कफी खेतीको पनि बिमा हुने «

कफी खेतीको पनि बिमा हुने


किसानले कफी खेतीको पनि बिमा गर्न पाउने भएका छन् । बिमा समितिले कृषि बिमा अन्र्तगत कफी खेती बिमालेख स्वीकृत गरेसँगै कफी खेतीमा हुने विभिन्न क्षतिको जोखिम व्यहोर्ने गरी बिमा गर्न सकिने भएको हो ।
बिमांक रकमको ५ प्रतिशत प्रिमियम बुझाएर किसानले कफी खेतीको बिमा गर्न सक्नेछन् । यस बिमालेखमा कफीको उत्पादनमा थप ५ सय रुपैयाँ थपेर किसानको दुर्घटना बिमासमेत गर्नुपर्ने प्रावधान राखिएको छ ।
किसानले कफी खेती बिमा गरेपछि कृषकहरुले आगोजन्य, हावाजन्य, पानीजन्य, मौसमजन्य, चट्याङ्जन्य, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणले हुने क्षतिका साथै रोग तथा किराजन्य क्षतिको क्षतिपूर्ति पाउने छन् ।
यसैगरी दुर्घटना बिमा अन्र्तगत कृषक अर्थात बिमितको दुर्घटनाबाट मृत्यु भएमा बिमा कम्पनीले बिमांकको अतिरिक्त दुर्घटना बिमाबापत दुई लाख रुपैयाँको दाबी तिर्नु पर्ने बिमालेखमा प्रावधान रहेको छ ।
कफी बिमा लेखअन्तर्गत कफीको बोटको संख्या र बोटको मूल्यलाई गुणा गरी बिमांक रकम निर्धाण गर्न सकिन्छ । त्यस्तै चेरीको बिमा गर्दा बोटको संख्या, चेरीको सम्भावित संख्या र चेरीको प्रति मूल्यलाई गुणा गरी बिमांक निकाल्न प्रावधान राखिएको छ । बिमांक रकम राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालय र उक्त कार्यालय नभएको अवस्थामा स्थानीय वा प्रदेश सरकारको प्राविधिकबाट प्रमाणित गराई बिमक समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।
बिमा गरेको खेतीमा क्षति भएपछि मूल्यांकन प्रतिवेदन पेश गरेको ३५ दिनभित्र बिमा दावी भुक्तानी गर्नुपर्नेछ । बिमांकीय रकम वा क्षतिको रकम जुन कम हुन्छ सो बराबर भुक्तानी दिनुपर्ने बिमालेखमा उल्लेख छ ।
६ सयदेखि २ हजार मिटरसम्मको उचाइमा गरेको र चिया तथा कफी विकास बोर्डले तयार पारेको मापदण्डका आधारमा गरेको खेतीको मात्र बिमा हुने व्यवस्था गरिएको छ ।
कृषि तथा पशुपालन बिमालाई प्रोत्साहन गर्नका लागि सरकारले प्रिमियम रकममा ८० प्रतिशत अनुदान दिँदै आएको छ । कफी बिमा गर्ने किसानले समेत बिमा प्रिमियमको २० प्रतिशत मात्रै भुक्तानी गरे पुग्छ ।

प्रतिक्रिया दिनुहोस्