एमसीसीबारे टुंगोमा पुग्न नेपाललाई समयसीमा «

एमसीसीबारे टुंगोमा पुग्न नेपाललाई समयसीमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी सहायता कार्यक्रम (एमसीसी) बारे टुंगोमा पुग्न नेपाललाई समयसीमा तोकिदिएका छन् । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एससीसी सम्झौता नेपालले स्वीकार गर्ने कि नगर्ने भनेर मंसिर २८ गतेसम्ममा टुंगोमा पुग्न समयसीमा दिएका हुन् । शुक्रबार बिहान सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको भेटवार्तामा सहायक विदेशमन्त्री लुले डिसेम्बर १४ अघि टुंगोमा पुग्न आग्रह गरेका हुन् ।भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पहिले नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेशमन्त्री लूलाई जानकारी गराएको बताए । उनले अमेरिकाले दिएको डिसेम्बर १४ भन्दा अघिको समयसीमा भित्र ठोस निर्णयमा पुग्ने पनि बताए ।यसअघि अमेरिकी सहायक विदेशमन्त्री लुले शुक्रबारै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । उक्त भेटमा लुले अमेरिकाले स्वास्थ्य, शिक्षा र रोजगार लगायतका विभिन्न क्षेत्रमा गरिरहेको सहयोगलाई अझै विस्तार गर्ने प्रतिवद्धता जनाएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए । मन्त्री लुले एमसीसीको बारेमा राखेको जिज्ञासाको उत्तरमा अध्यक्ष ओलीले आफू सरकारमा नभएको बेलामा बोल्ने स्थिति नभएको भन्दै सरकारमा भएका दलहरुले गरेको निर्णय हेरेर आफ्नो निर्णय बनाउने बताएका थिए । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डपछि सहायक विदेश मन्त्री लुले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गरेका थिए । भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् । एमसीसी नेपाल आफैंले मागेको आयोजना भए पनि पछिल्लो समय नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबाट फुटेको नेकपा (एस)ले विरोध गर्दै आइरहेका छन् । विकास आयोजनाको बारेमा नेपालका राजनीतिक दलका नेताहरुको फरक फरक धारणाले विश्वमा नेपाललाई हेर्ने दृष्टिकोण विकास विरोधी मुलुकको रुपमा स्थापित हुँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्