बाढीले विद्यालय बगाएपछि बझाङमा खुला चौरमा पढाइ «

बाढीले विद्यालय बगाएपछि बझाङमा खुला चौरमा पढाइ

बेमौसमी वर्षासँगै जडारीगाड खोलामा आएको बाढीले खप्तडछान्ना गाउँपालिकामा १ खाती गाउँमा रहेको जगदम्वा आधारभूत विद्यालय बगायो । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीले विद्यालयमा पूर्ण क्षति गरेको छ । विद्यालयका तीनवटा पक्कीभवन, शौचालय र खेलमैदान पूरै बगाएर नामोनिसान छैन । भवन बगाएपछि जगदम्वा आधारभुत विद्यालयका विध्यार्थीहरू खुला चौरमा बसेर पढ्न बाध्य भएका छन ।
विद्यालयमा रहेको तीनवटा भवनका आठ कोठाका साथै शौचालय पनि बगाएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक लालबहादुर खत्रीले बताए । उनले भने, ‘बाढीले पूरै विद्यालय बगायो । लामो समयसम्म कोरोना माहामारीले पढाइ हुन सकेको थिएन । हामी पढाइलाई प्रभावकारी बनाउने उदेश्यले दसंै–तिहारमा पनि धेरै बिदा दिइएन । विद्यालय बगाएपछि अहिले विद्यार्थीहरू खुला चौरमा राखेर पढाउनु पर्ने बाध्यता छ ।
बस्नका लागि फर्निचर पनि छैन । अब यस्तो बेलामा कसरी पढाइ गर्ने । विद्यालय भवन निमार्णका लागी पहल गरेको भएपनि कसैले सुन्दैनन ।’ भवन बगाएपछि पठन–पाठन प्रभावित हुने भएपछि अस्थायी टहरा बनाएर पठन–पाठनमा सहजता ल्याउन विभिन्न निकायमा पहल गरेको भए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा १६० जना विद्यार्थी अध्ययनरत छन् ।

जयपृथ्वी नगरपालिका–१ कैलाशमा रहेको बेताल आधारभुत प्राथमिक विद्यालयको पनि उस्तै समस्या छ । जमिन भाँसिएर विद्यालयका दुईवटा भवन भत्किएपछि पढाइ प्रभावित भएको छ । कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा १ सय ७४ जना विध्यार्थिहरू अध्यन गर्दै आएका छन् । भवन भत्किएपछि विध्यालय नजिकैका खेतमा राखेर पढाउने गरेको विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले बताए ।
उनले भने ‘विध्यालय भवनमा पूर्णरूपमा क्षति पुगेपछि पढाइ प्रभावित भएको छ । पढाइ बन्द गरौं भने पनि भएन । कोरोना माहामारीको समयमा पनि सबैभन्दा बढी प्रभावित भएको शैक्षिक क्षेत्र हो । बैकल्पिक पढाई गर्नका लागि अस्थायी टहरा बनाउने सोच थियो । वडा कार्यालय नगरपालिका सबै तिर पहल गरे कतैबाट सुनुवाइ भएन । बाहिर बस्दा हावा लाग्ने र चिसो हुने हुँदा विद्यार्थीहरू पनि बस्न मान्दैनन ।‘ विद्यालयमा भएको बालमैत्री धारा, दुईवटा शौचालयमा पनि पूर्णरूरुपमा क्षति भएको छ । वडा कार्यालयले यो आर्थिक वर्षको बजेट विनियोजन गरिसकेकाले अस्थायी टहरा निमार्णका लागी बजेटको व्यवस्था गर्न नसकिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्षसमेत रहेका वडा अध्यक्ष गगनबहादुर सिंहले बताए । विद्यालयका सबै संरचना भत्किएकाले नयाँ संरचना निर्माण गर्दा ठूलो बजेटको आवश्यक रहेको छ । विद्यालयको जमिन पनि भासिएकाले विद्यालय नै अन्यत्र सर्नुपर्ने उनको भनाइ छ ।
घाम लागेका बेला विद्यालयमा नियमित पढाइ हुने भए पनि घाम अस्ताएपछि भने चिसो हुने भएका कारण विद्यार्थी बाहिर बस्न नमान्ने शिक्षकहरूको भनाइ छ । बेमौसमी वर्षासँगै आएको बाढी र पहिरोले जिल्ला भरी ६५ वटा विद्यालयमा आशिंक रूपमा क्षेती भएकोे सामाजिक विकास कार्यालय बझाङका प्रमुख वीरबहादुर धामीले बताए । उनले भने जिल्लामा २ वटा विद्यालय पूर्णरूपमा क्षति भई नयाँ संरचना बनाउनुपर्ने भएको छ । कतिपय विद्यालयमा खेलमैदान बगाएको छ ।
कतिपय विद्यालयमा माथीबाट पहिरो आई विद्यालयको छानो, झ्याल ढोकामा क्षति भएको छ । जमिन भाँसिएर कतिपय विद्यालयका भवन चर्किएर जोखिममा छन । विद्यालयको मर्मत नगरी पठनपाठन गर्न सहज छैन ।’ क्षेतीको आकलन गर्दा शैक्षिक क्षेत्रका भौतिक संरचनाहरूमा मात्र १० करोड ८१ लाख बराबरको क्षति भएको छ । सुदूरपश्चि प्रदेश सरकारलगायत सरोकारवाला निकायमा क्षेतीको विवरण पठाइसकेको धामीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्