Logo

काठमाडौंका सडकमा आधुनिक बत्ती जडान गरिँदै

काठमाडौं महानगरपालिका क्षेत्रका सडकमा आधुनिक बत्ती जडान हुने भएको छ । महानगरका मुख्य सडक क्षेत्रमा २५ सय ५० बत्ती जडानको काम सुरु भएको हो । करिब १३ करोड लगानीमा आधुनिक बत्ती जडान कार्यका लागि टेन्डर अघि बढाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्रारम्भिक अध्ययन पूरा गरी काठमाडौं महानगरका ६५ किलोमिटर सडकमा आधुनिक बत्ती जडान गर्ने प्रकृया शुरु गरेको हो । उपत्यकामा सडकमा बत्ती जडान गरी सहरमा रात्रिकालीन सौन्दर्य कायम गर्नको लागि काठमाडौं महानगरपालिका, प्राधिकरण र सडक विभागबीच गत मंसिर २५ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमति अनुसार पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै बल्खु र त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्मका दुवै सडक पेटीमा आधुनिक बत्ती जडानको तयारी थालिएको प्राधिकरणले जनाएको छ ।काठमाडौं उपत्यकाका सडकलाई रातिको समयमा उज्यालो बनाउनको लागि आधुनिक बत्ती जडान गर्न लागिएको सडक विभागले जनाएको छ । सोही कार्य अन्तर्गत ललितपुर महानगरपालिकामा कुपन्डोलदेखि सातदोबाटोसम्म आधुनिक बत्ती जडान गरिएको छ । ललितपुरले करिब ४ करोड रुपैयाँमा ८ सय बत्ती जडान गरेको हो । साथै प्राधिकरणले भरतपुर महानगरपालिकामा ८० किलोमिटर सडकमा करिब १२ करोड रुपैयाँको लगानीमा २५ सय बत्ती जडान गर्न सुरु गरेको छ ।यो परियोजनामा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ । सो कार्यका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य विद्युत प्राधिकरणले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्