मुगु आगलागी हुँदा ३५ करोड क्षति, ८० परिवार विस्थापित «

मुगु आगलागी हुँदा ३५ करोड क्षति, ८० परिवार विस्थापित

मुगुको गमगढीमा सोमबार राति भीषण आगलागी हुँदा ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति हुनुका साथै ८० परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२१ परिवारको २१ करोड २५ लाख तथा होटल, पसल र भाडामा बस्ने व्यक्तिसहितको १२ करोड ३० लाख गरी ३५ करोड ५५ लाख बराबरको सम्पत्ति पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चित्र भट्टराईले जानकारी दिए ।
साथै भाडामा बस्दै आएका ८० परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्थापित परिवारकै निवेदनका आधारमा क्षतिको विवरण यकिन गरिएको प्रहरीको भनाइ छ ।
घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा भूमि तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीसहित ७ सदस्यीय प्रदेश सरकारको टोलीले राहत समग्री ल्याएर गमगढीको आगलागी स्थान निरीक्षण गरेको थियो ।
मुख्यमन्त्री शाहीले आगलागी पीडित परिवारलाई प्रदेश सरकारले तत्काल गास, बास र पुनर्वासको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ’स्थानीय प्रदेश संघ सरकार छ । तपाइँलाई दुःख कष्ट गरी बस्न दिने छैनौं,’ मुख्यमन्त्री शाहीले भने ।
मुख्यमन्त्रले मानवीय क्षति नहुनुमा पनि केही सकारात्मक पक्ष रहेको भन्दै धैर्य रहन आश्वासन दिएका थिए । मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयले घर जलेका परिवारलाई १५ हजार नगद, ३ वटा कम्मल र भाडामा बस्ने परिवारलाई १० हजार नगदसहित ३ कम्मल राहत वितरण सुरु गरेको छ । यस्तै नेपाल रेडक्रस सोसाइटी मुगु शाखाले पीडित परिवारलाई कम्मल, पाल, भाँडाकुडा लगायत सामग्री उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्