Logo

विराटनगरमा कामका लागि खाद्यान्न कार्यक्रम


सुकुम्वासीलाई जग्गाको लालपूर्जा र घर प्रदान गर्न विराटनगरको मलंगवा बस्तीमा सञ्चालिन महानगर आवास परियोजनामा काम गर्ने कामदारलाई लक्षित गरी कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
महानगर आवास परियोजनाको घर निर्माणमा खटिएका कामदारलाई मेटलाइफ इन्स्योरेन्सले प्रदान गरेको खाद्यान्न वितरण गरिएको हो । महानगर आवास परियोजनामा काम गर्ने व्यक्तिलाई प्रतिपरिवार २० किलो चामल, दाल, नुन तेल, मास्कलगायतका खाद्यान्न वितरण गरिएको हो । कामदारलाई प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले खाद्य सामग्री वितरण गरे ।
आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले विभिन्न दातृ निकाय र संघसंस्थाको सहयोगमा नमुनाका रुपमा सञ्चालनमा ल्याइएको परियोजना सम्पन्न भएपछि प्रदेशका अन्य जिल्लामा पनि विपन्न परिवारलाई लक्षित गरेर सुरक्षित आवासको कार्यक्रम सञ्चालनमा ल्याउने जानकारी दिए ।
कार्कीले आवास परियोजनाका कामदारलाई काम मात्रै नभई खाद्यन्न पनि आवश्यक रहेकाले मेटलाइफ इन्स्योरेन्सको सहयोगमा कामका लागि खाद्यन्न कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।
सुकुम्वासीलाई ऋण दिएर घडेरी किन्न सहयोग गर्ने जीवन विकास समाजका अधिकृत सञ्जय मण्डलले जीवन विकास समाजले सुरक्षित आवासका लागि विपन्न नागरिकलाई सहयोग गर्दै आएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय दातृ निकाय ह्युमानिटी फर ह्याविटाटकी प्रतिनिधि क्रिष्टिनाले समुदायस्तरबाट सञ्चालनमा ल्याइएको परियोजनालाई सरकारले पनि अपनत्व ग्रहण गरेकाले आफूहरूलाई खुसी लागेको बताए । उनले सुरक्षित आवासको व्यवस्थापनका लागि हातेमालो गर्न ह्युमानिटी फर ह्याविटाट सधैं तयार रहेको जानकारी दिए ।
महानगर आवास परियोजनामार्फत सुकुम्वासीलाई जग्गाको लालपूर्जा वितरण गर्ने र घर निर्माणको अभियान गत वर्षदेखि थालिएको हो । विराटनगर–१२ स्थित मलंगवा वस्ती व्यवस्थित गर्ने उद्देश्यले सो बस्तीका १ सय ४५ सुकुम्वासी परिवारलाई घडेरीको लालपुर्जा प्रदान गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्