जेहेन्दार विद्यार्थीलाई एनआरएनए अष्ट्रेलियाको सहयोग «

जेहेन्दार विद्यार्थीलाई एनआरएनए अष्ट्रेलियाको सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अष्ट्रेलियाले नेपालका न्यून आय भएका परिवारका जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गरेको छ । परोपकारी परियोजना अन्तर्गत नेपालका ९ जिल्लाका विद्यालयहरुमा एक अक्षय कोष खडा गर्नको लागि प्रत्येक विद्यालयालाई १ लाखका दरले सहयोग प्रदान गरेको हो ।
हालै एक कार्यक्रमबीच गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले सो रकम हस्तान्तरण गरेका हुन् । उनले गैरआवासीय नेपाली संघले विभिन्न एनसिसिहरुको सहयोगमा नेपालको विविध क्षेत्रहरुमा परोपकारी तथा सामाजिक कार्यहरु गरिरहेको बताए । उनले भविष्यमा संघले नेपाल र विदेशमा रहेका विद्यालयबीच समन्वय गराउनको लागि मितेरी विद्यालय अवधारणा ल्याउने योजना रहेको जानकारी दिए । अध्यक्ष भट्टले पुनित कार्यमा सहयोग गरेकोमा एनसिसि अष्ट्रेलियाका कार्य समितिका सम्पूर्ण पदाधिकार तथा सदस्यहरु लगायत सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । सहयोग गरिएका विद्यालयहरुमा दुर्गा मावि ताप्लेजुङ, राष्ट्रिय प्राथमिक विद्यालय सप्तरी, बच्छला मावि नुवाकोट, मण्डली मावि धादिङ, जनज्योति मावि लम्जुङ, प्रभात प्राथमिक विद्यालय कास्की, रारा आवासीय विद्यालय बाँके, थिगेल्नी देवी आधारभूत विद्यालय कालिकोट र चन्द्र नाथ प्राथमिक विद्यालय बाजुरा रहेका छन् ।
कार्यक्रममा गैरआवासीय संघका अध्यक्ष भवन भट्ट लगायत ओसेनिया क्षेत्रका क्षेत्रीय उपसंयोजक लोक नाथ पौडेल, अष्ट्रेलिया आइसिसि सदस्य उषाकिरण बारीया, अन्तर्राष्ट्रिय समन्वय परिषद्का निवर्तमान युवा संयोजक विजय पोखरेल, एनसिसि रसियाका अध्यक्ष रामेश्वर गौतम, एनसिसि अष्ट्रलियाका पूर्व अध्यक्ष महेन्द्र ओली, एनसिसि रसियाका पूर्व उपाध्यक्ष सन्तोष केसी, एनसिसि जर्मनीका महासचिव टंक लम्साल, विद्यालका प्रतिनिधिहरु लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्