इजरायल जाने थप ६७५ युवाको स्वास्थ्य परीक्षण आजदेखि «

इजरायल जाने थप ६७५ युवाको स्वास्थ्य परीक्षण आजदेखि


वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका मध्ये बाँकी रहेका ६ सय ७५ युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया पनि अघि बढाएको छ । यसअघि स्वास्थ्य परीक्षण गरेकासहित मंसिर ११ गतेसम्म १ हजार १ सय ७५ स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम पूरा हुने छ ।
इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि जनसंख्या तथा अध्यागमन निकाय (पिवा) द्वारा चिट्ठा प्रणालीबाट असोज २५ गते छनौट भएका १ हजार १ सय ७५ को नाम सार्वजानिक गरेको थियो । यसरी नामावली सार्वजानिक भएका मध्ये कात्तिक २९ गतेदेखि मंसिर ५ गतेसम्म ५ सयको स्वास्थ्य परीक्षण गरेका थिए । वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काप्mलेले अबको डेड महिनाभित्र छनोट भएका श्रमिकलाई पठाउने गरी काम भइरहेको बताए । “अब विभिन्न ५ चरणका प्रक्रिया पूरा गरेर युवा इजरायल जानेछन्” महानिर्देशक काप्mलेले कारोबारसँग भने, “स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदन पूरा भएपनि इजरायलबाट रोजगार सम्झौता भएकालाई २ दिने अभिमुखिकरण, श्रम स्वीकृति र उडान गरिनेछ ।”
पहिलो चरणमा ५ सयको स्वास्थ्य परीक्षण गरेर आइतबार(आज) बाट बाँकी ६ सय ७५ युवाको स्वास्थ्य परीक्षण गरिने विभागले जनाएको छ । विभागले तोकिएका युवाको स्वास्थ्य परीक्षणको काम पूरा भएपछि सो रिपोर्ट इजरायलको पिवामा पठाउने र त्यहाँबाट रोजगार सम्झौताको प्रक्रिया अघि बढ्ने छ । विभागले तोकेका ४ वटा अस्पतालबाट मंसिर ५ गतेसम्म स्वास्थ्य परीक्षण र सोही अवधी भित्र प्रहरी चारित्रिक प्रमाणपत्र लिनुपर्ने जनाइएको छ । विभागका इजरायल हेर्न फोकल व्यक्ति एवम निर्देशक डम्बर सुनुवारका अनुसार स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परीक्षण गरेपछि रहेका बाँकी प्रक्रिया पूरा गरेर तत्काल इजरायल पठाउने बताए । स्वास्थ्य परीक्षणका लागि आइतबारबाट ४ सय ७१ महिला र २ सय ४ पुरुषले तोकिएको दिन तोकिएको अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न सकिने जनाइएको छ ।
स्वास्थ्य परीक्षणको प्रमाणपत्र सम्बन्धित अस्पतालबाटै विभागलाई उपलब्ध हुने र प्रहरी चारित्रिक प्रमाणपत्रको हकमा स्पष्ट बुझिने गरी स्क्यानप्रति युवा स्वयंले विभागको इमेलमा मंसिर ५ गतेसम्म पेश गरिसक्नु पर्नेछ । स्वास्थ्य परीक्षणका क्रममा क्रोनिक रोग, क्षयरोग, हेपाटाइटिस, गोनोरियालगायतका सरुवा रोगलाई कडाईका साथ परीक्षण गरिने जनाइएको छ ।
इजरायलको पिवाले छनोट गरेका १ हजार १ सय ७५ मध्ये ८ सय २१ महिला र ३ सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । यसरी प्रकाशित गरेका नाम मध्ये पहिलो चरणमा क्रम संख्याका आधारमा ३ सय ५० महिला र १ सय ५० पुरुषको आइतबार स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन माग गरिएको छ । स्वास्थ्य परीक्षणका लागि स्टार अस्पताल सानेपा, हेन्स अस्पताल मन्डिखाटार, नेपाल मेडिसिटी अस्पताल भंैसेपाटी र मनोमहन मेमोरियल मेडिकल कलेज स्वयम्भुमा स्वास्थ्य परीक्षण गर्न सकिने जनाइएको छ । स्वास्थ्य परीक्षण गर्न ८ हजार ९ सय लाग्ने सम्बन्धित अस्पतालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्