गैरआवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बरमा «

गैरआवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बरमा

गत महिनाका लागि तय गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी डिसेम्बर १९ र २० मा हुने भएको छ ।
विश्वभरि फैलिएका गैरआवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक–पटक औपचारिक तथा अनौपचारिक छलफल भएका थिए ।
केही समय अगाडि परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग परराष्ट्र मन्त्रालयमा संघको महाविधेशनको बारेमा घनिभूत छलफल भएपछि नयाँ मिति तोकिएको गैर आवासीय नेपाली संघले जनाएको छ ।

संघले प्रस्तुत गरेको मार्गचित्रमा मन्त्रीबाट प्राप्त सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिने तथा संघको नयाँ कार्यसमितिको नेतृत्वका लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन तोकिएको संघले जानकारी गराएको छ ।
महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई बुझाइएको पनि संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्