पर्वतको फलेवासका ९ वटा वडा कार्यालयका भवन निर्माण «

पर्वतको फलेवासका ९ वटा वडा कार्यालयका भवन निर्माण

पर्वत- संघीयता कार्यान्वयनपछि सञ्चालनमा आएका स्थानीय तहहरू अहिले पनि अधिकांश भाडाकै घरमा संचालनमा छन् । कतिपयले आफ्नै भवन निर्माण गरेका छन् भने कतिपयले जग्गा र आर्थिक अभाव देखाउँदै भाडाकै घरमा सञ्चालन भइरहेका बेला पर्वतको फलेवास नगरपालिकामा ९ वटा वडा कार्यालयका सुविधासम्पन्न भवन निर्माण भएका छन् ।
११ वटा वडामध्ये थप २ वटा वडाको भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम भैरहेको छ । ग्रामीण क्षेत्रमा रहेको यो नगरपालिका स्थापना हुँदा कार्यपालिका भवन र वडा कार्यालयहरू अधिकांस भाडा र केहि जीर्ण भवनमा संचालित थिए । तर, अहिले सबैजसो कार्यालयहरू सरकारी संरचनावाटै सञ्चालनमा आएको नगरप्रमुख पदमपाणी शर्माले बताए । आफ्नो कार्याकालमा प्रमुख प्रशासकीय भवन र वडा कार्यालयहरू आफ्नै भवनमा सञ्चालन गर्ने लक्ष्यअनुसार अब २ वटा वडा कार्यालयको भवन शिलन्यास गर्न बाँकी रहेको उनले बताए । स्थापना पछि दुई वर्ष भाडाको घरमा र दुई वर्ष फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालित प्रमुख प्रशासकिय भवन समेत गत महिनादेखि निर्माण सुरु गरिएको छ । भवन १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ । नगरपालिकाको वडा नं. ९ भंगराको नवनिर्मित वडा कार्यालय भवन हालै सम्पन्न भएको छ । यो सँगै वडा नं. १, ४ र ६ को भवन पुर्ण रुपमा सञ्चालन भएर वडा कार्यालयसमेत सञ्चालन भइरहेको छ भने वडा नं. २, ३, ८, १० र ११ को कार्यालय भवन निर्माणाधीन रहेका छन् । चालू आर्थिक वर्षभित्रै ती सबै भवन निर्माण सम्पन्न हुने नगरप्रमुख शर्माले जानकारी दिए ।
साँघुरो र भाडामा सञ्चालन हुँदै आएका वडा कार्यालयका आफ्नै भवन गुणस्तरीय भवन निर्माण भएपछि नागरिकलाई सेवा प्रवाहमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताए । सबैजसो कार्यालयहरू समयमै निर्माण कार्य सम्पन्न भएको सापकोटाले बताउनुभएको छ । वडा नं. ५ खानीगाउँ र वडा नं. ७ खानीगाउँको लागि जग्गा खोजी भइरहेको उनले बताए ।
यसैबीच निर्माण कार्य सम्पन्न भएको भँगराको कार्यालय अनुगमन गरिएको छ । वि.सं. २०७७ पौषबाट सुरु गरिएको भवन निर्माण कार्य हालै सम्पन्न भएको हो । वडाको केन्द्र काउलेमा निर्माण भएको भवनमा सभाहलसहित ४ वटा कोठा छन् । प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा १ करोड ५ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको वडा अध्यक्ष गंगाधर शर्माले जानकारी दिए । भवन निर्माण सम्पन्न भएपनि कार्यालयको व्यवस्थापन गरेर उद्घाटन पछि नवनिर्मित भवनबाट कार्य शुभारम्भ गरिने उनले बताए ।
वडा कार्यालय भवन निर्माणका लागि स्थानीय मनबहादुर पौडेल क्षेत्रीले निःशुल्क २ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो भने थप १ रोपनी जग्गा पास हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्