तीन वर्षभित्रै चोभारमा सुख्खा बन्दरगाह

सरकारले आगामी तीन वर्षभित्रै काठमाडौंको चोभार र रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्ने जनाएको छ । सुख्खा बन्दरगाहा निर्माणको काम लक्ष्यअनुसार अघि बढिरहेकाले तीन वर्षभित्रै सम्पन्न हुने बताइएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिको २१ औं वार्षिककोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले तीन वर्षमै सुख्खा बन्दरगाह बनाइसक्ने लक्ष्यअनुसार काम अघि बढिरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना भएको समितिको कार्यक्षेत्र विस्तार गर्दै नेपाल सरकारले व्यापार सहजीकरणका लागि आवश्यक हुने सुख्खा बन्दरगाह, एकीकृत जाँचचौकी, कन्टेनर फ्रेट स्टेसन, संकलन तथा वितरण केन्द्र (कलेक्सन एन्ड डिस्ट्रिब्यूसन सेन्टर) लगायतका व्यापारजन्य सीमा संरचनाहरूको विकास व्यवस्थापन गर्ने काम गरिरहेको उनले बताए ।
समितिले काँकडभिट्टा, विराटनगर, वीरगन्ज र भैरहवामा गरी चार वटा सुख्खाबन्दरगाहको सञ्चालन व्यवस्थापन गर्र्दै आएको छ भने सिन्धुपाल्चोकको तातोपानी, रसुवाको टिमुरे तथा काठमाडौंकोे चोभारमा आगामी ३ वर्षभित्र सुख्खा बन्दरगाह निर्माण सक्ने लक्ष्य लिएको जानकारी दिएको छ । यस्तै कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा समेत सुख्खा बन्दरगाह निर्माण गर्न लागिरहेको समितिले जनाएको छ ।
समितिलाई अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि निर्माणाधीन एकीकृत जाँचचौकीको सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिइएको थियो । पहिलो चरणमा निर्माण सम्पन्न हुन लागेको वीरगन्ज एकीकृत जाँचचौकीको सञ्चालन निकट भविष्यमै हुन लागेको र विराटनगरमा निर्माण भइरहेको समितिले जानकारी दिएको छ । यस्तै भैरहवा तथा नेपालगञ्जमा समेत एकीकृत जाँचचौकी निर्माणको क्रममा रहेको कार्यक्रममा जानकारी दिइएको छ ।
कार्यक्रममा बाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले व्यापार र सहजीकरणको क्षेत्रमा विविध आयामका बारेमा जानकारी दिने गरी विभिन्न लेख रचनाहरू संग्रहित गरिएको स्मारिका विमोचन गरेका थिए ।