ओझेलमा चक्रपाणी चालिसे जयन्ती «

ओझेलमा चक्रपाणी चालिसे जयन्ती

समयको क्रममा नेपाली साहित्यका एक प्रभावशाली नक्षत्र चक्रपाणी चालिसेको जन्मजयन्ती ओझेलमा परेको छ । कुनै बेला ज्यादै प्रभावकारी लेखक चालिसेको हिजोआज त्यति चर्चा चलेको पाइन्न भने साहित्यिक वृत्तमा पनि खासै चर्चा भएको पाइन्न । कात्तिक २१ गते उनको जन्मदिन भए पनि उनको जन्मजयन्तीको खबर समाचार बनेन । किन कालजयी स्रष्टाको जन्मजयन्तीप्रति सबैको सन्नाटा छाएको ? यो प्रश्न अनुत्तरित बनेको छ ।
१९४० साल कार्तिक शुक्ल त्रयोदशीका दिन भक्तपुरको कटुञ्जे गाउँमा डिट्ठा प्रेमलालकी साहिँली धर्मपत्नी चन्द्रमायाको गर्भबाट उनको जन्म भएको थियो । केटाकेटी उमेरदेखि नै तीक्ष्ण दिमाग भएका चालिसेले साहित्यिक जीवनलाई सन्तोषजनक रूपमा अगाडि बढाउन पाएनन् । बिहान–बेलुका हातमुख जोर्न धौधौ परेपछि उनले ट्युसन पढाउने काम पनि गरेका थिए । आफ्नो बाल्यकाल र यौवनकालमा अभाव, पीडा, दुःख र गरिबीले उनलाई सधैँ चिमोटी नै रह्यो । तर पनि उनले नेपाली भाषा र साहित्यको सेवा गर्न चुकेनन् । यिनका थुप्रै चेला थिए, जसमध्ये नेपाल भाषाका प्रमुख कवि सिद्धिदास अमात्य पनि मुख्य मानिन्छन् ।
चालिसेले व्याकरणमा मध्यमा र साहित्यतीर्थ उत्तीर्ण गरेका थिए । उनले काशीबाट निस्कने पत्रिका सुन्दरीको सहायक सम्पादक भएर समेत काम गरेका थिए । वि.सं. १९९२ तिर उद्योग पत्रिकाको सम्पादन गरेका चालिसेले वि.सं. १९७० देखि २८ वर्षसम्म गोरखाभाषा प्रकाशिनी समितिमा रहेर काम गरेका थिए । वि.सं. १९८० देखि १९९० सम्म गोरखापत्रमा काम गरेका कवि चक्रपाणी चालिसेको पहिलो कविता १९५७ मा प्रकाशित कल्पतरु हो । उनको पहिलो रचनाचाहिँ शोकतरङ्गणी हो । उनी पञ्चायतकालीन राष्ट्रिय गान श्रीमान् गम्भीर नेपालीका रचयिता पनि हुन् । नेपालका गद्यशिरोमणि उपनामले चिनिने चक्रपाणीका थुप्रै साहित्यिक कृति प्रकाशित भएका छन् । यिनका गद्यकृतिहरूमा गोरखा संक्षिप्त रामायण (१९७२), नेपाली संक्षिप्त महाभारत (१९७५), जैमिनीय भारत (१९७८) साहित्य मीमांसा (२०२०) आदि छन् ।
त्यस्तै उनका पद्य रचनाहरूमा मच्छिन्द्रनाथको कथा (१९६२), स्तोत्रावली भाग १ र २ (१९७८), भगवती भोला भजनमाला (२००१), गाईआमाको करुण क्रन्दन (२०१३), चक्रकविता तरङ्गिणी (२०१५), आत्मपरिचय (२०३९) र विविध फुटकर कविता रहेका छन् । यसैगरी उनका नेपाली बगलीकोश (१९९८), नेपाली पर्यायवाची कोश (१९९९) र हितैषी नेपाली शब्दकोशजस्ता शब्दकोश पनि प्रकाशित छन्, जसलाई नेपाली भाषाका दृष्टिले एउटा कोसेढुंगा नै मान्न सकिन्छ ।
उनीद्वारा लेखिएको पाठ्यपुस्तकमा गोरखा शिक्षा भाग १, २ र ३ (१९७२–१९७८), आरोग्य शिक्षा (१९७३), स्वास्थ्य शिक्षा (१९८०), प्रबन्ध शिक्षा भाग १ र २ (१९८२), पत्रबोध भाग १ र २ (१९८५), शिशुबोधिनी आदि छन् । त्यस्तै, उनका अनुवाद कृति पनि प्रकाशित छन् । जसमा नीतिरत्न मञ्जूषा (१९७३), मेघदूत छायानुवाद (१९९४), इशावास्योपनिषद् (१९९६), मनुस्मृति (२००३) र शाकुन्तला नाटक आदि रहेका छन् ।
दीर्घकालसम्म नेपाली भाषा र साहित्यको साधनामा अखण्ड रूपमा लागिपर्ने चालिसे १२ वर्षको उमेरमा शिक्षारम्भ गर्न तीनधारा पाठशालामा भर्ना भएका थिए । जहाँबाट उनले व्याकरण, वेदान्त र साहित्यको अध्ययन गर्न थालेका थिए । भानुभक्तको रामायणबाट प्रभावित चालिसेले काशीमा रहँदा सूक्तिसुधामा उनको पहिलो रचना छापिएको हो ।
चालिसेको छोरा लक्ष्मीनन्दन चालिसे त्रिचन्द्र कलेजमा पढ्थे र बीएको परीक्षामा राणालाई नपुंसक भनेर लेखेका कारण उनलाई जेल हालियो । एकमात्र छोरालाई जेल हालिएपछि उनी ज्यादै चिन्तित बन्न पुगे । छोराको सट्टामा आफू यातना भोग्न तयार भए पनि त्यो सम्भव भएन । अन्ततः उनको छोराको मृत्यु भयो । केही समयपछि जीवनसाथीको पनि मृत्यु भएका कारण उनी ज्यादै चिन्तित र विक्षिप्त बन्न पुगे ।
२०१५ साल रामनवमीका दिन यस लोकबाट सदाका लागि बिदा भएका चक्रपाणी चालिसे मिलनसार, सहयोगी, विनयी स्वभावका थिए । नेपाली साहित्यानुरागीलाई थुप्रै कविता, स्तोत्र, पुस्तक दिएर गएका उनी अमर छन्, नेपाली साहित्यको आकाशमा चम्किलो नक्षत्र बनेर उदाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्