विद्युतीय सवारीको प्रयोग बढेको छ तर व्यवस्थापन गर्न भने बाँकी छ «

विद्युतीय सवारीको प्रयोग बढेको छ तर व्यवस्थापन गर्न भने बाँकी छ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १७ औं अध्यक्षमा दुई वर्ष अघि कृष्णप्रसाद दुलाल निर्वाचित भएका थिए । १० वर्ष कार्यसमितिमा रहेर काम गरिसकेका दुलालले दुई वर्ष नाडाको नेतृत्व सम्हालिसकेका छन् । उनीसामु सरकारले अटोमोबाइल्सलाई संकुचित बनाइरहेका बेला बजार विस्तार गरेर नाडालाई नयाँ उचाइमा लानुपर्ने चुनौती थियो, तर यो चुनौती पार गर्दै पछिल्लो समया अटोमोबाइल व्यवसायलाई विस्तार गरेको उनी दाबी गछन् । कोभिड–१९ का कारण रोकिएको अटोबजार पछिल्लो समय क्रमशः विस्तार हुने क्रममा रहेको र विगतको भन्दा विस्तार भएको उनको जिकिर छ । पूर्वाञ्चल ल्युब आयल, एसटीसी गु्रप, कोल उद्योग, होटल तथा टायर स्पेयर पार्ट्सको व्यापार–व्यवसाय गरिरहेका दुलाल १९ वर्षदेखि अटोमोबाइल व्यवसायमा सक्रिय छन् । नाडाको दुई वर्ष नेतृत्व गरेर विदा हुने चरणमा रहेका दुलालसँग उनले कार्य समितिमा हालसम्म गरेका कार्यसम्पादन र अटोमोबाइलको भविष्यलगायतमा केन्द्रित रहेर कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानीको सार :

तपाईं अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १७ औं अध्यक्षमा निर्वाचित हुनुभएको थियो, दुई वर्ष कार्यकाल पूरा हुँदै छ । यो अवधिको समीक्षा कसरी गर्नुहुन्छ ?
नेपालभरिका सबै अटोमोबाइल व्यवसायीहरूलाई समेटर लानुपर्छ भन्ने लक्ष्य लिएको थिएँ, सोहीअनुरूप मैले मेरो कार्यकालमा सातओटा प्रदेशमा प्रदेशस्तरीय संस्थाको स्थापना गर्न सफल भएँ । यसरी सबै साधारणसभा गरेर प्रदेशसभाका सदस्यहरूलाई पनि केन्द्रको कार्यसमितिमा प्रतिनिधित्व गराउने वातावरण बनाएको छु । यसका लागि मेरो कार्यकालमा विधान संशोधन गरेर काम अगाडि बढाएको थिएँ । यसले गर्दा संस्थाको चाम र गरिमा देशभरि नै बढेर गएको अवस्था छ । अटोमोबाइलका लागि सरकारसँग नीतिगत सुधार गर्नका लागि गरेको पहलमा पनि सरकारले सहजीकरण गरेको अवस्था छ । अर्थमन्त्रालय, भन्सार विभाग, यातायात व्यवस्था विभाग मातहतमा हामीले नाडाको व्यावसायिक हकहितका लागि जोडदार माग राख्दै आएका थियौं । नीतिगत सुधार र व्यावसायिक पहलकदमीका लागि मूलतः काम गर्दै आएका थियौँ । व्यवसायलाई सधैं चुस्तदुरुस्त राख्नका लागि सरकार परिवर्तन भएसँगै हुने नीतिगत परिवर्तनलाई रोक्नुपर्छ भने दीर्घकालीन अटोमोबाइलका योजना अगाडि सार्नु आजको आवश्यकता हो र हामीले यसका लागि सरोकारवाला निकायसँग पहल गर्दै आएका छांै । अटोमोबाइलको बजार विस्तार भए पनि पूर्वाधारको भने विस्तार हुन नसकेको अवस्था छ । पूर्वाधारका कारण सरकारले पछिल्लो समय अटोमोबाइललाई खुम्च्याउने नीति लिएको छ । प्रत्येक वर्ष कर वृद्धि गर्दै लगेको छ ।

सरकारले अटोमोबाइल क्षेत्रलाई खुम्च्याउने नीति लिएको हो ?
सरकारले करको मात्रा बढाएको छ । बढाएको कर हामीले जनताबाटै असुलउपर गर्ने हो । हामीले त उठाउने मात्र हो सरकारलाई सहजीकरण गर्न । जति कर लगाए पनि जनतालाई नै लगाउने हो । जनतालाई सवारी खरिद गर्न नसक्ने बनाउने र सवारीमा जनताको पहँुच नपु¥याउने जस्ता विषय सोच्नु हुँदैन । सरकारले आमसर्वसाधारणमा सार्वजनिक सवारीकोे पहुँच विस्तार गर्नुपर्छ । सबैको सहज उपलब्धतामा ध्यान दिनुपर्छ । सार्वजनिक सवारी नभएका ठाउँमा निजी सवारी प्रयोग गर्ने वातावरण पनि सरकारले बनाउनुपर्छ । हाल भएका सडक सबै भरिसकेका छन् । नयाँ बाटो नबनेका कारण सवारीको वृद्धि रोक्न र चेक एन्ड ब्यालेन्स गर्न पनि सरकारले बढी कर लगाएको हो । सरकारले चाहेर पनि कर्मचारी प्रशासनको गतिमा विकास गर्न सकेको छैन । सोही कारणले पनि विकास खर्च नभएको हुनुपर्छ । ठेक्का दिनु मात्र विकास होइन, काम पूरा गर्नुचाहिँ विकास हो । यसलाई मध्यनजर गर्दै हामी स्वच्छ, पारदर्शी व्यवसाय सञ्चालन गर्छौं । सरकारलाई पनि हामी चाहेको सहयोग गर्छौं, सरकारले पनि व्यवसायलाई पूर्ण विश्वासको आँखाले हेर्नुपर्छ । व्यवसायीलाई पनि नीतिगत तहबाट सहजीकरण र प्रोत्साहन गर्ने वातावरण सरकारले बनाउनुपर्छ । हामीलाई सो वातावरण तयार पार्ने बाध्यकारी वातावरण तयार पार्न सुझाउँदै जाने संगठनको काम हो । सरकारले स्वच्छ नीति बनाइदेओस्, हामी त्यो नीतिमा चल्छौं । सरकारले बनाएको नीतिनियमलाई अँगाल्दै व्यवसाय सञ्चालन गर्दै जानेछौं । सहज व्यवसाय सञ्चालन गर्न र सहजीकरण गर्न सरकारसँग हाम्रो माग हो । यो मागलाई सरकारसम्म पु-याउने काम मेरो कार्यकालमा भएको छ ।
सरकारले पछिल्लो समय कर बढाउँदै गएको छ । यसले गर्दा आम जनमानसलाई भन्सारमा वृद्धि गरेर सवारी साधनको विस्तारलाई निस्तेज गर्ने नीति लिएको छ । सरकारले यस्तो नीति नसार्ने हो भने पूर्वाधार कम भएकाले गर्दा यसको विस्तारलाई थाम्न सक्ने अवस्था पनि थिएन । पछिल्लो समय सवारीको विस्तार भएको छ । कोभिड–१९ का कारण सुरक्षित यात्राका लागि र दैनिक जीवनयापन सञ्चालनका लागि पनि आमनेपालीले सवारी खरिद गरेको अवस्था छ । अटोमोबाइलको बजार पाँच वर्षदेखि घट्दो क्रममा थियो भने पछिल्लो समयमा बढेर गएको छ । आगामी वर्ष अझ बढेर गएको छ । कोभिड–१९ पछि बढेर गएको छ । हालको आयातलाई हेर्दा पनि आगामी दिनमा अझ बढेर जानेछ ।

विद्युतीय सवारी उपयोगिताका बारेमा हामीले उपभोक्तालाई जानकारी नगराएका कारण यसप्रतिको आकर्षण कम भएको हो ? सरकारले विद्युतीय सवारीमा प्रोत्साहन गर्दै लगेको छ, तर निजी क्षेत्रले आयातमा भने भनेजतिको प्रोत्साहन गरेको पाइँदैन नि ?
तथ्यांकका आधारमा हेर्दा, विश्वमा जनसंख्या र सवारी साधनको प्रयोगका आधारमा भन्ने हो भने बढी विद्युतीय सवारीको प्रयोग सबैभन्दा बढी प्रयोग भएको देश हो । यसरी हेर्दा विद्युतीय सवारीको प्रयोग बढेर गएको अवस्था छ । यसको प्रयोग बढेर गएको छ भने यसको व्यवस्थापन गर्न भने बाँकी छ । अटोमोबाइलको विस्तार हुनुपर्ने हो । भन्सार छोड्नेबित्तिकै भयंकर विद्युतीय सवारी आइरहेका छन् । कम्पनीहरूले सप्लाई नै गर्न सकेका छैनन् । पु-याउन सकेका छैनौँ । उपभोक्ताले भन्नेबित्तिकै पाइराखेका छैनन् । त्यो कुरा सरकारले गर्नु हुँदैन । तपाईंहरूले त्यो कुरा बुझाउनुपर्छ । विद्युतीय सवारी महँगो छ । सरकारले भन्सारमा छुट त दिएको छ, खरिद प्रक्रियामै महँगो भएकाले गर्दा पनि उपभोक्तालाई गा¥हो छ । संसारभर नै विद्युतीय सवारी जसरी आएको छ, सोहीअनुसार त्यसको प्रयोगमा आएको पाइएको छैन । पहिला आउने, तर व्यवस्थित भएको पाइएको छैन । ब्याट्रीको व्यवस्थापन, चार्जिङ स्टेसन नहुनु, सडक विद्युतीय सवारीमैत्री नहुनु, यी सबै कारणले गर्दा विद्युतीय सवारीको प्रयोग बढाउन सकिएको छैन । यदि विद्युतीय सवारीको प्रयोग बढाउन सकिएको खण्डमा देशको व्यापार घाटासमेत कम भएर जानेछ । नेपालमा ऊर्जाको पर्याप्त सम्भावना रहेका बेला ऊर्जाको खपत बढाएर पेट्रोल र डिजेलको आयातमा कमी ल्याउन सकिन्छ । बाहिरबाट विद्युतीय सवारी ल्याउनुभन्दा नेपालमै उत्पादन गर्नुपर्छ भन्नेमा हाम्रो जोड छ । यो वातावरण सरकारले बनाउनुपर्छ ।

अटोमोबाइल व्यवसायीहरूले मार्जिनभन्दा धेरै मूल्य राखेर ढाड सेकेको आरोप छ नि ?
त्यो होइन । सरकारले २० प्रतिशतको मार्जिन तोकेको छ । हामीले १० प्रतिशत मात्र खाएका छौँ । किनभने प्रतिस्पर्धाको बजार छ । व्यावसायिक स्वतन्त्रता छ भनिन्छ । २० प्रतिशतको मार्जिन नहुँदा पनि धेरै मार्जिन खाए भन्नु ठीक होइन । देख्दा धेरै मूल्य देखिए पनि नाफा १० प्रतिशत पनि हुँदैन । सरकारले ब्यालेन्स सिटबाट अध्ययन गरिरहेको छ ।

अहिले पनि अटोमोबाइल क्षेत्र अनुत्पादक क्षेत्र भन्ने धारणा छ, कि सरकारको धारणा परिवर्तन भएको पाउनुभएको छ ?
अहिले आवश्यकताको क्षेत्र भनेर बुझेको छु । उपभोक्ताहरूले पनि बुझिसकेका छन् । कोभिडको समयमा अस्पतालसम्म जान यातायातको साधन नपाएको अवस्था थियो । त्यो हालतले अगाडि बढेको कारणले अटोमोबाइल क्षेत्र अति जरुरी साधन हो । यसले उत्पादकत्व बढाउँछ भन्ने कुरा बुझिसकेको छु । पूर्वाधारको विकास नहुने, बाटो नबन्ने, सडक नबन्ने कारणले नै अप्ठ्यारो परेको हो भन्ने मलाई लाग्छ ।

सरकारले यो क्षेत्रलाई सहजीकरण गर्न बाँकी रहेको कुरा के हो ?
५० प्रतिशत डाउन पेमेन्ट हटाएर कममा पनि सवारी खरिद गर्ने नीति अगाडि सार्नुपर्छ । एसेम्बल उद्योगलाई नेपालमा नीतिगत रूपमा अगाडि बढाउनुपर्छ । यसको नीतिलाई परिवर्तन गर्न हुँदैन । नीतिगत रूपमा यसलाई अगाडि बढाउँदै लग्यो भने राम्रो हुन्छ । नीतिमा स्थायित्व नभए, उद्योग व्यवसायको विकास हुँदैन । नयाँ उद्योगहरू पनि खुल्दैनन् । टायर, ब्याट्री सबैको व्यवसायलाई सहजीकरण गर्नुपर्छ । ब्याज छुटमा पैसा उपलब्ध गराउनुपर्छ । सबै भयो भने सफल हुने हो । एउटा सरकारले एउटा, अर्कोले अर्को नीति ल्याए उद्योग फस्टाउन सक्दैन । अहिले पनि नाडाले उद्योगी, अटोमोबाइल व्यवसायी हकहितका लागि गर्नुपर्ने काम भने यथावत् नै छ, जुन निरन्तर जारी छ । मेरो कार्यकालमा व्यवसायलाई व्यावसायिक बनाउन र सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायसँग छलफल गरेर जनचेतना अभिवृद्धि गर्नेलगायतका कार्यक्रम चलाएँ । साथै साना तथा ठूला व्यवसायीहरूलाई स्वच्छ फेयर ट्रेडमा कसरी सहभागी गराउने भन्नेबारेमा अवधारणासहित अगाडि बढाएको छु । हाल अटोमोबाइल सबैभन्दा बढी फेयर ट्रेड गर्ने व्यवसायका रूपमा रहेको छ । यसका लागि स्वच्छ प्रशासन, स्वच्छ व्यवसाय हुनुपर्छ । व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक ज्ञान, सीप, तालिम दिएर तथ्य–तथ्यांकसहितको व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गरी नयाँ अवधारणा विकासमा मेरो कार्यकालमा काम भएका छन् ।

सरकार परिवर्तन भएपछि सेगमेन्टेसन फरक–फरक हुँदै आएको छ । एसेम्बल गर्ने उद्योगलाई फाइदा छ । आयात गर्ने उद्योगलाई भने मार परेको व्यवसायीहरूले बताउँदै आएका छन् । हामीले सरकारलाई स्थिरको नीतिलाई लबिङ गर्ने नसकेको हो ?
उद्योगलाई फाइदा हुने कुरा गर्दा नीति परिवर्तन गर्न मिल्दैन । उद्योगलाई प्रोत्साहन दिइरहेको अवस्थामा केही व्यवसायलाई घाटा पर्छ, केही व्यवसायलाई काम गर्दा महँगो पर्छ भनेर हुँदैन । देशलाई हेर्नुप-यो पहिला । अहिले उद्योग नभएकालाई दुई वर्ष नाफा नहोला । कम नाफा होला ।
सरकारले उद्योगलाई प्राथमिकता दिएको कुरा राम्रो हो । त्यसलाई विरोध गर्नु हुँदैन । अरू पनि उद्योग खोल्नुपर्छ । आयातकर्ताहरूले उद्योग पनि दर्ता गरिसकेका छन् । काम अगाडि बढेको छ । यसलाई स्वागतयोग्य नै मान्नुपर्छ । आफ्नो फाइदा छैन भने राम्रो कुरालाई पनि विरोध गर्ने कुरा गर्नु हुँदैन जस्तो लाग्छ ।

नाडाको नयाँ पुस्तालाई उद्यमी बनाउनका लागि भएका नीतिगत परिवर्तनहरू केके हुन् ?
व्यवसायहरू व्यवस्थित हुँदै छन् । तालिम गराएका छौँ । प्रशिक्षण गराएका छौँ । सातवटै प्रदेशमा काम भइरहेको छ । आफ्नो व्यवसायलाई कसरी सुरक्षित राख्न सकिन्छ र अगाडि बढाउन सकिन्छ भन्ने कुरा सिकाएका पनि छौँ । त्यो नै मुख्य कुरा हो । भन्सार र व्यवसायबीचको दूरी कम गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा नै व्यवसायीहरूलाई सिकाउँदै अगाडि बढेका छौँ ।

नाडाको ४५ औं साधारणसभाले कस्तो नयाँ कार्यसमितिको आशा गरेको छ र कस्ता पदाधिकारीको खाँचो छ ?
नेतृत्व प्रजातान्त्रिक पद्धतिमार्फत आउने हो । नाडामा काम गरेकै मानिसहरू आउनुहुन्छ । सचिवालय पनि बलियो अवस्थामा छ । नाडाले त्यसमा निरन्तर काम गरेकै हुन्छ । नाडाको काम व्यवसाय प्रवद्र्धन गर्नुका साथै सँगसँगै रोड सुरक्षा, अवेरनेस गराउने काम पनि हो । नाडाले त्यो काम पनि गरिरहेको हुन्छ । दुई–तीन पटक ट्राफिकलाई सम्मान गर्नेदेखि लिएर धेरै काम गर्छ, जसका कारणले नाडाले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरेको भन्ने बुझिन्छ । त्यो सबै गर्नका लागि सचिवालयले नै गर्ने गरी व्यवस्था मिलाएका छाँै । नेतृत्व जो आए पनि निरन्तरको प्रक्रियाअनुसार नै अगाडि बढ्ने, व्यवस्थापन बन्दै जाने हो ।
एउटा नाडाको पदाधिकारीमा आउनका लागि एक कार्यकाल पूरा गरिसकेको हुनुपर्छ । त्यसैले जो उम्मेदवार आए पनि प्रजातान्त्रिक प्रक्रियाबाट आउने हो । जिम्मेवारी पूरा गर्न सक्छ ।

नाडामा पछिल्लो समय राजनीति घुस्न थालेको हो ?
राजनीति प्रमुख नेचर हो । धेरै सदस्य भइसकेपछि केही चाहना हुनु धेरै ठूलो कुरा होइन । तर, प्रजातान्त्रिक प्रक्रियाबाट अगाडि बढ्नुपर्छ भन्ने हो । त्यसमा हामी विश्वस्त पनि छौं । पूर्ण स्वतन्त्र रूपबाट मैले मेरो पद हस्तान्तरण गर्ने कुरामा पनि म पूर्ण विश्वस्त छु ।

नाडाको साधारणसभाको तयारी र यसका सदस्य संख्याको व्यवस्थापन भएको हो ?
अहिले हाम्रो ३२ सय सदस्य छौँ । समग्र रूपमा व्यवसाय पनि राम्रो अवस्थामा छ । व्यवसाय प्रवद्र्धन गर्ने काम पनि भइरहेको छ । हामीले कार्यसमितिको बैठक गर्दै छौं । त्यसपछि प्रदेश ३ को साधारणसभा छ । त्यो सकेर पोखरामा अन्तक्र्रिया कार्यक्रम राखेका छौँ । त्यसपछि नारायणगढको साधारणसभामा लाग्छौँ । म नेतृत्वमा आउँदा अटोमोबाइलको बजार घट्दो क्रममा रहेको अवस्था थियो । अप्ठेरो अवस्थामा व्यवसाय चलिरहेका बेला म नेतृत्वमा आएको थिएँ । यो विषयमा गहन अध्ययन–अनुसन्धान गरेर समग्र अटोमोबाइल व्यवसायलाई नयाँ उचाइमा पु¥याई स्थायी व्यवसाय र अटोमोबाइल व्यवसाय विस्तार गरेर उकास्नुपर्ने मेरो सामु दायित्व थिए, जसमा म सफल भएको छु । बजार उकास्न र विस्तार गर्नका लागि अटोमोबाइल व्यवसायलाई स्थायित्व दिनुपर्नेमा मेरो ध्यान केन्द्रित भयो ।

प्रतिक्रिया दिनुहोस्