बलम्बु जात्रा सम्पन्न «

बलम्बु जात्रा सम्पन्न

Photo Credit : TwinsGraphy

नेपाल संवत् सुरु भएताका सुरु भएको मानिएको काठमाडौंको पश्चिम भेगको बलम्बु जात्रा कोरोनाका कारण १ वर्ष रथ जात्रा गरिएको थिएन। भब्यताका साथ जात्रा नमनाईएता पनि कुमारी र महालक्ष्मीको पुजा भने गरिएको थियो । कोरोनाको लहर कम भएसँगै पहिले–पहिलेको वर्ष झैँ यस पटक पनी भव्यताका साथ, पाहुना पासा घरमा निम्तो दिएर, जात्रा र भोज गरेर मनाइएको छ । चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा उक्त जात्रा मनाइएको हो ।
तीन दिन मनाईने यो जात्रा कात्तिक पूर्णिमाको अघिल्लो दिनबाट सुरु गरिन्छ । पहिलो दिनलाई नेपाल भाषामा छोयल्बु अर्थात् छोएला पकाउने र खाने दिनको रुपमा लिइन्छ । यो दिन विभिन्न परिकार पनि बन्दछन् । दोश्रो दिन नेपाल भाषामा मुया अर्थात् मूस् को अर्थ मुख्य,र या को अर्थ जात्रा हो। बलम्बुको जात्रा विशेषगरी कुमारीको जात्रा हो । साथै गणेश र महालक्ष्मीका साथै अन्य देवी–देवताहरुलाई पनि रथमा राखेर पूजाआजा गरी रथ नचाएर जात्रा गरिन्छ । यो जात्रालाई महालक्ष्मी जात्रा भनेर चिनिन्छ । नेवारीमा यो जात्रालाई लाटीमदः भनिन्छ ।
यो दिनमा गणेश, कुमारी र महालक्ष्मीको रथको पूजा गरिन्छ । राति सबै सुतिसकेपछि गुठिका मानिसमात्र यस पूजामा संग्लग्न हुन्छन् । तेस्रो दिन सिन्हाया जात्रा अर्थात् सिँधुरे जात्रा हो । यस दिनमा बिहानैदेखि लक्ष्मी, गणेश र कुमारीको पूजा गर्न स्थानिय बासिन्दा मन्दिर र रथमा पुग्छन् । सबै जना मिली रथलाई नेपाल बाजा धा, धिमेको तालमा नचाउने गरिन्छ ।
यस दिनमा पाहुना, पासा, आफन्तहरुलाई जात्रा हेर्न र भोजको लागि निमन्त्रणा पनि गरिन्छ । पाहुना, पासा, आफन्तहरु धेरै भएकाहरुले जात्रा सकिएको २ दिनसम्म पनि खानपिनको लागि निमन्त्रणा गर्छन् । जात्राको भोलिपल्ट भाइटीकाको दिनको भोगटे काटेर आचार बनाएर घाममा बसेर खाने चलन छ । साथै ठूलो एकादशी परेकाले पिडालु र शख्खरखण्ड खाइन्छ । यसका साथै जात्रा सम्पन्न भएको मानिन्छ । जात्राको बेलामा बाजा बजाउन जानेक गुठीका व्यक्तिहरु सबैको घरघर पुगेर २–२ माना चामल र चिउरा भगवानको नाममा लिन आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्