बुढेसकालको व्यवसायले धानेको गुजारा «

बुढेसकालको व्यवसायले धानेको गुजारा

चाहे सानो कर्म होस् वा ठूलो । कर्मको सम्मान गर्नैपर्छ । तर, यस्ता कर्महरू हुन्छन् जुन व्यावसायिक दुनियाँमा निकै नै फलदायी हुन्छन्, त्यो हो— व्यापार–व्यवसाय । व्यापार–व्यवसाय पनि धेरै प्रकारका हुन्छन्, कुनै ठूला व्यवसाय हुन्छन् त कुनै साना । आज म यस्तो व्यवसायको विषयमा लेख्दै छु, जसले बुढेसकालमा पनि वर्षौंदेखिको व्यवसायले उनीहरूको पारिवारिक गुजारा चलेको छ ।
हामीले सत्कर्म गर्नुपर्छ, सत्भाव कायम राख्नुपर्छ, सत्विचार लिएर हिँड्नुपर्छ । जो दुःखसँग संघर्ष गर्दै अगाडि बढेको छ त्यो अवश्य पनि सफल हुन्छ । उसले फल प्राप्ति गर्छ । मैले हालै राजधानीका केही ठाउँको अवलोकन गरें । प्रायः ठाउँहरूमा स–सानो व्यवसाय गर्ने वृद्धवृद्धाहरूलाई देखें । कोही मकै पोलिरहेको अवस्थामा देखें, कोही सडकमा जुत्ता सिलाइरहेको देखें, कोही ठेलागाडामा तरकारी बेचिरहेको देखें त कोही डालो बोकेर बदाम, चना, केराउ बेचिरहेका वृद्धहरू देखें । बाँकी जीवन परिवारका साथ आनन्दले जिउनुपर्ने यस्तो उमेरमा पनि विभिन्न आर्थिक समस्याका कारण रहर नभई बाध्यताले आज आफ्नो पारिवारिक गुजारा धान्नका लागि भए पनि वृद्ध बुवाआमाहरू लामो समयदेखि आफ्नो व्यवसाय गर्दै आइरहेका छन् । त्यसैको एउटा उदाहरण हुन्— जयचन्द्र दास ।
स्थायी घर धकनुषा भई हाल थापाथली, काठमाडौंमा बस्दै आएका जयचन्द्र दास उमेरले ६५ नाघिसकेका छन् । गत शनिबार काठमाडौंको बुद्धनगरमा पारिलो घाममा बसेर उनी छेवैमा डालो र डालोमा बदम, चना, केराउ राखेर ग्राहकहरू कुरिरहेका थिए । सेतै दाह्री र कपाल फुलेका चन्द्र दास बदाम, चना मात्र बेचेर दैनिक ७ सयदेखि १ हजारसम्म व्यापार गर्ने गर्छन् । जसोतसो पारिवारिक जीवन गुजारा गर्दै आएका दास २०५२ सालदेखि यो व्यवसायमा निरन्तर लागेको बताउँछन् । बचेको केही रकम घरमा समेत पठाउँछन् ।
घरमा उनका चार जना छोरी र श्रीमती छन् । उनको जीवनमा अनेकन् कठिनाइहरूसँग सामना गर्नुपरेको अनुभव सुनाउँछन् । उनी बिलौना गर्दै गत वर्षको सुरुको लकडाउनमा सवारी साधन नचल्दा घरबेटीले घरबाट निकालेपछि पाँच दिन पैदल हिँडेरै घर धनुषा जानुपरेको पीडा बताउँछन् । यो उमेरमा आनन्दले छोराछोरीको साथमा बाँकी जीवन कटाउँदै बस्नुपर्ने ठाउँमा आज यसैगरी पारिवारिक गुजारा धान्नका लागि भए पनि यो व्यवसाय गर्नुपरेको बताउँछन् । यो व्यवसायमा लागेको पनि उनका लागि जुग भइसक्यो ।
उनको अर्को दुःखको कुरा त झन् पहिला–पहिला डालोमा बदम बेच्ने क्रममा फटाहाहरूले दुःख दिइरहन्थे रे । कहिले सित्तैंमा खाइदिने गरेको, कहिले डालोको बदाम चोरिदिने, कहिले सबै व्यापार भएको दिन सम्साँझै मानिसहरूले केही रकम चोरिदिने गरेको र हामी तराई मूलका भएकाले जथाभावी बोलेर हेप्ने गरेको पनि बताउनुभयो । अहिले पछिल्लो चरण त्यस्तो नभएको बताउँछन् । “फटाहाहरू त दुई–चार जना आइ नै रहन्छन्,” उनी भन्छन् । तर, उनको जीवनमा धेरै दुःखका कथा लुकेका छन्, लुकेको कथा भन्दा आँसु आउने उनी बताउँछन् ।
जयचन्द्र दास त एक प्रतिनिधि पात्र मात्र हुन् । राजधानीलगायत मुलुकबाहिर पनि यस्तै धेरै वृद्ध आमाबुवाहरूले आफ्नो बुढेसकालको बाध्यात्मक परिस्थितिका कारण स–सानो दुःख, परिश्रम गर्दै लामो समयदेखि आफ्नो परिवारको दैनिक गुजरा धान्दै आएका छन् । ती कर्मशील हातप्रति सधैं उच्च सम्मान !

प्रतिक्रिया दिनुहोस्