वर्षा र हिमपातले किसान खुसी «

वर्षा र हिमपातले किसान खुसी

रामेछाप-तीन दिनसम्मको लगातार झरीपछि फेरि शुक्रबार र शनिबार भएको वर्षाका कारण रामेछापको उच्च भेगका कृषकमा खुसियाली छाएको छ । लगातारको वर्षाका कारण उच्चपहाडी भू–भागमा परेका हिमपातका कारण हिउँदे बालीनालीले राम्रो उत्पादन दिने भएपछि उनीहरूमा खुसियाली छाएको हो ।
विशेषगरी रामेछापका सुक्खाग्रस्त २९ वडाका किसानलगायत जिल्लाभित्र कृषि पेसा गर्नेहरुलाई हिमपातसँगै परेको पानीले ठूलो राहत भएको हो । मन्थली नगरपालिका–४ सालुका जयबहादुर खत्रीले लामो समयपछि परेको आकासे पानीले बारीमा लगाएको गहुँ, तोरी, आलु तरकारीलगायतका हिउँदे बालीलाई राम्रो भएको बताए ।
उनले भने, “पानी नपरेको भए बारीमा लगाएको सबै बालीनाली सुकेर जाने अवस्था थियो पानीले हामीलाई ठूलै राहत भयो ।” त्यस्तै रामेछाप नगरपालिका–६ ओख्रेनीका जुनार कृषक टीकाराम लामाले फूल फुल्ने बेला भएको जुनारका बोटलाई पछिल्लो वर्षाले निक्कै राम्रो राहत मिलेको बताए ।
आकासे पानीले जुनारमा मल हाल्न र गोडमेल गर्न आफूहरूलाई मद्दत पुगेको पनि उनले बताए । त्यसैगरी उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा सामूहिक रूपमा किबी खेती गरिरहेका हिरालाल श्रेष्ठले पानीले किबी खेतीमा लागेका किसानलाई ठूलो फाइदा पुगेको बताए । उनले भने, “हामीले करिब ४ सय रोपनीमा व्यवसायिक किबी खेती गरिरहेका छौं, यो समय किबीको बिरुवा रोप्ने समय हो, यही समयमा आकासे पानी प-यो बिरुवा रोप्नका लागि खाल्डो खन्न र बिरुवा रोप्न निकै सजिलो भएको छ ।”
त्यतिमात्र होइन, हिमाली भेगमा रोपिएका आलुलाई पनि यस वर्षा र हिउँले निक्कै फाइदा पु¥याएको छ । हिउँदे बालीको आम्दानीबाटै आफ्नो परिवार चलाउने किसानदेखि व्यावसायिक रूपमा खेती गर्ने किसानको मुहारमा यति बेला हिउँदे वर्षाले निक्कै खुसियाली छाएको हो ।

रमेश ढुंगेल

प्रतिक्रिया दिनुहोस्