‘सम्पत्ति शुद्धीकरणका नाममा अनावश्यक झन्झट’ «

‘सम्पत्ति शुद्धीकरणका नाममा अनावश्यक झन्झट’

विराटनगर-सरकारले सम्पत्ति शुद्धीकरणका नाममा अनावश्यक झन्झट दिने गरेको पूर्वका उद्योगी व्यवसायीहरूले गुनासो पोखेका छन् ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणबारे विराटनगरमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरूले राज्यले बेला–बेलामा सम्पत्ति शुद्धीकरणका नाममा अनावश्यक दुःख र मानसिक तनाव दिने गरेको दुखेसो गरे ।
उद्योगी व्यवसायीहरूले सम्पत्ति शुद्धीकरणका नाममा अनावश्यक झन्झट दिन नहुने धारणा राखे । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले सम्पत्ति शुद्धीकरणलगायतका प्रावधानले उद्योगी व्यवसायी प्रताडित हुनुपरेको गुनासो पोखे । “कुनै व्यवसायमा लगानीको स्रोत खोज्ने, कुनैमा नखोज्ने प्रवृत्ति राम्रो भएन,” उनले भने, “सबैलाई समान किसिमको कानुनी व्यवस्था हुनुपर्छ ।”
नेपाल उद्योग परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले गलत गर्नेलाई दण्डित गर्नु जायज भए पनि गल्ती नै नगर्नेलाई पनि राज्यले अनावश्यक दुःख दिने गरेको बताए । उनले राज्यले निकायले गर्ने व्यवहारले कतिपय उद्योगी व्यवसायीहरू हतोत्साहित भएको टिप्पणी गरे ।
चार्टर एकाउण्टेन्ट अश्वीनी वंशलले सम्पत्ति शुद्धीकरणबाट बच्न स्रोत देखाउन कुन कागजात चाहिने भन्ने स्पष्ट व्यवस्था हुनुपर्ने धारणा राखे । उनले स्रोत स्पष्ट पार्ने विषयका अझै पनि अन्योल रहेको बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले सम्पत्तिको स्रोत स्पष्ट नपारे त्यो स्रोतबाट कमाएको सम्पत्ति पनि सम्पत्ति शुद्धीकरण विभागले जफत गर्ने स्पष्ट पारे । उनले भने, “जुनसुकै स्रोतबाट प्राप्त भएको सम्पत्ति भए पनि सम्पत्ति प्राप्तिको स्रोत आफैंले प्रमाणका रुपमा राख्नुपर्छ, नत्र सम्पत्ति शुद्धीकरण विभागले जफत गर्छ ।”
कार्यक्रममा मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजू, पवनकुमार सारडा, उद्योगी विपिन काबरा, राकेश सुरानालगायतले सम्पत्ति शुद्धीकरणका प्रावधानले पारेको समस्याका बारेमा धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्