राजनीतिक गतिविधिले अर्थतन्त्र चलायमान «

राजनीतिक गतिविधिले अर्थतन्त्र चलायमान

प्रमुख राजनीतिक दलहरूको महाधिवेशन/राष्ट्रिय सम्मेलन चलिरहेकाले राजनीतिसँगै अर्थतन्त्रमा पनि चलायमान हुन पुगेको छ । राजनीतिक दलहरूका गतिविधि वडा÷बस्ती हुँदै क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहमा अगाडि बढिरहेको छ । यही महिना प्रमुख राजनीतिक दलहरूको महाधिवेशन हुने भएकाले पनि राजधानी, प्रदेश मुकाममा वा जिल्ला मुकाममा केन्द्रित रहेका नेता/कार्यकर्ता गाउँगाउँमा पुगिरहेका छन् । दलहरूले तिनका हरेक एकाइमा नयाँ नेतृत्व चयन गर्दैछन् ।
आसन्न निर्वाचनको अघि भइरहेका महाधिवेशनले सम्भवतः यही वर्षको अन्त्यमा हुने स्थानीय तह निर्वाचनदेखि आगामी वर्ष हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समेत दलीय नेतृत्व र भूमिकामा प्रभाव अवश्य नै पार्नेछ । महाधिवेशनले स्थानीय तहमा व्यापार–व्यवसायदेखि अधिवेशन गर्नका लागि चाहिने सामान्य चिजवस्तुको व्यापारदेखि महाधिवेशन आयोजनास्थलसम्म होटल, व्यवसायमा समेत प्रत्यक्ष÷अप्रत्यक्ष प्रभावित भएको देखिन्छ ।
होटल तथा लजहरू लिने, यातायातका साधनहरू लिने तथा अन्य आवश्यक चिजवस्तुको समेत व्यापार भइरहेको छ । यसर्थ राजनीतिक गतिविधिहरू शान्तिपूर्ण तवरले निरन्तर सकारात्मक दिशामा अघि बढ्ने हो, त्यसको प्रभाव व्यापार–व्यवसायमा पर्छ । सबै क्षेत्रको मियो राजनीति भएकाले यो नै सम्हालिन जरुरी छ । दलहरूको महाधिवेशनलगायतका अन्य गतिविधि सबै जिल्ला र क्षेत्रमा निरन्तर हुँदा अर्थराजनीतिमा पर्ने प्रभावको सन्दर्भमा कारोबारकर्मीहरू विराटनगरस्थित मीनकुमार नवोदित, वीरगन्जस्थित नीरज पीठाकोटे, धनगढीस्थित मुकेश चौधरी र पोखरास्थित दीननाथ बरालले राजनीतिक दलसम्बद्ध व्यक्तिसँग गरेका कुराकानीको सार :

कांग्रेसको अधिवेशनले जनतामा आशा जगाएको छ
नागेश कोइराला
सचिव, नेपाली कांग्रेस, मोरङ
नेपाली कांग्रेसको विभिन्न तहको अधिवेशनमा राजनीतिप्रति युवाको आकर्षण बढेको देखाएको छ । भर्खर १८–१९ वर्ष पार गरेका युवाहरू पनि क्षेत्रीय र प्रदेश प्रतिनिनिधिमा निर्वाचन भएका छन् । स्थानीय पालिकाका विभिन्न पदमा चयन भएका छन् । राजनीतिमा युवाहरूको आकर्षण बढ्नुलाई सकारात्मक मान्न सकिन्छ । किनभने उनीहरूमा नयाँ सोच र विचार छ ।
सूचना र प्रविधिमार्फत संसारलाई बुझेका छन् । कांग्रेसले आसन्न महाधिवेशनअन्तर्गत भएका विभिन्न तहका निर्वाचनले राजनीतिलाई समेत चलायमान बनाएको छ । कांग्रेसको निर्वाचनलाई हेर्ने हो भने संसदीय निर्वाचनकै झल्को दिन्छ । यो लोकतन्त्रको सुन्दर पक्ष हो । अझ कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रतिस्पर्धामा विश्वास गर्छ ।
जो प्रतिस्पर्धाबाट निर्वाचित भएर आउँछ उसले नेतृत्व सम्हाल्छ । कांग्रेसको अधिवेशनले पहिलो त राजनीतिमा युवाहरूको आकर्षण बढाएको छ भने दोस्रो अर्थराजनीतिलाई पनि चलायमान बनाएको छ । अधिवेशनले ब्यानर, फ्लेक्स बनाउने र डिजाइन गर्नेहरूलाई भ्याइनभ्याइ छ । भिजिङ कार्ड बनाउनेहरूलाई खान फुर्सद छैन ।
उम्मेदवारहरूले स्वस्फर्त प्रचारलाई व्यापक बनाएका छन् । उनीहरूले पोस्टर, ब्यानर, पर्चा, फ्लेक्स, भिजिटिङ कार्ड बनाउँदा बजारमा थोरै भए पनि अर्थतन्त्र चलायमान भएको छ । कागज र मसीको बिक्री बढेको छ । कामदारहरूले काम पाएका छन् । जित्नेले भोज खुवाउँछ । कतै न कतैबाट आर्थिक क्षेत्र पनि चलायमान भएको छ । कतिपयले त टिसर्ट पनि बनाएर प्रचार गरेको पाइन्छ । सामाजिक सञ्जालमा पनि पोस्टर बनाएर मत मागेको पाइन्छ । फोन र एसएमएस गर्दा फोनमा खर्च हुन्छ ।
त्यसले रिचार्जको बिक्री बढाएको छ । निर्वाचन स्थलवरपरका पसल रातिसम्म खुल्ने गरेका छन् । चिया, नास्ता र खानाका होटलहरू पनि राम्ररी नै चलेका छन् । कांग्रेसको अधिवेशनले अर्कातर्फ राजनीतिप्रति जनताको आशा जगाएको छ । अब कांग्रेसले मात्रै देशलाई समृद्धि र विकासको बाटोमा अगाडि बढाउँछ भन्ने जनतामा परिसकेको छ ।
अधिवेशनबाट एकदमै ऊर्जाशील युवाहरू निर्वाचित भएर आएका छन् । उनीहरूमा मुलुकको आर्थिक विकास र समृद्ध नेपालको चिन्ता भएको देखिन्छ । विदेश पढेर फर्किएका युवा पनि कांग्रेसको सक्रिय राजनीतिमा लागेका छन् । यसरी हेर्ने हो भने यो अधिवेशनले समाजको चौतर्फी क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ ।

आर्थिक क्रियाकलाप बढेसँगै महँगीको पनि डर रहन्छ
तबरेज अहमद
सचिव, जनता समाजवादी पार्टी, पर्सा
राजनीतिक दलहरूको क्रियाकलापले अर्थराजनीतिमा सकारात्मक प्रभाव पार्छ । राजनीतिक दलहरूको क्रियाकलापले बजारमा चहलपहल बढ्छ । यसले उपभोग्य वस्तुहरूको बिक्री पनि बढाउँछ, जसले गर्दा आर्थिक क्रियाकलापहरू बढ्न जान्छन् । राजनीतिक दलहरूका अधिवेशन, महाधिवेशनहरू एउटा राजनीतिक आन्दोलन नै हो । राजनीतिक आन्दोलनमा स्वाभाविक रूपमा नेता, कार्यकर्ताहरूको भीड हुन्छ ।
त्यसबाहेक सर्वसाधारणको पनि चहलपहल पनि बढ्छ । यसले बजारमा आवश्यक उपभोग्य वस्तुहरूको खपत बढी हुँदा माग पनि बढ्ने गर्छ । त्यसले राजनीतिक दलहरूको गतिशील क्रियाकलापले बजारलाई चलायमान बनाई अर्थराजनीतिमा सकारात्मक प्रभावहरू पार्छ । राजनीतिक दलहरूले गर्ने महाधिवेशन एउटा उत्सव नै हो ।
धार्मिक र सांस्कृतिक पर्वहरू जस्तै राजनीतिक दलहरूको सभा, सम्मेलनहरूमा धेरैभन्दा धेरै मान्छेहरूको उपस्थिति हुने र उनीहरूको उपस्थितिले बजारमा उपभोग्य वस्तुहरूको खपत पनि बढ्ने हुँदा बजार नपाएका स्थानीय उत्पादनहरूको खपत पनि बढ्छ । जसले गर्दा ग्रामीण क्षेत्रका किसानहरूको उत्पादन बिक्री हुन्छ । यसले गरिब किसानहरूको पनि आयआर्जन हुन्छ । अहिले प्रमुख राजनीतिक दलहरूको वडा अधिवेशनदेखि महाधिवेशनको आयोजनाहरू गर्दैछन् । यसले धेरै मान्छेको आवतजावत हुने र स्वाभाविक रूपमा त्यस्ता बजार जहाँ मान्छेको चहलपहल बढी हुने हुँदा बजार चलायमान हुन्छ ।
राजनीतिक दलहरूले गर्ने सभा, सम्मेलनहरूमा नेता कार्यकर्ताहरूको उपस्थिति पनि ठूलो संख्यामा हुने र ठूलो संख्यामा उपस्थिति भएको स्थानहरूमा उपभोग्य वस्तुहरूको खपत पनि बढ्छ, जसले गर्दा बजार चलायमान भई आर्थिक क्रियाकलापहरू बढ्छन् । सभा–सम्मेलनमा जानका लागि यातायातका साधनहरूले पनि कमाउने अवसर पाउँछन् । होटल तथा रेस्टुराँहरूमा नेता–कार्यकर्ताहरूले भरिन्छन् । साना चटपटे र पानीपुरीका व्यापारदेखि ठूला होटलमा महँगा मदिराहरूको पनि बिक्री वितरण बढ्ने भएकाले राजनीतिक दलहरूले गर्ने सांगठनिक गतिविधिले आर्थिक क्रियाकलापमा पनि सकारात्मक प्रभाव पार्छ ।
तर, यसको नकारात्मक पक्षचाहिँ मूल्य नियन्त्रण चुनौती हुन्छ । यस्ता सभा–सम्मेलनहरूमा कतिपयले कमाउने मौकाहरू खोजी रहेका हुन्छन् । एउटा कोणबाट त कमाउने मौका पनि हो । तर, त्यही मौकालाई दुरुपयोग गरेर परेको दामभन्दा बढी मूल्यमा बिक्री गर्ने, कालाबजारी गर्नेहरूको सक्रियता पनि बढ्न सक्ने सम्भावना हुन्छ ।
त्यसैले महँगी बढ्न सक्ने सम्भावना पनि हुन्छ । यसलाई भने नियामक निकायहरूले चासो लिनुपर्छ । हाम्रो पनि अहिले देशभरि पार्टीको सुदृढीकरण तथा जागरण (सुज) अभियान चलिरहेको छ । पूर्वदेखि पश्चिम र दक्षिणदेखि उत्तरसम्म गरिएको सुज अभियानमा धेरै नेता–कार्यकर्ताहरू सहभागी हुन्छन् । यसरी अभियानमा हिँड्दाखेरि एक ठाउँबाट अर्को ठाउँमा जानका लागि सवारी साधनहरूको प्रयोग बढ्छ र सवारी साधनहरू पनि बढी चल्छन् ।
साना–साना खाना, नास्ताका पसलहरूमा पनि भीडभाड बढ्छ । त्यसै बजार चलायमान भएर आर्थिक गतिविधिहरू बढ्ने भएकाले राजनीतिक दलहरूको सभा–सम्मेलनले अर्थ राजनीतिमा सकारात्मक भूमिका नै खेलेको हुन्छ । मूल्यवृद्धि अर्थात् महँगी नियन्त्रणमा भने चुनौती हुन सक्छ । राजनीतिक दलहरूले प्रयोग गर्ने झन्डा, व्यानर, पानीलगायतका धेरै वस्तुको बजारमा बिक्री–वितरण बढ्छ । सूचना प्रविधिहरूको पनि भरपुर प्रयोग हुन्छ । त्यसैले राजनीतिक दलहरूले गर्ने गतिविधिमा सेवामूलक क्षेत्रहरू, स्वास्थ्य, यातायात, होटल, पर्यटनलगायतमा सकारात्मक प्रभाव पार्न सक्छ ।

पार्टीको गतिविधि चलायमान हुँदा आर्थिक कारोबार बढ्छ
कृष्णबहादुर केसी
सभापति, नेपाली कांग्रेस कास्की
स्वाभाविक रूपमा पार्टीहरूको आन्तरिक विभिन्न गतिविधिहरू सञ्चालन हुनुले समग्र देशको सामाजिक अवस्था अर्थतन्त्रमा यसले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । समाजमा पार्न प्रभावले गतिशीलता ल्याउने गर्छ, हिजोआज विभिन्न पार्टीहरूको साधारणसभा तथा अधिवेशनले थप बजारमा आर्थिक कारोबार बढाउने हुन्छ ।
विभिन्न ढंगले रहेको पैसा पार्टीहरूले चन्दामार्फत बजारमा ल्याएपछि त्यसले बजारमा चलायमान बनाउने गर्छ । कोरोनाले गर्दा विगत दुई वर्षदेखि थलिएको अर्थतन्त्रले गर्दा यसपालि व्यवसायीहरूले अघिल्ला वर्षमा दिने रकमभन्दा करिब ५० प्रतिशत कम दिन थालेका छन् । यसपालिदेखि धेरै जनाबाट चन्दा संकलन गर्नुपर्ने हामीलाई चुनौती रहेको छ । कुनै समयमा सहज ढंगले १ हजार सहयोग गर्ने दाताले हाल कोरोनाले प्रभावित भएको हुँदा ५ सय रुँपैया दिने गरेका छन् । कुनै हिसाबले तरलताका रूपमा रहेको पैसा बजारमा आउँदा यसले बजारमा आर्थिक चलायमान बनाउने गर्छ ।
कांग्रेस पार्टी कम्युनिस्टभन्दा फरक भएको हुनाले हामीले मासिक लेबी उठाउनुभन्दा हामीले आवश्यक पर्दा नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूबाट रकमको जोहो गर्दै आएका छौं । यसपालि पनि हामीले उम्मेदवारबाट दर्ता शुल्क बाँकी रहेको चन्दा संकलन गर्दैछौं । कांग्रेसको वडा हुँदै स्थानीय तहको अधिवेशन सकिएको छ भने यही मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ गते ७ वटै प्रदेशको अधिवेशन हुने तयारीमा हामी छौं । गण्डकी प्रदेशको प्रदेशको राजधानी पोखरामा हुने तयारी भएको छ । केन्द्रले निश्चित रकम उम्मेदवारका लागि निर्धारण गरेको हुन्छ उक्त रकमसहित बाँकी रहेको रकम नेता, कार्यकर्ता तथा शुभचिन्तकसँग रकम जोहो गर्ने गर्छौं । पार्टीभित्र गरिने आर्थिक चलखेलले पार्टीहरूलाई गलत बाटोतर्फ लैजाने हो कि भन्ने अर्को चिन्तासमेत लाग्न थालेको छ ।

पार्टी काम र कार्यकर्ता निर्माणको तरिका फेरिनुपर्छ
धर्मराज पाठक
महाधिवेशन प्रतिनिधि
नेकपा एमाले, कैलाली
अहिले सबै दलको आन्तरिक संरचना निर्माण गर्ने कामहरू चलिरहेको छ । यो बेला बैंकहरूमा तरलता अभाव छ । बैंकहरूले ऋण दिन पनि बन्द गरेका छन् । तरलता अभाव हुनु भनेको आर्थिक जोखिमको सूचक पनि हो । राजनीतिक दलहरूको अधिवेशनले गर्दा केही अर्थतन्त्र चलायमान हुन्छ नै । किनभने अर्थतन्त्रसँग जोडिएका ठूला खर्चहरू हुन्छन् ।
मानिसहरूको मोभिलिटी बढ्छ । होटलहरूमा खाने, बस्ने कुराहरू हुन्छ । राजनीतिक दलहरूको अधिवेशन, महाधिवेशनले अर्थतन्त्रलाई पक्कै पनि योगदान पु¥याउँछ । बैंकहरूमा देखिएको तरलता अभावले मानिसहरूको खल्तीभित्र पैसा छ भन्ने हो । यो मुभमेन्टले मानिसहरूको खल्तीमा रहेको पैसा बाहिर आउने अवसरचाहिँ दिएको छ । एकातर्फ राजनीतिक गतिविधिले अर्थतन्त्रलाई फाइदा पु¥याए पनि अर्कातर्फ राजनीतिक क्षेत्रमा विकृति भिœयाउने चिन्ता पनि छ ।
अधिवेशनको नाममा तामझाम बढी हुने टोल, वडा, पालिकास्तरका अधिवेशनमा पनि ठूलो खर्च गर्ने, उम्मेदवार हुनेले खर्च गर्ने, यस्तो खालको विकृति पनि नेपालको राजनीतिमा विगत लामो समयदेखि देखिएको छ ।
अर्थतन्त्रमा त टेवा पु¥याउला, तर हाम्रो जस्तो विकासशील देशमा जुन लोकतन्त्रको विकास गर्ने भनिरहेका छौं, त्यसमा विकृत खालको गतिविधिले जोखिम बढाउँछ । लोकतन्त्र भनेको विधि हो । यो विधिलाई बसाउनका लागि अराजनीतिक र विकृत गतिविधिहरूले अवरोध सिर्जना गर्छ । यो चिन्ताको विषय हो । यसतर्फ सबै राजनीतिक दलहरू चनाखो हुनुपर्छ ।
हामीले सम्पत्ति केलाई मान्छौं भन्ने कुरा मुख्य हो । जतिसुकै जग्गावाला भए पनि जग्गा किन्छौं । सचिवसरहको जागिर भए पनि घरघडेरी नभएसम्म आफूलाई सुरक्षित महसुस गर्दैनौं । हाम्रो लगानी अनुत्पादक क्षेत्रमा बढ्ता भइरहेको छ । घरघडेरी भनेको अनुत्पादक क्षेत्रमा लगानी हो । हाम्रो लगानी कुटिर उद्योग, व्यवसाय, उद्यम, रोजगारी सिर्जना, उत्पादनमा हुनुपथ्र्यो ।
जसले पुँजीको विकास गर्छ । हामीले समाजवाद ल्याउने भनिरहेका छौं । अहिलेको सामन्तवादी व्यवस्थाबाट पँुजीवादतर्फ उन्मुख भइरहेका छौं । पँुजीको राम्रो विकास नभएसम्म समाजवाद स्थापना गर्न सकिँदैन । परम्परागत सोचतिर हाम्रो ध्यान छ । जग्गालाई मात्रै हामीले सम्पत्ति मान्छौं । जग्गा बाँड्नेभन्दा पनि रोजगारी सिर्जना, उद्यमको विकास, उद्योग स्थापना र पुँजीको विकास कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्छ । पुँजीको विकास नगरेर हामी समाजवादमा पुग्दैनौं । पुँजीवादलाई पनि राम्रोसँग प्रवद्र्धन पनि गर्न सक्दैनौं ।
पुँजी नै महŒवपूर्ण कुरा हो । यो उत्पादनसँग मात्रै नभएर उत्पादनको वितरणसँग पनि जोडिएको कुरा हो । समाजवाद भनेको उत्पादन, पुनरुत्पादन र न्यायोचित वितरण हो । अहिले न्यायोचित वितरण छैन । केही निश्चित मानिसहरूको हातमा मात्रै पैसा र सम्पत्ति छ । त्यसको न्यायोचित वितरण गर्नुपर्छ ।
त्यसपछि मात्रै सही अर्थमा अर्थतन्त्रको विकास हुन्छ । हाम्रो संविधानअनुसार हामीले समाजवादमा पुग्ने भनिरहेका छौं । हाम्रा सबै राजनीतिक दलहरूले समाजवादलाई आफ्नो लक्ष्य निर्धारण गरिरहेका छन् । यो कुरामा ध्यान दिएर पहल प्रयत्न गरेनन्, त्योअनुसार नीति र कार्यायोजना बनाएनन् र सरकारमा पुगेका दलहरूले तदनुकूलको कार्ययोजना बनाएनन् भने हामीले अर्थतन्त्रलाई विकास गर्न पनि सक्दैनौं ।
अर्थतन्त्रलाई सबल पनि बनाउन सक्दैनौं । पुँजी र राष्ट्रिय पुँजी विकास गर्न सक्दैनौं । दलाल पुँजीपतिले घर गर्छ । अहिले हामी दलाल पुँजीपतिको फन्दामा छौं । दलाल पुँजीपति भनेको नाफाखोर हो । आफंै पुँजीको विकास गर्दैन । योबाट छुट्कारा पाउन जरुरी छ । तल मात्रै समाजवाद पनि आउँछ र अर्थतन्त्र पनि बलियो हुन्छ ।
राम्रा राजनीतिक दलहरूको परम्परागत पार्टीको काम र कार्यकर्ता निर्माणको परिभाषा अब बदल्नुपर्छ । दुई–चार जना नेता भेट्ने अनि दारु–मासु खाने, गुटबन्दी गर्ने किसिमले पार्टीका काम भइरहेका छन् । आफ्नो पछि लाग्ने, आफ्नो जयजयकार गर्नेहरूलाई नै खर्च–पानी दिने, उनीहरूको खर्च–पानी बेहोरिदिने र उनीहरूलाई कार्यकर्ता बनाउने काम भइरहेको छ । यसलाई चाहिँ परिवर्तन गर्ने गर्नुपर्छ । यही बेला अधिवेशनमै यो छलफलको विषय बन्नुपर्छ ।
पार्टी काम के हो र पार्टी कार्यकर्ता निर्माणको तरिका के हो भन्ने विषयमा अहिले भइरहेका अधिवेशनहरूमा छलफल गर्नुपर्छ । विगतको तरिकाले पार्टी काम गरेर अर्थतन्त्रको विकास भएन । अब कार्यकर्ताहरूलाई पनि झोले कार्यकर्ता बनाउने होइन । कार्यकर्ताहरूलाई रोजगारी, उद्यमसँग जोड्ने र आफैं गरिखाने वातावरण निर्माण गर्ने, स्वरोजगारको सिर्जना गर्ने काम नेताहरूले गर्नुप¥यो । अनि बल्ल उसले पार्टीलाई आर्थिक योगदान गर्नसक्छ ।
देशको अर्थतन्त्रमा पनि योगदान गर्न सक्छ र बचेको समय उसले पार्टीलाई योगदान गर्नसक्छ । यी कुराहरूसँग नजोडेर पार्टीको काम र कार्यकर्ता निर्माणको काम भइरह्यो भने हाम्रो अर्थतन्त्र पनि सबल हुँदैन र हाम्रा दलहरू पनि सफल हुँदैनन् । दलाल पँुजीपतिहरूकै चन्दाको भरमा हाम्रा पार्टीहरू चल्छन् ।
नीति निर्णयहरू पनि उनीहरूकै पक्षधरतामा निर्माण हुन्छन् । त्यो चंगुलबाट हामी कहिल्यै उम्किन सक्दैनौं । यो कुरालाई राजनीतिकहरूको अधिवेशनमा बहस, छलफलको विषय बनाउनुप¥यो । अधिवेशनबाट सबै पार्टीका नीति पनि बन्दैछन् । ती नीतिहरूमा पनि कस्तो खालको कार्यकर्ता उत्पादन गर्ने भन्ने विषय समेटिनुपर्छ । पार्टीको काम र पार्टी कार्यकर्ता निर्माणको तौरतरिकाको विषयमा नयाँ ढंगको नीति निर्माण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्