बोनस सेयरको लागत र प्रतिफल «

बोनस सेयरको लागत र प्रतिफल

बोनस सेयरको उल्लेख्य नोक्सानी नदेखिँदा पनि मुनाफा पुँजीकरण नगर्दा बढ्न सक्ने ईपीएस र नेटवर्थ तथा घट्ने आपूर्तिको मूल्य प्रभाव बिर्सनु हुन्न ।

आमलगानीकर्ताको बुझाइमा बोनस सेयर कम्पनीले निःशुल्क वा बिनालागत दिने थप सेयर, के बोनस सेयर निःशुल्क हो त ? लागत र प्रतिफल कति ? बोनसलाई सेयरधनीमाथि कम्पनीले थोपरेको अनिच्छित बोझका रूपमा बुझ्ने लगानीकर्ताभन्दा पुरस्कारका रूपमा थप सेयर पाएको बुझ्ने लगानीकर्ता र कारोबारी हावी भएको नेपाली धितोपत्र बजारमा बोनसको लागत र शून्य प्रतिफलको अवधारणा पाच्य देखिन्न । प्रत्यक्ष रकम भुक्तान नगरे पनि बोनस सेयरका लागि कम्पनीले अंकित मूल्यमा करसहित सेयरधनीको रकमबाटै अप्रत्यक्ष भुक्तानीको हेक्का नराख्ने लगानीकर्ताले सोही लाभांश पाउन बजारबाट उच्च मूल्यमा सेयर खरिदको लागत र मूल्य समायोजन हुँदा प्रत्यक्ष प्र्रतिफल पनि शून्य हुने चटक्कै बिर्सन्छन् ।
अन्तर्राष्ट्रिय स्तरमा बोनस सेयरमा सामान्यतया लाभांश करसमेत नलाग्ने प्रत्यक्ष शून्य लागत हुँदा पनि त्यति रुचाइँदैन । बोनसलाई लागत र लाभभन्दा सेयरधनीमा लादिएको बोझ वा चतु-याइँपूर्वक सेयरधनीको सम्पत्ति एउटा खल्तीबाट अर्को खल्तीमा सार्ने रणनीतिका रूपमा लिइन्छ । अझ आगामी वर्षमा पुँजी वृद्धिको अनुपातमा कम्पनीले व्यवसायको विस्तार र मुनाफा बढाउन नसकेमा प्रतिसेयर आम्दानी र नेटवर्थ घट्दा आधारभूत वित्तीयसूचकहरू नकारात्मक हुने र थप आपूर्ति अनुरूप बजारमा सेयरको माग नभएको अवस्थामा बजारमूल्य घट्ने जोखिम पनि सँगै उच्च दीर्घकालीन लागत र प्रतिफलरहित वित्तीय उपकरणका रूपमा लिइन्छ ।

लागत
कम्पनीलाई थप रकम नबुझाइ पाइने बोनस सेयरको ‘शून्य लागत भन्ने एकथरी बुझाइ पाइन्छ । अर्को समूह, कम्पनीले अंकित मूल्यमा नै सेयरधनीको रकम पुँजीकरण गर्ने र भारित औसत लागत गणना प्रणालीले आधिकारिक रूपमै स्वीकारेको हुँदा सम्बन्धित कम्पनीको ‘अंकित मूल्य’ (रु. १ सय वा १०) नै बोनस सेयरको आधिकारिक लागत मान्नुपर्ने तर्क गर्छ । यस्तै, बोनस सेयरका लागि कम्पनीले ‘अंकित मूल्यमा कर सहित’ सेयरधनीको तर्फबाट खर्च गर्ने रु. १ सय ५.२६ नै वास्तविक लागत हुनुपर्ने तर्क पनि सुनिन्छ ।
कुनै पनि कम्पनीको धितोपत्र बजारबाट सेयर खरिदकोे ‘कुल लागत’, मानौं प्रतिकित्ता रु. १ हजार ५ सय ५० भए सोही लाभांश वा बोनसको लागत मान्ने लगानीकर्ता पनि छन् । अर्को समूहले, जति मूल्यमा किने पनि बुकक्लोजमा कायम मूल्यका आधारमा बजार सञ्चालक नेप्सेबाट औपचारिक रूपमा ‘समायोजित मूल्य’ नै बोनस सेयरको लागत भन्छ । मानौं, ३३.६ प्रतिशत बोनस सेयर घोषित कम्पनीको बुकक्लोज हुँदाको बजारमूल्य रु. १ हजार ५ सय ५० बाट समायोजित मूल्य रु. १ हजार १ सय ६०.१८ नै बोनस सेयरको लागत भन्छन् ।
बोनस सेयरको लागत सम्बन्धमा लगानीकर्तासँगै लेखाविद् र नीतिनिर्माताको पनि फरक धारणा पाइन्छ । विगतमा कर प्रयोजनका लागि आधार मूल्यलाई नै बोनस सेयरको लागत स्विकारिँदा शून्य लागतको बहस पनि हुन्थ्यो । बोनस सेयरको लागत र करमा लामै बहसपछि विकसित भारित औसत लागत गणना प्रणालीमा अंकित मूल्यलाई आधिकारिक लागत स्विकारिएको छ ।

प्रतिफल
बोनसको प्रतिफलमा पनि अन्योलता र फरक बुझाइ पाइन्छ । विश्वव्यापी रूपमा बोनस सेयरलाई सेयरधनीको सम्पत्ति एउटा खल्तीबाट अर्को खल्तीमा सार्ने कपटपूर्ण रणनीतिका रूपमा लिँदै वास्तविक ‘लाभांश वा प्रतिफल शून्य’ सरह मानिन्छ । नेपालमा विशेष गरी अल्पकालीन लगानीकर्ता वा कारोबारीमा बोनसमा पाइने सेयर बजार मूल्यमा बेचेर नगद लाभांशको तुलनामा बढी लाभांश पाइने बुझाइ छ । अझ केहीले त बजारको प्रचलित मूल्यमा नै बोनस सेयरको लाभांश पाइने धारणा राख्छन् । उदाहरणका लागि बजारमा प्रतिकित्ता रु. १ हजार ५ सय ५० भएको कम्पनीले ३३.६ प्रतिशत बोनस सेयर दिँदा रु. १ हजार ५ सय ५० को ३३.६ प्रतिशतले रु. ५ सय २०.८ प्रतिफल पाइने गलत बुझाइ व्यापक छ । उनीहरू बोनस सेयरको मूल्य समायोजन हुने बिर्सन्छन् वा बुझ पचाउँछन् ।
प्रचलनअनुसार नेपाली पुँजीबजारमा माथि उल्लिखित ३३.६ प्रतिशत बोनस प्रस्तावित कम्पनीको बुकक्लोज हुँदा मानौं बजार मूल्य रु. १ हजार ५ सय ५० कायम भए कम्पनीको साधारणसभाले स्वीकृति नगर्दै नेप्सेबाट घोषित बोनस दरमा मूल्य समायोजन गर्दै रु. १ हजार १ सय ६०.१८ समायोजित मूल्य कायम गरिन्छ । तत्कालीन सेयरधनीसँग बुकक्लोज पछि प्राप्त हुने बोनस सेयर ३३.६ कित्तासमेत १ सय ३३.६ कित्ता त हुन्छ, तर कुल सम्पत्ति बुकक्लोज अगाडिको १ सय कित्ता हुँदाको प्रतिकित्ता रु. १ हजार ५ सय ५० ले हुने रु. १ लाख ५५ हजार नै बुकक्लोजपछि बोनस वा लाभांशसहित १ सय ३३.६ कित्ताको रु. १ हजार १ सय ६०.१८ ले रु. १ लाख ५५ हजार नै हुन्छ । त्यसैले औपचारिक रूपमै मूल्य समायोजन हुँदा बोनस सेयरको तत्कालीन प्रतिफल वा लाभांश शून्य मानिन्छ । बोनसको लागत र प्रतिफलका हिसाबले बुकक्लोज अगाडि वा पछाडि सेयर किन्नुमा तात्विक अन्तर रहन्न ।
बोनस सेयरको प्रतिफल शून्य अस्वीकार गर्ने लगानीकर्ताहरूले सेयर संख्या वृद्धि र भविष्यमा मूल्यगत वा पुँजीगत लाभको अवसरको वकालत गर्छन् । लाभांश प्रतिफल (डिभिडेन्ड यिल्ड) गणना गर्दा भने बोनस वा नगदभन्दा कम्पनीले घोषणा गरेको लाभांशलाई नै आधार मानिने हुँदा अंकित मूल्यलाई अप्रत्यक्ष रूपमा सबैले स्विकार्छन् ।

सेयर सम्पत्तिमा योगदान
अंकित मूल्य वा कम लागत परेका सेयरधनीबाहेक अरूको सेयर सम्पत्तिमा बोनस सेयरको योगदान प्रतिकित्ता लागत घटाउने मात्र हो । यथार्थमा बोनस सेयरले सेयरधनीको सेयर सम्पत्ति बढाउनेभन्दा सेयर संख्या बढाउँछ । समयान्तरमा सेयर सम्पत्तिमा प्रभाव केलाउँदै तालिकामा आव २०७६-०७७ को बोनस दर र बुकक्लोजमा कायम मूल्यबाट २०७७-०७८ को बुकक्लोज हुँदा वा बजार मूल्यबाट सामान्य विश्लेषण प्रस्तुत गरिएको छ ।

२०७६-०७७ देखि २०७७-०७८ को बुकक्लोजसम्ममा सबैभन्दा बढी सिटिजन्स बैंकका सेयरधनीको सम्पत्ति ७१.२५ प्रतिशतले बढ्दा नेपाल बंगलादेश बैंकको सेयर मूल्य ६०.६८ प्रतिशतले बढेको देखिन्छ । सेयरधनीको सेयर सम्पत्ति वृद्धिमा बोनस सेयरको योगदान नविल बैंकमा सबैभन्दा बढी ३७.९९, कम एभरेस्ट बैंकमा ४.३४ प्रतिशत देखिन्छ ।
तथ्यांकले वितरित बोनस सेयरकै दरमा सेयर सम्पत्ति वृद्धि सुनिश्चित देखिन्न । बोनसबाट कम्पनीको व्यवसाय र मुनाफामा प्रभावसम्बन्धी लगानीकर्ताको बुझाइअनुसार बजार मूल्य प्रभावित हुँदै सेयर सम्पत्तिमा पनि घटबढलाई नकार्न सकिन्न । तालिकामा उल्लिखितमा २०७७-७८ को थप कित्ता पाउँदा पनि हालको बुकक्लोज हुँदा कायम मूल्यबाट सिटिजन्समा १६.३१, सानिमामा ६.८९, कुमारीमा १.१९, माछापुछ्रेमा ०.०२ प्रतिशतको नोक्सानी छ भने नेपाल बंगलादेश बैंकमा मूल्यवृद्धिसँगै ०.७४ प्रतिशतको मुनाफा छ ।

विचारणीय पक्ष
पर्याप्त पुँजीले व्यावसायिक आधार र जोखिमवहन क्षमता दिन्छ, तर त्यस्तो पुँजीकोषको मिश्रण सन्तुलित नभए दीर्घकालमा नकारात्मक असर पर्न सक्छ । चुक्ता पुँजी केन्द्रित हुँदा एकातिर कम्पनी पुँजीभारले थिचिँदै आधारभूत वित्तिय सूचक प्रतिसेयर आय (ईपीएस) र नेटवर्थ कमजोर हुन्छ भने अर्कातिर बढ्दो सेयरको आपूर्तिले मूल्य प्रभावित भएर लगानीकर्ताले प्रतिफल र सेयर सम्पत्ति दुवै गुमाउन बाध्य हुन सक्छ । नेपालकै सन्दर्भमा केही करोड रुपैयाँ चुक्ता पुँजी भए पनि यथोचित पुँजीकोष कायम गरेका युनिलिभिर र बोटलर्स नेपालको व्यवसाय र जोखिमवहन क्षमता अर्बौं चुक्ता पुँजी भएका कम्पनीको भन्दा पक्कै कमजोर देखिन्न । त्यसैले बलियो पुँजीगत क्षमता आवश्यक बैंकिङ क्षेत्रमा समेत चुक्ता पुँजीभन्दा समग्र पुँजीकोषमा केन्द्रित हुनु दीर्घकालीन हितमा हुनेछ । अन्यथा, क्षणिक लाभको लोभमा दीर्घकालीन नोक्सानी र जोखिमलाई निम्तो हुनेछ । बैंकहरू चुक्ता पुँजीको भारले र पुँजीबजार अधिक सेयरको आपूर्तिले थिचिनेछन् । प्रस्तुत तथ्यांकले बोनस सेयरको उल्लेख्य नोक्सानी नदेखिँदा पनि मुनाफा पुँजीकरण नगर्दा बढ्न सक्ने इपीएस र नेटवर्थ तथा घट्ने आपूर्तिको मूल्य प्रभाव बिर्सनु हुन्न ।
(प्रस्तुत तथ्यांककै आधारमा लगानी निर्णय गर्दा कसैलाई हानि–नोक्सानी भएमा लेखक वा पत्रिका जिम्मेवार हुनेछैन ।)

प्रतिक्रिया दिनुहोस्