प्रदेश–२ मा मन्त्री बर्खास्त «

प्रदेश–२ मा मन्त्री बर्खास्त

प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्तीमा परेका छन् । राजीनामा दिन आनकानी गरेका यादवलाई मुख्यमन्त्री राउतले मंगलबार बर्खास्त गरेका हुन् ।
एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट मन्त्री बनेका रायलाई पदमुक्त गरेका हुन् । उनले यसअघि मन्त्री रायलाई राजीनामाका लागि निर्देशन दिएका थिए ।
तर राजीनामाका लागि आफूलाई पार्टीले भन्नुपर्ने अडान राख्दै रायले मुख्यमन्त्रीले माग गरेकै आधारमा राजीनामा नदिने अडान लिएका थिए । गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राउतले यसअघि सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सामेल गरिसकेका छन् । नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गर्न उनले मन्त्रालयको भागवण्डा मिलाउने उद्देश्यले मन्त्री रायको राजीनामा माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्