‘स्केपिजम्’ र ‘अटोक्रेसी’ बाट अब पार्टी चल्दैन «

‘स्केपिजम्’ र ‘अटोक्रेसी’ बाट अब पार्टी चल्दैन

नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्– डा. शेखर कोइराला । कांग्रेस केन्द्रीय सदस्य रहेका उनी समस्याबाट भाग्ने प्रवृत्ति (स्केपिजम्) र ‘अटोक्रेसी’बाट पार्टी अब नचल्ने बताउँछन् । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई निकै आलोचना गर्न थालेका उनी कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन कार्यकर्ताको मनोबल उच्च बनाउनुपर्ने बताउँछन् । मुलुकमा हालै भएका तीन वटा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी सबैले लिनुपर्ने मत राख्ने उनी निर्वाचनका क्रममा धेरै ठाउँमा चुक्दा पनि निराश हुनुपर्ने अवस्था भने अझै नरहेको बताउँछन् । मेरो होइन राम्रो मान्छे कांग्रेसमा ल्याउन सक्नुपर्ने र जसले काम गर्छ, त्यसलाई प्रोत्साहन गरेर अगाडी बढाउनुपर्ने विचार राख्ने डा. कोइराला तत्काल महासमिति बैठक बोलाएर निर्वाचनको यथार्थ समीक्षा र विधान परिवर्तन गर्नुपर्ने माग गर्दै आएका छन् । उनै डा. कोइरालासँग कारोबारका सम्पादक कुबेर चालिसे र संवाददाता जगन्नाथ दुलालले गरेको कुराकानीको सार :

केन्द्रीय समिति बैठक औपचारिकता पूरा गरेको जस्तो देखियो भनिन्छ । न बैठकअघि निकै चर्को स्वरमा आवाज उठेको महासमिति बैठकको मिति नै तय भयो, न निर्वाचनकै समीक्षा हुन सक्यो, किन ?
सभापति शेरबहादुर देउवाजीले एजेन्डा दिँदा राष्ट्रियसभाको निर्वाचनमा कसरी जाने, मापदण्ड के बनाउने भन्ने कुरा राख्नुभयो । अर्को, महासमितिको बैठक छिटै गर्नुपर्छ भन्नुभयो । तेस्रो कुरा, राष्ट्रियसभाको निर्वाचनपछि विस्तृत हिसाबले निर्वाचनको समीक्षा गर्ने भन्ने तीनवटा एजेण्डा थियो । बोल्ने क्रममा धेरै साथीले आ–आफ्नो तरिकाले बोल्नुभयो । मंसिर २१ गते अन्तिम चुनाव भयो । २१ गतेको निर्वाचनपछि परिणाम आउन केही दिन लाग्यो । त्यसको एक हप्तापछि समीक्षा बैठक बोलाएको भए हुन्थ्यो । समीक्षा गर्न डराउनु पर्दैन । टिकट लिएर जाने अनि हार्ने भनेर सभापतिजीले भन्न मिल्दैन । त्यो उहाँले दिने अभिव्यक्ति होइन । युवा नेताहरूले कुरा उठाउनुभयो बैठकको । किन उहाँहरूले उठाउनुभयो ? हामीले महसुस गर्यो । गर्न सकेनौं । मान्छे हारेका छन् । कांग्रेस कायकर्ता निराश छन् । केन्द्र, प्रदेशमा हाम्रो सरकार बन्दै छैन । स्थानीय तहमा पनि कम छौं । उहाँहरूले आक्रोस पोख्नुभएको हो । जो जति जिम्मेवार छ, ऊ त्यति नम्र हुनुपर्ने हो । त्यो नभएर बिग्रेको हो । त्यसैले महसुस गर्नुपर्यो
। हामीबाट गल्ती भयो भनेर त भनौं, सकियो भनेर मैले भनेँ । ०६४ मा पनि हारेको हो नि । अन्तिम दिन समानुपातिकको सूची पठाउने केन्द्रीय समितिले हो तर, त्यतिखेर पनि गर्नै सकेन । सुशील दा कार्यवाहक सभापति, शेरबहादुरजी वरिष्ठ नेता, रामचन्द्रजी बैठक गर्दै हुनुहुन्थ्यो समानुपातिकको सूची अन्तिम बनाउन । गिरिजाबाबु सभापति हुनुहुन्थ्यो । उहाँहरूलाई गाली नगर्नुस्, मैले गल्ती गरेँ, गिरिजाबाबुले भन्नुभयो । अरूले मानिदिए । त्यसरी अघि बढ्छ पार्टी । सभापति देउवाजीले जित्नुभएको छ । अरू पदाधिकारी हुनुभएको छ । उहाँहरूले हामीबाट गलत भएको छ भन्नुपर्यो

केन्द्रले छिटोभन्दा छिटो निर्वाचनमा भएका गल्ती, कमजोरीको यथार्थ समीक्षा गर्नुपर्छ । ढिला भयो भने यसले विग्रह निम्त्याउँछ । स्याङ्जामा, विराटनगरमा पार्टीका साथीहरूबीचमा नै बोलचाल छैन । अन्यत्र पनि समस्या छ । हामी जम्मा ४५ हजारले हारेका रहेछौं । कास्की एउटा जिल्लामा मात्र २१ हजारले हामी हारेका रहेछौं । देशभरि २३ हजार मत त हाम्रो पछाडि रहेछ । कहाँ गयो कास्कीको कांग्रेसको मत ? यसपटक चुनावमा विचित्र भएको छ । यसको वास्तविक समीक्षा हुनुपर्यो । कसैलाई आरोप लगाएर होइन । सबै प्रदेश र प्रतिनिधिसभा क्षेत्रमा कुनै गुटमा नपरेका मान्छे पनि त होलान् तिनलाई पठाएर समीक्षा हुनुपर्यो । प्रजातन्त्रवादी प्राध्यापक, वकिल, इन्जिनियरहरूलाई गएर के गर्ने क्षेत्राधिकार दिएर पनि पठाउन सकिन्छ । कहाँ के गडबड भयो, बताइहाल्छन् उनीहरूले । त्यो कुरालाई नेतृत्वले ध्यान दिनुपर्ने हो, तर दिएको छैन । महासमितिको मिति तोक्नुपथ्र्यो, तोक्नु भएन । प्रजातन्त्र दिवसका दिन फागुन ७ मा गरौं भनेर मैले बैठकमा प्रस्ताव नै गरेको हुँ, तर मिति तोकिएन । महासमिति बैठकपछि ‘अर्ली अधिवेशन’ तिर लाग्नुपर्छ । अरू उपाय हामीसँग छैन ।

केहीले कांग्रेस अब सकियो भनेर पनि टिप्पणी गरेका छन् । कांग्रेस नेताका रूपमा भन्नुपर्दा अहिले कांग्रेस कहाँनेर छ ? चुकेको केमा हो ?
नेपाली कांग्रेसको सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र, समाजवाद हो । विभिन्न कालखण्डमा अप्ठ्यारा परिस्थिति आए । ०१७ मा राजाले कू गरे । कांग्रेस देखिँदैनथ्यो । तर, गाउँमा सिरकमुनि कांग्रेसको झन्डा राखेर बस्ने साथीहरू पनि थिए । जनमत–संग्रह भयो, हामी पराजित भयौं । बीपीले स्टेटमेन्ट दिनुभयो, जनमत–संग्रहमा प्राप्त २० लाख मतलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा । त्यसैलाई टेकेर हामी प्रजातन्त्र, बहुदलीय व्यवस्था ल्याउन सक्छौं भन्नुभयो । बीपी बित्नुभयो । त्यसपछि किसुनजी, गणेशमान, गिरिजाबाबु, महेन्द्रनारायण निधि आउनुभयो । उहाँहरूले अगाडि बढाउनुभयो । ०४६ सालको आन्दोलन भयो, कांग्रेसले जित्यो । यस्तो उतार चढाव चलिराख्या हुन्छ । तर, अहिलेको परिस्थिति र त्यतिबेलाकोमा भन्दा भिन्दै भयो । ०६२-६३ को आन्दोलनपछि राजसंस्था गयो । राजसंस्था गइसकेपछि कसरी अघि बढ्ने भन्ने कुरा आयो । हामी कांग्रेस, एमाले, माओवादी मिलेर अघि बढ्यौं । एउटा संविधानसभाले संविधान बनाउन सकेन । दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस फेरि अगाडी आयो । कांग्रेसले संविधान पनि बनायो । हो, त्यो संविधानमा कति त्रुटि, कमजोरी होलान् । त्यो अस्वाभाविक होइन पनि । तर, जनताले बनाएको एउटा संविधान त ल्यायौं नि । त्यो कुरा पनि हामीले जनताकहाँ लैजान सकेनौं । नेपाली कांग्रेसले कामै गरेको छैन भन्ने होइन । तर, गरेका काम पनि जनताकोमा पुर्याउन सकेनौं । गलत पनि भयो केही हामीबाट । चुनाव अगाडि हाम्रो सरकारले केही विवादास्पद निर्णयहरू गर्यो , त्यसको पनि असर पर्यो । त्यसैले अहिलेको चुनावमा हामी पराजित भयौं । केही साथीले लोकप्रिय मत पहिलेभन्दा बढेको छ भनेका छन् । प्रतिशत बढेको छ । ३५ प्रतिशत मत भएको छ, पहिले ३२ प्रतिशत थियो । महत्वपूर्ण कुरा के हो भने हामीले निर्वाचन हार्यौं भन्ने कुरा जबसम्म स्विकार्दैनौं (रिएलाइजेसन गर्दैनौं) तबसम्म हामी अगाडि बढ्न सक्दैनौं ।

‘राष्ट्रियता, प्रजातन्त्र, समाजवाद’ कांग्रेसले आफ्नो आदर्श भन्दै आएको छ । तर, अहिले राष्ट्रियताभन्दा केपी ओली र समाजवादभन्दा प्रचण्ड धेरै बुझियो । पार्टीभित्रै प्रजातन्त्र भएन भनेर केन्द्रीय समितिभित्रै तपाईंहरू आफैं भन्दै हुनुहुन्छ । यसरी हेर्दा त कांगे्रेस एजेन्डाविहीन नै भएको देखियो नि ?
राष्ट्रियताको सन्दर्भमा, बीपीको बेलाको राष्ट्रियता अहिले छैन । किनभने अहिले राजसंस्था छैन । त्यो बेला शीतयुद्ध थियो । नेपाल एकदम अप्ठ्यारो स्थितिमा थियो । बीपीले फर्किएर नेपाल आउँदा राजा र मेरोे घाँटी जोडिएको छ भन्नुभएको थियो । त्यो बेलाको व्याख्या त्यस्तो थियो । अहिले राष्ट्रियताको मुद्दा ‘हाइज्याक’ भनेर तपाईंहरूले भन्नुभयो । यो ‘हाइज्याक’ले देश कहाँ पुग्ने हो, बुझ्नुस् । केपी ओलीजीले पहाडे राष्ट्रियता बोक्नुभएको छ र मधेसमा उग्रवादको कुरा छैन भन्ने होइन । हिजोअस्ति मात्र सीके राउत हाउस अरेष्टमा छन् । त्यसले भोलि हामीलाई कहाँ पुर्याउने हो । कांग्रेसले त हिमाल, पहाड र मधेसलाई मिलाएर राष्ट्रियता बनाउन खोजेको हो । त्यो कुरा हामीले जनतामाझ पुर्याउन सकेनौं । हामीले संविधान संशोधन गर्न खोजेको हो । तर, त्यो कुरा जनताकोमा पुगेन । न मधेसी जनताले पत्याए, न पहाडका जनताले पत्याए । राष्ट्रियताको विषय जनतालाई बुझाउन नसक्नु पनि हारको ठूलो कारण हो । दोस्रो कारण, वाम गठबन्धन भयो । एमाले, माओवादी एउटै पार्टी बनाउने भनेका छन्, होला । त्यो हाम्रो चासोको विषय होइन । नेपाली जनता ६-६ महिनामा, ९-९ महिनामा सरकार फेर्ने कुराले आजित भएका छन् । वाम गठबन्धन भयो भने एकातिर पहाडे राष्ट्रवाद र अर्कातिर वाम गठबन्धनको स्थिरताको नारा, त्यो कुरालाई हामीले ध्यान दिएनौं । वाम गठबन्धनले मात्र हामी हारेको भन्दिनँ । तर, त्यो पनि ठूलो फ्याक्टर हो । तेस्रो कुरा, हामीले लोकतान्त्रिक गठबन्धन भन्यौं, तर भएन । हामी त्यहाँ पनि चुक्यौं । गम्भीर रूपमा हामीले लोकतान्त्रिक गठबन्धन गरेर अघि बढेको भए पनि हुन्थ्यो, तर अमूक व्यक्ति र अमूक पार्टीका लागि हामीले गठबन्धन गरेछौं ।
लोकतान्त्रिक गठबन्धन किन बिग्रियो, किन टुट्यो ? छलफलमा म छैन । त्यसकारण त्यसबारेमा म भन्न सक्दिनँ । मधेसमा १६-१६ मा मान्थे होलान् । त्यो सहमति हामीले गरेनौं वा उनीहरूले मानेनन् । हामीले काखी च्याप्दै गयौं । त्यही क्रममा उपेन्द्र यादव र महन्थ ठाकुरलाई सिट छोड्दियौं । तर, उहाँहरूले कहाँ छाड्नुभयो ? कसलाई छोड्नुभयो ?
एक सिट पनि छोड्नुभएन । हाम्रो नेतृत्व त्यहाँ असफल भयो । २ सिट छोड्दै गर्दा उनीहरूलाई पनि २ सिट छोड भन्न सक्नुपथ्र्याे । हामी कांग्रेसले मधेस हाम्रा लागि उर्वर भूमि हो भनेर भन्दै आएका छौं । तर, सरकारले प्रजातान्त्रिक विचारधाराको कांग्रेसलाई माया गर्ने प्राध्यापक थिए होला । वकिल, बौद्धिक वर्ग थिए होलान् । प्रदेश प्रमुख एउटा यादवजीको मान्छेलाई अर्को ठाकुरजीको मान्छेलाई दिनुभयो प्रधानमन्त्रीले । नेतृत्व त्यहाँनेर पनि चुक्यो । मधेसी समुदाय हामीसँग छ भनेर देखाउनका लागि पनि हामीले हाम्रो मान्छे प्रदेश प्रमुख बनाउनुपथ्र्याे । भोलि आउने सरकारले हटाउँथ्यो होला । त्यो आफ्नो ठाउँमा छ । तर, हामी यस्ता यस्ता कुरामा चुकेका छौं । यस्तै, चुनाव अघि गरेका सरकारका गलत निर्णयहरूले पनि हामीलाई हराउन मद्दत गर्यो ।
अर्को महत्वपूर्ण कुरा, मतदातालाई हामीले क्रियाशील बनाएका छौं । क्रियाशील बनाएपछि केही अपेक्षा हुन्छ । महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यबाट अपेक्षा गरिन्छ । जिल्ला सदस्य, सभापतिबाट केही कुरा अपेक्षा हुन्छ । मतदाता क्रियाशील भएपछि क्षेत्रीय प्रतिनिधि त्यही बन्ने हो । महासमिति, महाधिवेशन प्रतिनिधि चुन्ने हो । क्रियाशीललाई कसरी व्यवस्थापन गर्ने भन्नेमा हामी चुक्यौं । भ्रातृ संस्थाहरूको कुरा गर्नुस्, नेविसंघ, तरुण दल, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ, दलित संघ चुनावको बेला उनीहरूको अस्तित्व कहीँ पनि देखिएन । भोजपुरको एक जना जनप्रतिनिधि मेरो कार्यक्रममा आउनुभयो । उहाँले एउटा महत्वपूर्ण कुरा भन्नुभयो, ‘कांग्रेसका कार्यकर्ता लोभीपापी हुन्छन् । तपाईंहरू आजदेखि मतदाता बन्नुस् । मतदाता लोभीपापी हुँदैनन् ।’ यो एकदमै महत्व पूर्ण कुरा छ । उम्मेदवार सबैलाई त्यो अनुभूति भएको छ । कांग्रेसको चुनाव चिह्नमा टिकट त पायौं, तर व्यक्ति लड्यौं, संस्था लडेन ।

पार्टी संस्थागत रूपमा नचल्दा त्यसैको प्रतिफल संगठन होइन, व्यक्ति लड्नुपर्ने अवस्था आएको हो भन्न खोज्नु भएको हो ?
त्यो पनि एउटा कारण हो । पार्टीभित्र गुट–उपगुट हुन्छन् । त्यसलाई स्वाभाविकै भन्छु । तर, गुट–उपगुट कहाँसम्म हुन्छ भने आन्तरिक लोकतन्त्रका लागि, बहसका लागि हुनु स्वाभाविक हो । हामी लड्दै छौं, वाम गठबन्धन र मधेसी दलसँग । अनि हामी आफैंभित्र द्वन्द्व छ । म कास्की र स्याङ्जा गएँ, एकदम निराशा छ । सबै हतोत्साही छन् । नेपाली कांग्रेस समाप्त हुँदैन तर, हामीले हाम्रो कार्यशैलीलाई सुधार गर्नुपर्यो । मेरो होइन राम्रो मान्छे कांग्रेसमा ल्याउन सक्नुपर्यो । जसले काम गर्छ, प्रोत्साहन गरेर अगाडी बढाउनुपर्यो । तर, मैले जति सजिलो गरेर यो भनें, गर्न त्यति नै गाह्रो छ । महासमिति बैठकले मात्र यो कुरा गर्छ जस्तो लाग्दैन । त्यसकारण मेरो विनम्र आग्रह छ । महासमितिको बैठकपछि विधानतः पूरा परिवर्तन हुन्छ । त्यो विधानअनुसार केन्द्रदेखि वडासम्मै अधिवेशन र महाधिवेशन एक डेढ वर्षभित्र गर्नुपर्नेछ । महासमितिपछि पनि त्यो समय लाग्छ । त्यसको तयारी गर्नुपर्छ । दोस्रो कुरा, मैले मेरो कुरा गर्दा आफ्नै कारणले हारेँ भनेँ । जिल्ला–जिल्लामा समीक्षा गर्दा मारपिट भइराख्या छ । त्यसकारण त्यो मारपिटबाट टाढा रहनुपर्यो । हामीले सम्झाउने काम गर्नुपर्यो । केन्द्रले के गर्नुपर्यो भने केन्द्रीय समितिकै साथी वा अलिकति सिनियर साथीहरू, एउटा जिल्लाको अर्को जिल्लामा पठाऊँ । जसमा वकिल पनि होस्, प्राध्यापक पनि होस्, एकदम निष्पक्ष ढंगले उहाँहरूले जिल्लाको अवस्था ल्याइदिनुपर्यो । तलबाट जुन ल्याउने भन्ने छ त्यसले जन धेरै विग्रह हुन्छ । त्यसकारण निराश हुन जरुरी छैन । राम्रो काम गर्यो भने हामी पुरानो अवस्थामा फर्कन्छौं ।

बीपीको नाममात्र जपेर अब कांग्रेस चल्दैन भन्ने देखियो । त्यसको मतलब कांग्रेसमा ‘करिस्म्याटिक लिडर’ कै आवश्यकता खड्किएको हो त ?
कुरा के छ भने, को आउने भन्दा पनि हामी कहाँ चुक्यौं, गल्ती गरेका छौं भने सच्याउनुपर्छ, नत्रभने तानाशाहीतिर जान्छ । गिरिजाबाबुले पनि सबै राम्रो त गर्नुभएन नि । तर, राजसंस्थाका बारेमा जब राजाले ‘टेक ओभर’ गरे । ८४ वर्षको बूढो सडकमा नगएको भए अहिलेका जो नेताले जे भने पनि गणतन्त्र आउँदैनथ्यो । ‘करिस्म्याटिक लिडरसिप’ भनेको त्यो हो । उहाँ नभएको भए त्यो बेलामा आउँदैनथ्यो । आउँदैन भन्ने होइन, तर पछि आउँथ्यो होला । तर त्यतिखेर आउँदैनथ्यो ।

संसदीय समितिमा तपाईं पनि हुनुहुन्थ्यो । त्यहाँबाट तपाईंको राजीनामा त्यही गलत भयो भन्ने अनुभूतिकै कारण हो ?
त्यहाँ गल्ती–कमजोरी मबाट भएन भन्दिनँ । टिकट दिँदाको गल्ती–कमजोरीको भाग मैले पनि लिनुपर्छ । केन्द्रीय समितिमा कार्यसम्पादन समिति र संसदीय बोर्डमा विवाद भएपछि मैले बस्ने औचित्य ठानिनँ । समितिमा राख्नुभएकोमा देउवाजीलाई धन्यवाद पनि दिएँ । मबाट कमजोरी भएकोमा त्यसमा गल्ती पनि स्वीकारेँ । राजीनामा दिएँ । म त हारेर जितेको व्यक्ति । देशमा प्रतिनिधिसभाको म एक्लो उम्मेदवार रहेछु, जो ६ सय ७५ मतले हार्छ । ३ हजार मतले एउट प्रदेशमा जिताउँछ, अर्को प्रदेशमा २ हजार मतले जिताउँछ । मेरै कमजोरी होला नि त । एमालेभन्दा ५ हजार मत समानुपातिकमा बढी छ । आफ्नै कारणले हारेको हुँ म, अरूलाई दोष दिन्नँ ।

अब महासमिति बैठक कहिले बस्ला ? कतिपयले अब महासमिति बैठक नै बस्दैन भनेर आशंका पनि गरेका छन् । के भन्नुहुन्छ ?
हामीले महासमितिको बैठकको मिति तोकेको भए के फरक पथ्र्याे ? मलाई पनि अब महासमिति बैठक बोलाइँदैन भनेर शंका लाग्न थालेको छ । जब शेरबहादुरजीको एजेन्डामै महासमितिको कुरा छ । राष्ट्रियसभा निर्वाचन पछि निर्णय गर्ने ? यही छ गलत । नेतृत्वको कमजोरी भनेको ढाकछोप गर्नु हो । त्यसकारण शंका हुने हो । मलाई नै शंका भइसक्यो । ‘स्केपिजम्’ बाट पार्टी चल्दैन र ‘अटोक्रेसी’बाट पनि पार्टी चल्दैन ।

महामन्त्री शशांक कोइराला, तपार्इं र नेतृ सुजाता कोइरालाको केही दिनअघिको भेटघाटले चर्चा पायो । भेटघाट पारिवारिक मात्र हो कि कुनै सन्देश पनि छ, कोइराला नेतात्रयको भेटघाटको ?
यी तीनवटा कोइराला तीनतिर फर्केका छन् भनेर तपाईं पत्रकारहरू लेखिरहनुहुन्छ । आज तपाईंमार्फत नै भन्छु, हामी तीनतिर फर्केका छैनौं, एकै ठाउँमा छौं । हो भेटेर घरायसी कुरा मात्र त पक्कै गरेनौं होला । हामी पनि राजनीतिक व्यक्ति हौं । यही भेटघाट शेरबहादुरजीको पनि ग्रुप छ, रामचन्द्र र सिटौलाजीको पनि ग्रुप छ । उहाँहरू पनि यसैगरी बस्नुहुन्छ । तर, त्यो त्यति बाहिर आउँदैन । हाम्रो भेटमा कांग्रेस किन कमजोर हुँदैछ ? कहाँ हामी चुक्यौं ? मैले आफ्नो गल्ती भनेँ । शशांकले पनि आफ्नो गल्ती भने, सुजाताले पनि भनिन् । हामी पनि कांग्रेसकै राजनीति गर्दैछौं । कांग्रेस बलियो होस् भन्ने चाहन्छौं । बलियो बनाउनका लागि कहाँ चुक्यौं । राष्ट्रियतालाई कसरी रक्षा गर्नुपर्छ । समाजवादलाई कसरी परिभाषित गर्नुपर्छ । अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध पातलिएको देख्छु । त्यसलाई कसरी व्यवस्थित गर्ने । यी कुरामा पनि हामीले छलफल गर्यो । यो महत्वपूर्ण कुरा हो । त्यति मात्र होइन, केपी ओलीजी रसुवागढी जानुभो र दुई दिनपछि प्रचण्ड ठोरी जानुभयो । त्यसको पनि हामीले छलफल गरेका छौं । समग्र छलफल गर्नुपर्यो । त्यसपछि केही कुरा दिमागमा राखेर अघि बढ्नुपर्छ ।

दुई छिमेकी दक्षिणी भारत र उत्तरको चीनलाई हेर्ने सम्बन्धमा पनि वामपन्थीहरू उत्तरतिर र कांग्रेस दक्षिणतिर अलि बढी झुकाव छ भनेर कतिपयले टिप्पणी गर्ने गर्छन्, कसरी अघि बढ्नुपर्ला अन्तर्राष्ट्रिय सम्बन्धको मामलामा ?
हामी नेपाली भएर सोचौं, दक्षिणतिर वा उत्तरतिर फर्केर होइन । व्यवस्थापन गरेर अघि बढ्नुपर्छ । भारतसँग खुला सिमाना छ । भाषा–संस्कृति मिल्छ । चीनसँग मिल्दैन । यिनीहरूलाई पनि चिढ्याउनु हुँदैन । भारतलाई गाली गर्दैमा राष्ट्रवादी भयौं त हामी ? अहिले त्यही भइरहेको छ । अहिले हामी सबै खुसी छौं, हुनु पनि पर्छ यो ‘ओबीओआर’को कुरा छ । ‘वान बेल्ट वान रोड’को अवधारणमा नेपाल जाँदैछ, त्यो राम्रो होे । तर, कहिले हामीले विचार गर्यौ, अरू देशमा के भएको छ । रेल ल्याउने भन्छौं । त्यो रेल ल्याउँदा लिने ऋणको कति ब्याज तिर्नुपर्ने हो । विश्व बैंकसरह हो कि, ५ प्रतिशत हो कि । हामी तिर्न सक्छौं कि सक्दैनौं । तिरेनौं भने के हुन्छ । अरू देशमा के भएको छ भन्ने सोचेका छौं, छैनौं । चीनले लिजमा त्यसै हङकङ दियो होला ब्रिटेनलाई । अहिले हम्बोडोटा पोर्ट दियो श्रीलंकाले ? ऋण तिर्न नसकेर दिएको हो नि त । त्यो ‘डेब्ट् ट्र्याप’मा हामी पर्छौं कि भन्ने हाम्रा अर्थविद्हरूले यसबारे अब छलफल गर्नुपर्यो
। डेब्ट् ट्र्याप’मा नपर्ने उपाय के छ । उनीहरूलाई ‘ग्रान्ट’मा गर भन्ने हो कि । १-२ प्रतिशत ब्याजमा देऊ भन्नुपर्यो चाइनिजसित । होइन भने त हामी ‘डेब्ट् ट्र्याप’मा परिहाल्छौं नि । बनाइदिन्छ भनेर हामी खुसी हुन्छौं । श्रीलंकालाई एउटा विमानस्थल बनाइदियो । त्यो एयरपोर्टमा अहिले दुईवटा विमान पनि अवतरण गर्दैन । अहिले पाकिस्तानलाई अप्ठ्यारो परिरहेको छ । ‘चाइना पाकिस्स्तान इकोनोमिक करिडोर’ (सीपीईसी) बनाइरहेका छन्, बलुचिस्तान हुँदै गोदार पोर्टसम्म जाने । म चाहन्छु ओबीओआर होस् भनेर । तर, हामी त्यो डेब्ट् ट्र्यापमा फस्न भने हुँदैन ।

वाम गठबन्धनको विदेश सम्बन्ध हेर्दा चीनतिरै नजिकको लेबल लाग्ने गर्छ । अब बन्ने वाम गठबन्धनकै सरकारबाट नेपाल ‘डेब्ट् ट्र्याप’मा जाने खालका अरू सम्झौता होलान् भन्ने तपाईंको आशंका हो ?
होइन, त्यो त उहाँहरूले सोच्नुपर्यो । मुलुकको माया त उहाँहरूलाई पनि छ नि । ओलीजीलाई पनि छ । प्रचण्डजीलाई पनि छ । छैन भन्ने त होइन । नेपाली नै हो । माया हुन्छ । उहाँहरूले त्यो कुरा सोच्नुहुन्छ जस्तो लाग्छ । अहिले सोच्नुभएको छैन भने प्रधानमन्त्री भएपछि त सोच्नैपर्छ नि । यो कुरालाई कसै न कसैले बोल्नैपथ्र्याे । त्यति मात्र होइन, नेपालको बजेटको २७ प्रतिशत आईएनजीओको छ । त्यसरी पैसा लिनु आवश्यक छ कि छैन ? हाम्रो अर्थतन्त्र कसरी विकास गर्ने सोच्न जरुरी छ । बीपीलाई सबैले मानेका छौं । ओली, प्रचण्डले पनि मान्नुभएको छ । देशैले मानिसक्यो । बीपीले अन्तिम समयमा के भन्नुभएको छ ? हामीले चीन, भारत, अमेरिकाको पनि होइन, हाम्रो आफ्नो अर्थतन्त्र बनाउनुपर्छ भनेर भन्नुभयो । त्यति त सम्झनुपर्यो नि उहाँहरूले । त्यसरी हेर्नुपयो ।

कांग्रेसको संगठनात्मक पुनर्संरचनाचाहिँ कहिले हुन्छ ? कांग्रेसमा अब छलफल हुनैपर्ने विषय के हुन् ?
महासमितिको बैठक छिटोभन्दा छिटो हुन आवश्यक छ । हामी संघात्मक संरचनामा गइसक्यौं । तर, हाम्रो पार्टीको विधान एकात्मक नै छ । प्रादेशिक संरचनामा हाम्रो विधान गएको छैन । गाविस वडामा बदलिसक्यो । वडालाई पार्टीले अधिकार कति दिने । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष केन्द्रले चुन्न थालेपछि चुनाव जित्छ ? जित्दैन नि । जिल्ला सभापतिको कुनै भूमिका छैन । एउटा वडा सदस्य बनाउन सक्ने अधिकार पनि दिइएको छैन यसपालि सभापतिलाई ।
यस्तै, राष्ट्रियताको पनि समयानुकुल नयाँ परिभाषा गर्नुपर्यो । हिमाल, पहाड, मधेस, विभिन्न जातजाति भाषाको संगमलाई अघि बढाएर राष्ट्रियता बलियो बनाउन सकिन्छ । एउटा देशलाई गाली गर्दैमा उसको राष्ट्रियता बलियो हुन्छ भन्ने मानसिकताबट पहिला मुक्त हुनुपर्यो । अनि मात्र राष्ट्रियता बलियो हुन्छ । दोस्रो कुरा समाजवाद । हामीले धेरै सामाजिक सुरक्षाको काम गरेका छौं । जस्तो चुनावपछि हामीले दीर्घकालीन रोग लागेकालाई पैसा दिने भन्यौं नि । चुनावभन्दा पहिले नै गर्न सकिँदैनथ्यो ? समाजवाद पनि बीपीले भनेको बेलामा र अहिले फरक अवस्थामा गइसकेको छ । समाजवादको पनि पुनव्र्याख्या गर्नुपर्छ । प्रजातन्त्रका बारेमा पनि छलफल हुनुपर्यो । बीपीले भनेकै कुरा सम्झन्छु, प्रजातन्त्र–प्रजातन्त्र मात्र भन्यौं भने विदेशीको पोल्टामा पर्छौं । राष्ट्रियताको मात्र कुरा गर्यो भने निरंकुशताको पोल्टामा पर्छौं । त्यसैले प्रजातान्त्रिक समाजवादलाई सँगै लिएर हिँड्नुपर्छ । राष्ट्रियता, प्रजातन्त्र, समाजवादलाई पुनव्र्याख्या गरेर हामी जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्