शंका नगर्न आग्रह गरेका थिए । ‘थोपरेर होइन, हामी विचारविमर्श गरी सही नीति तय गर्छौँ । त्यसकारण हाम्रा नीति चुनौती दिन नसकिने हुन्छन्। ती हितकारी हुन्छन् । फलदायी हुन्छन्,’ उनले भने । पुस्तकमा भएको विद्या र अर्काका हात भएको धन काम नलाग्ने संस्कृत सुक्तिको सहारा लिँदै उनले नीति बनाएर मात्र नहुने तर त्यसको सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्