नम्बर पोर्टेबिलिटीको प्रक्रिया सुरु «

नम्बर पोर्टेबिलिटीको प्रक्रिया सुरु

ग्राहकले एउटा मोबाइल नम्बर लिएपछि आफूलाई चित्त बुझेको जुनसुकै सेवाप्रदायकको सेवामा स्वीच हुन सक्ने अवस्था नै नम्बर पोर्टेबिलिटी हो ।


नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवामा प्रतिस्पर्धा ल्याउन ‘नम्बर पोर्टेबिलिटी’ सिस्टम लागु गर्ने भएको छ । प्राधिरकणले ‘नम्बर पोर्टेबिलिटी सम्बन्धी नियमावली २०७८’ को मस्यौदा तयार गरी सुझावका लागि सरोकारवाला पक्षसमक्ष पठाएको छ । यसअघि प्राधिकरणले आन्तरिक परामर्शदाताबाट अध्ययन गराएकोमा सो प्रतिविदेनले प्रतिस्पर्धी बजार र सेवाको गुणस्तरमा सेवाप्रदायक नजिक रहेको अवस्थामा यो प्रणाली लागु गर्न सकिने देखाएको थियो । नेपालको दूरसञ्चार बजारमा नेपाल टेलिकम र एनसेलबीच चर्काे प्रतिस्पर्धा भए पनि अन्य सेवा प्रदायक कम्पनी भने निकै पछाडि छन् ।
ग्राहकले एउटा मोबाइल नम्बर लिएपछि आफूलाई चित्त बुझेको जुनसुकै सेवा प्रदायकको सेवामा स्वीच हुन सक्ने अवस्था नै नम्बर पोर्टेबिलिटी हो । यसरी स्वीच हुँदा कम शुल्कमा गुणस्तरीय सेवा दिने सेवाप्रदायकको नेटवर्क ट्राफिक उच्च हुन्छ भने न्युनगुणस्तर तथा महँगो सेवा प्रदायकबाट ग्राहकहरु स्वतः बाहिरिन्छन् । ग्राहक आकर्षण बढाउन पनि सेवा प्रदायकलाई गुणस्तरीय सेवा दिन र प्रतिस्पर्धामा सस्तो महसुल निर्धारण गर्न नम्बर पोर्टेबिलिटी सिस्टमले दबाब दिनेछ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नम्बर पोर्टेबिलिटी लागु गर्न प्रक्रिया अगाडि बढिसकेको भन्दै सरोकारवाला पक्षबाट रायसुझाव आएपछि निर्देशिकालाई अन्तिम रुप दिने बताए । उनका अनुसार यो सिस्टम लागु गर्नुको मुख्य उद्देश्य नै सेवाको गुणस्तर बढाउने र कम शुल्कमा ग्राहकलाई सेवा दिने हो ।
प्रस्तावित निर्देशिकाको मस्यौदा अनुसार आफ्नो नम्बर अर्को सेवामा परिवर्तन गर्न चाहाने ग्राहकले उक्त सेवा प्रदायकको नेटवर्कमा ९० दिनभन्दा धेरै उक्त मोबाइल नम्बर सक्रियतापूर्वक चलाएको भने हुनुपर्ने शर्त छ । त्यसैगरी सेवा सञ्चालन गरिरहेको सेवा प्रदायकसँग कुनै पनि दायित्व रहेको रहेको हुनु हुँदैन । सेवाप्रदायकले उक्त नम्बर ब्लक गरेको वा कुनै सेवा रोक नलगाएको हुनुपर्छ । यसका साथै अदालतबाट मोबाइल नम्बर पोर्टिङ गर्न रोक नलगाएको हुनुपर्छ ।
प्राधिकरणले आधा दशक अगाडिदेखि नै दूरसञ्चारको पहुँच शत ्रतिशत जनतामा पुगेपछि नम्बर पोर्टेबिलिटि लागु गर्ने तयारी गरेको थियो । तत्कालिन समयमा नेपाल टेलिकम एनसेल, युटिएल, स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट, हेलो नेपाल जस्ता कम्पनी ग्राहक विस्तारको क्रममा थिए । अहिले तीमध्ये टेलिकम र एनसेल प्रतिस्पर्धामा छन् भने स्मार्ट सुस्त गतिमा छ । अन्य कम्पनीहरु लाइसेन्स मात्रै होल्ड गरेका छन् । प्राधिकरणले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर नम्बर पोर्टेबिलिटी लागु गर्न निर्देशिकाको मस्यौदा तयार गरेको छ ।
सामान्यतया शतप्रतिशतको हाराहारीमा ग्राहक भइसकेपछि नम्बर पोर्टेबिलिटी सम्बन्धमा नियामक निकायले चासो राख्छन् । विकसित देशमा धेरै अगाडिदेखि यो सिस्टम लागु भइसकेको अवस्थामा छिमेकी मुलुक भारतमा पनि यस्तो सुविधा छ । नम्बर पोर्टेबिलिटी सिस्टम धेरै अपरेटर र धेरै ग्राहक भएका देशका लागि बढी उपयुक्त हुन्छ ।
सेवाको गुणस्तर, पहुँच र शुल्कका आधारमा ग्राहकले एउटै नम्बरबाट सेवा छनोट गर्न सक्छन् । नेपालमा विभिन्न सेवा प्रदायकका गरी ४ करोड भन्दा धेरै भ्वाइस सेवाका ग्राहक छन् । नेपाल टेलिकमका २ करोड १९ लाख, एनसेलका १ करोड ६४ लाख र स्मार्ट टेलिकमका २३ लाख ग्राहक छन् । नम्बर पोर्टेबिलिटी लागु हुँदा यी ग्राहकले आफूखुसी सेवा छनोट गर्न सक्नेछन् । ग्राहकले भने चाहे अनुसार सेवा रोज्न पाउने भएकोले दोहोरो मोबाइल बोक्नुपर्दैन । नम्बर पोर्टेबिलिटीका लागि संख्यात्मक रुपमा पहुँच उपयुक्त भएपनि दूरसञ्चारमा अझै प्रतिस्पर्धाको वातावरण बन्नुपर्नेमा प्राधिकरण छ ।

प्रतिक्रिया दिनुहोस्