सुर्खेतमा १० हजार दर्शक अट्ने रंगशाला निर्माण हुने

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने भएको छ ।
रंगशाला निर्माणका लागि निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषद्बीच आइतबार सम्झौता भएको हो । यसलाई प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रूपमा घोषणा गरेको छ । निर्माण कम्पनी एमएसीजीले २०८१ वैशाख (३० महिना) भित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको छ । अबको एक साताभित्रै रंगशालाको शिलान्यास गरेर निर्धारित समयभित्रै निर्माणको काम सम्पन्न गर्नेगरी काम अगाडि बढाइने परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले बताए । रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान बनाइने छ भने आठ लेनको सेन्थेटिक एथलेटिक्स ट्रयाक बनाइनेछ ।
१० हजार दर्शक क्षमताको भूकम्प प्रतिरोधी प्यारोफिट, भीआईपी प्यारोफिट, मिडिया रूम, रेफ्रि, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी, भीआईपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाइन गरिएको छ । टिभी लाइभ ब्रोडकास्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि रंगशालाभित्र निर्माण गरिनेछ । रंगशालाभित्र १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेलहरू खेल्न मिल्ने परिषद्ले जनाएको छ ।
आइतबार मुख्यमन्त्री जीवनबहादुर शाहीको रोहबरमा ठेक्का सम्झौता भएको हो । मुख्यमन्त्री शाहीले खेलकुदका पूर्वाधार नभएको कर्णालीमा अन्तर्राष्ट्रियस्तरका खेलकुदका कार्यक्रम गर्नका लागि प्रदेश रंगशाला निर्माणलाई सरकारले गौरवको योजनाका रूपमा समावेश गरेको बताए । समय अगावै रंगशाला निर्माणकार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई उनले आग्रह गरेका छन् । रंगशाला निर्माणका क्रममा कर्णाली प्रदेश सरकारका तर्फबाट पूर्णरूपमा सहयोग रहने प्रतिबद्धता मुख्यमन्त्री शाहीले जनाए । कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको छ । प्रतियोगितालाई लक्षित गरी खेलकुद पूर्वाधार निर्माणको काम भइरहेको छ ।