Logo

नक्कली नोटको कारोबारले निम्त्याएको समस्या

नेपालमा अन्य समयको तुलनामा चाडपर्वको समयमा नक्कली नोटको कारोबार ज्यादा सक्रिय बन्ने गरेको छ । यस्तो कार्यमा नेपाली र विदेशी नागरिकको नै सक्रियता रहेको पाइएको छ । नक्कली नोटको विषयमा ज्ञानको कमी भएकै कारण यस्तो कार्य नेपालमा फैलँदै गएको अनुसन्धानकर्ताहरू बताउँछन् ।
विशेष गरी चाडपर्वको समयमा भीडभाडमा व्यापार हुने गरेकाले यस्तो समयमा नक्कली नोटको कारोबार बढ्न गएको देखिन्छ । त्यसैले नेपालमा नक्कली नोटको कारोबार बढ्नुको मुख्य कारण भीडभाडमा हुने कारोबार बनेको छ । भीडभाडको समयमा नोटलाई राम्ररी नहेर्ने भएकाले यस्तो कार्यमा संलग्न व्यक्तिहरूले नक्कली नोट राखेर कारोबार गरेका कैयौं घटनाहरू पनि छन् । बेला–बेलामा यस्ता कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरे पनि आजसम्म नेपालमा नक्कली नोटको कारोबार अन्त्य हुन सकेको छैन ।
नेपाली नोटमात्रै नभएर नेपालमा विदेशी मुद्राको पनि नक्कली नोट भेटिएको छ । हालसम्म नेपालमा प्रहरीले भारतीय र अमेरिकी डलरसमेतको नक्कली नोट फेला पारेको छ । यसरी विदेशी मुद्राको नक्कली नोट बनाएर बढी कारोबार अन्य देशको तुलनामा नेपालमा बढी हुने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा १३ करोडभन्दा बढी नक्कली नोट फेला परेको छ । यसले नेपालमा जुनसुकै समयमा पनि नक्कली नोटको कारोबार भइरहेको कुरालाई पुष्टि गर्छ ।
नक्कली नोटहरूमा १ सय, ५ सय र १ हजार दरका नोटहरू भेटिएको छ । यीमध्ये धेरैजसो हजार र ५ सय दरका नक्कली नोटहरू बढी भेटिएको पाइन्छ । यस्ता नोटहरू बजार र विभिन्न बैंक हुँदै नेपाल राष्ट्र बैंकसम्म पुग्ने गरेका घटना पनि छन् । अनलाइन कारोबारको कमी र सर्वसाधारणमा नोट चेतनाको कमीकै कारण नेपालमा नक्कली नोटको कारोबार बढ्न गएको हो ।
सक्कली र नक्कली नोट पहिचान गर्ने माध्यम यही हो कि सक्कली नोटको कागज खस्रो र कडा हुन्छ भने नक्कली नोटको कागज चिप्लो र लुलो हुन्छ । सक्कली नोटमा टल्कने धागोमाथि अक्षर परेको हुन्छ भने नक्कली नोटमा टल्कने धागोपछि अक्षरलाई लेपको रूपमा मात्र राखिएको हुन्छ । त्यसैले यस्ता कुरामा नागरिक सधैं सचेत बन्नुपर्छ ।
नक्कली नोटको कारोबारलाई रोक्न नागरिकलाई नोट पहिचान गर्न सक्ने बनाउन विभिन्न चेतनामूलक सामग्री बनाउने र यस्ता सामग्री प्रचार गर्नमा बैंकको सक्रियता आवश्यक छ । त्यसैगरी सरकार र नागरिकले नोटको कारोबारलाई भन्दा अनलाइन र कार्डको माध्यमबाट हुने कारोबारलाई बढाउन सकेमा नक्कली नोटको कारोबार घट्नुका साथै मुद्रामा हुने क्षतिलाई रोग्न सकिन्छ । नक्कली नोटको ठगीबाट बच्न सकिन्छ ।
—सुजन पौडेल

प्रतिक्रिया दिनुहोस्