मुहार फेर्दै विकट राक्सिराङ «

मुहार फेर्दै विकट राक्सिराङ

प्रदेश : वागमति
जिल्ला : मकवानपुर
स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका
गाउँपालिकाको केन्द्र : चैनपुर
अध्यक्ष राजकुमार मल्ल
उपाध्यक्षः निर्मला हिम्डुङ
जम्मा वडा संख्या : ९
जम्मा जनसंख्या : ३०८३० (घरधुरी सर्वेक्षण, २०७५), २६१९२ (२०६८ जनगणना)
जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि
समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ, सरिखेत

तामाङ र अति सिमान्तृकत चेपाङ जातिको बाहुल्यता रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा २०७५ सालसम्म सडक पूर्वाधार करिब शून्य नै थियो । सडककै विकास र विस्तार नहुँदा अन्य पूर्वाधार विकास यसै पनि पछि पर्ने नै भयो । शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक अवस्थालगायत सबै सूचकांकमा राक्सिराङ पछाडि नै थियो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएर आएसँगै भौगोलिक रुपमा मकवानपुरकै कर्णाली भनेर चिनिने राक्सिराङको मुहार फेरिँदै गएको छ ।
जनप्रतिनिधिको पहिलो ध्यान नै सडक विस्तारमा प¥यो । अहिले गाउँपालिकाको सबै वडामा ९ महिने सडक सञ्जालको विस्तार भइसकेको छ । वर्षाको समयमा सडकमा हुने क्षतिका कारण ३ महिना भने अधिकांश सडक सञ्चालनमा आउँदैनन् । आगामी वर्षसम्म सबै वडामा बाह्रै महिना यातायात चलाउन सकिने गरी सडक स्तरीकरण भइरहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउँछन् । यसै वर्षको अन्त्यसम्ममा गाउँपालिकाको सबै वडामा विद्युत् पहुँच पु¥याउने गरी गाउँपालिकाले काम गरिरहेको पनि उनले सुनाए ।
जनप्रतिनिधि आउँदासम्म गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडकसमेत बनेको थिएन । जनप्रतिनिधि आएको २ वर्षपछि राष्ट्रिय राजमार्गसम्म गाउँपालिका केन्द्रको सडक पहुँच विस्तार भयो । पूर्वपश्चिम राजमार्गको मनहरीबाट गाउँपालिका केन्द्र चैनपुरसम्म सडक जोडिएसँगै गाउँपालिकाका विकासका ढोकाहरु खुल्न थाले ।
‘हामी आइसकेपछि गाउँपालिका केन्द्रबाट वडा नम्बर ३, २ १ हुँदै अर्को सडकलाई पनि नेवारपानीमा जोडेर राष्ट्रिय राजमार्गको पहुँचमा पु¥याउन सफल भयौं । मनहरीदेखि राक्सिराङका विभिन्न वडा हुँदै धादिङ जिल्लाको मलेखुसम्म जोड्ने ५२ किलोमिटर सडकको ट्रयाक पनि पूरा भइसकेको छ । साथै विकट ६ नम्बर वडाबाट चितवनको राप्ती नगरपालिका जोडिने सडक पनि पूरा गरिसकेका छौं ।’ अध्यक्ष मल्लले भने । नुनतेल लिन बजार आउँदा १६ घण्टासम्म हिँड्नुपर्ने बाध्यतामा रहेका नागरिकले अहिले गाउँगाउँमा सडक पुगेपछि यातायात सुविधा पाएका छन् । कृषिजन्य र पशुजन्य वस्तु बजारसम्म ल्याउन सहज भएको अध्यक्ष मल्लले बताए ।
जनप्रतिनिधि आउनुअघि गाउँपालिकाभर जम्मा ४ वटा स्वास्थ्य चौकी सञ्चालनमा थिए । अहिले सबै वडामा पक्की भवनसहितको स्वास्थ्य चौकी सञ्चालनमा छन् । गाउँपालिका केन्द्रमा १० बेडको अस्पताल भवन निर्माण भइरहेको छ । राक्सिराङ अस्पतालको नामबाट डाक्टरसहितको सेवासमेत दिन सुरु गरिसकिएको छ । अब विशेषज्ञ सेवा र ल्याबको सुविधा पनि चाँडै नै गरिने गाउँपालिकाले जनाएको छ ।
आमा बुबा बचाउ कार्यक्रम सञ्चालन गरेर जेष्ठ नागरिक र अपाङ्गलाई घरमै पुगेर उपचार गर्ने सेवा गाउँपालिकाले गरिरहेको छ । स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुसँग टेलिमेडिसिनमार्फत उपचार गराउने व्यवस्था गरिएको छ ।
जिल्ला पञ्चायतको नाममा रहेको २२ रोपनी जग्गा विभिन्न प्रक्रिया पूरा गराएर गाउँपालिकाको नाममा ल्याइउको छ । गाउँपालिकाको प्रशासनिक भवन बनाउन थालिएको ठेक्का लगाएर काम भइरहेको छ
गाउँपालिकामा रहेका ५३ वटा विद्यालयमध्ये ७० प्रतिशत विद्यालयको पक्की भौतिक संरचना निर्माण भएको छ । गाउँमा सडक नपुग्दासम्म कुनै पनि विद्यालयको पक्की संरचना बनेको थिएन । ४ नम्बर वडामा बाली विज्ञानको प्राविधिक शिक्षालय सञ्चालनमा ल्याइएको छ । बुहारी छात्रवृत्ति कार्यक्रम गरेर बुहारीहरुलाई पनि पढ्ने व्यवस्था गरिनुका साथै एमबिबिएस पढ्ने गाउँपालिकाबासीलाई गाउँपालिकाले नै वार्षिक ५ लाख रुपैयाँ दिने गरेको छ । गाउँपालिकाका ३ जनाले एमबिबिएस पढ््न छात्रवृत्ति लिइरहेका छन् । यस वर्ष अर्का एकजनाले पनि एमबिबिएस पढिरहेका छन् ।
‘शिक्षाको विकासको क्रममा हामीले स्थानीय पाठ्यक्रम लागू गरेका छौं । कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक लागू भइसकेको छ । अब आगामी वर्षदेखि ८ कक्षासम्म स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक लागू हुन्छ ।’ अध्यक्ष मल्लले भने । अपाङ्ग, महिला, एकल महिलालगायत लक्षित गर्दै तालिम लगायत आत्मनिर्भर हुने तालिम दिइरहेको पनि उनले सुनाए । व्यावसायिक कृषि कर्म गर्नेहरुलाई कृषि ऋणमा ब्याज अनुदानदेखि विभिन्न अनुदान र तालिमहरु दिने गरिएको छ । कृषि र पशुमा प्रविधि हस्तान्तरण पनि प्रसस्तै गरिएको छ ।
यो वर्षको अन्तिमसम्म ९ वटै वडामा विद्युत् सेवा पनि पु¥याइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए । ‘स्मार्ट गाउँपालिका बनाउन सर्वेक्षण गरिरहेका छौं । खाद्य सुरक्षा नीति पनि बनाएका छौं । खाद्य सुरक्षा कार्यक्रम बनाएर लागू गर्दैछौं ।’ प्रशासकीय अधिकृत गर्तौलाले भने ।
चेपाङ संग्राहालयको भवन निर्माण पनि भइरहेको छ । चेपाङको संस्कृति झल्कने गरी होमस्टे पनि सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
स्थानीय वन ऐन, २०७८, वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, गाउँपालिकाको सहकारी ऐन, स्थानीय शिक्षा ऐनलगायतका महत्वपूर्ण ऐनसहित गाउँपालिकाले हालसम्म ७० वटा ऐन, नियमावली, निर्देशिका र कार्यविधि निर्माण गरी कार्यान्वयन गरेको गाउँपालिकाका सूचना अधिकृत अन्जन भेटवालले बताए ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ मा ५४ करोड ७२ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । चालूतर्फ २८ करोड ८४ लाख रुपैयाँ अर्थात ५२.७० प्रतिशत र पूँजीगत २५ करोड ८८ लाख रुपैयाँ अर्थात ४७.३० प्रतिशत विनियोजन गरिएको छ । आन्तरिक राजश्व संकलनको अनुमान ४ करोड ८३ लाख रुपैयाँ रहेको छ
चालु आर्थिक वर्षमा स्वास्थ्य पूर्वाधार निर्माण, सडक पूर्वाधार निर्माण र स्तरीकरण, प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण र गरिबी र भोकमरी अन्त्य गर्नको लागि विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्ने नीति गाउँपालिकाले लिएको छ ।
टोलटोलमा रहेका परम्परागत खानेपानीका स्रोतहरुलाई एकिकृत गरी हरेक घरधुरीमा खानेपानीको सुविधा पु¥याउन खानेपानी वितरण प्रणालीको विस्तृत सर्भेक्षण गरी शहरोन्मुख क्षेत्रहरुमा “एक घर एक धारा” को अवधारणा कार्यान्वयन गरिने जनाइउको छ । विपन्न चेपाङ तामाङलगायत दलित समुदायलाई खाद्य तथा पोषणमा पहुँच सुनिश्चित गर्न खाद्य तथा पोषण सुरक्षा योजना ल्याउनुका साथै स्थानीय कृषि उत्पादनलाई संरक्षण एवं प्रवद्र्धन गर्न गाउँपालिका स्तरमा एक खाद्य सुरक्षा बैंक सञ्चालन गर्ने अवधारणा ल्याइएको छ ।
गर्भवती तथा सुत्केरी आमाको पोषण अवस्थाको लेखाजोखा, नियमन, कुपोषण उपचार लगायत मातृ शिशु सुरक्षाको लागि पोषण प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने तथा चट्याङ्ग प्रभावित क्षेत्रमा चट्याङ्ग न्यूनीकरणको लागि सम्भाव्यता अध्ययन गरी आवश्यक उपकरणहरु जडान गर्न पहल गर्ने पनि नीति लिइएको छ । विपद्को देष्टिकोणले जोखिमयुक्त खरको छाना भएका घरको खरको छानोलाई प्रतिस्थापन गर्ने कार्यक्रम पनि गाउँपालिकाले कार्यान्वयन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्