साइबर अपराधका पीडितलाई न्याय पाउनै मुस्किल «

साइबर अपराधका पीडितलाई न्याय पाउनै मुस्किल

सुर्खेत – वीरेन्द्रनगर–११ की सविना बानु विहान पख भान्साको काम गर्दै थिइन । साथीले फोन गरेर ‘फेसबुकमा किन त्यस्तो नराम्रो पोष्ट गरेकी’ भनेपछि झसङ्ग भइन् । छिटो छिटो फोन राखेर मोबाइलमा फेसबुक खोलिन् । तर साथीले भनेजस्तो कुनै नराम्रो पोष्ट भेटिनन् । फेरी साथीलाई फोन गरेर आफूले कुनै नराम्रो पोष्ट नगरेको भनिन् । साथीले उताबाट स्क्रिनसट गरेर म्यासेन्जरमा पठाइदिएप्छि भने सविना साथीको कुरा पत्याउन बाध्य भइन् । ‘मेरै नाम र प्रोफाइल पक्चिर राखेर कसैले ‘फेक’ अकाउन्ट खोलेको रहेछ’, उनले भनीन्,‘त्यस एकाउन्टमा हेर्दै जाँदा मेरो फोटो राखेर यौन व्यवसायीको रुपमा चित्रण गरेर एक दिनको यति रकम भनेर अफर गरेर हालेको रहेछ ।’ त्यस्तै मुस्लिम धर्मालम्बीहरूले निकै असुद्ध मान्ने सुँगुर टाउकोमा आफ्नो फोटो राखेको अर्काे फोटो थियो ।
आफूसंग भएका सबै प्रमाण लिएर उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइन् । प्रहरीले उजुरी त लियो तर अनुसन्धान अगाडि बढाएन् । एक महिनासम्म प्रहरी कार्यालय धाएपछि काठमाडौंस्थित साइबर ब्युरोमा जानुस् भन्यो । ‘एक महिना धाइसकेपछि प्रहरीले तपाइका जस्ता उजुरी कति छन कति हामी केही गर्न सक्दैनौं छिटो छरितो गर्ने भए काठ्माडौं जानुस् भन्यो’, उनले भनीन्, ‘काठमाडौं गएर खर्च गरेर न्याय खोज्न सक्ने अवस्था भएन त्यसपछि प्रहरीमा जानै छोडें ।’ सविनाले प्रहरीमा उजुरी दिएको एक बर्ष वितिसकेको छ । उनले एक बर्षसम्म पनि न त न्याय पाएकी छन न त प्रहरीबाट कुनै सोधपुछ नै भएको छ ।
वीरेन्द्रनगर–४ का किरण सापकोटाको फेसबुक एकाउन्टबाट गत साउन २० गते राति ‘समस्यामा परेको छु पैसा पठाइदिनुप¥यो’ भन्नेर साथीहरूलाई म्यासेज आयो । कतिपय साथीहरूले त्यसअघि कहिल्यै पैसा नमाग्ने समस्यामा परेको होला भन्ने सोचेर म्यासेन्जरमा भने अनुसारकै खातामा पैसा पठाइदिए । साथीले ‘हिजो राति पैसा किन चाहिएको, कतिबेला फिर्ता गर्ने हो’, भनेर फोन गरेपछि किरन दङ्ग परे । किरनले साथीलाई आफूलाई कुनै अप्ठेरो नपरेको र पैसा पनि नमागेको जवाफ दिए । तर साथीले राती आफूलाई म्यासेज आएको भन्दै पैसा पठाएको स्क्रिनसट हालिदिए । ‘मलाई त केही थाहै थिएन बिहान १० बजे तिर एउटा साथीले फोन गरेर पैसा मागेपछि पो थाहा पाएँ’, किरनले भने, ‘म्यासेजमा अमृत पौडेलको एनएमबी बैंकको खातामा वा अनिस पौडेलको नाममा कामना सेवा विकास बैंकको खातामा पैसा पठाउन भनेको रहेछ ।’ आफ्नो एकाउन्ट ह्याक भएको थाहा पाएर किरन तुरुन्तै जिल्ला प्रहरी कार्यालय गए । उनी प्रहरीमै हुँदा पनि उनको आईडीबाट पैसा मागेको म्यास गइरह्यो । उनी आत्तिएर बैंकमा फोन गरेर उल्लेखित खाता नम्बर ब्लक गरिदिन आग्रह गरे । तर, बैंकले प्रहरीको चिठ्ठी नभई खाता रोक्का गर्न नमिल्ने जवाफ दिए । ‘बैंकमा गए प्रहरीले गर्छ भन्छ प्रहरीमा जाँदा अनुसन्धान भइरहेको छ भन्छ’, उनले भने, ‘साउन २० गते भएको घटना हो अझैसम्म न्याय पाएको छैन ।’ जिल्ला प्रहरीमा जाँदा साइबर ब्युरोले अनुसन्धान गरिरहेको भन्ने मात्र जवाफ पाउने गरेको सापकोटाले बताए ।
म्यासेजकै भरमा करिब एक लाख रुपैयाँ पठाइदिएको लिष्ट साथीहरूले उनलाई दिएका छन् । ‘केही साथीहरूले फोन गरेर मैले तपाईंलाई नै भनेर पैसा पठाइदिएको भन्दै पैसा फिर्ता मागिरहेका छन्’ उनी भन्छन्, ‘म त श्रीमतीको गहना बेचेरै भएपनि पैसा फिर्ता गरिदिउँकी भनेको थिएँ प्रहरीले तपाइको खातामा पठाएको छैन फिर्ता गर्दा अनुसन्धानमा असर पर्छ भन्छ ।’
पछिल्लो समय सूचना प्रविधिको विकाससँगै त्यससँग सम्बन्धित अपराधमा पनि बृद्धि भएको छ । तर साइबर अपराधमा उजुरी गर्ने, अनुसन्धान गर्ने सरकारी संयन्त्र काठमाडौंमा मात्र केन्द्रित हुँदा सर्वसाधारणको पहुँच पुग्न सकेको छैन । वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने र न्याय दिने प्रक्रियालाई सरल बनाउनुपर्ने सझाव दिन्छन् । ‘अहिले सूचना प्रविधिको विकास व्यापक भइरहेकाले यससँग सम्बन्धित अपराध अनुसन्धान र न्याय दिलाउने कामलाई पनि व्यापक बनाउनुपर्छ’, उनले थपे,‘जनशक्ति र प्रविधि भएन भनेर देशै भरिको एकै ठाउँमा केन्द्रित गर्नु त भएन नी ।’ तत्कालै कम्तीमा प्रदेश प्रदेशमा साइबर अपराध ब्युरोको संरचना हुनुपर्ने र विस्तारै जिल्ला–जिल्लामा हुनुपर्ने वरिष्ठ अधिवक्ता हमालको भनाइ छ । लागू आषैध, डीएनए परीक्षण गर्नुपर्ने लगायतका मुद्दामा जस्तै सीमित कुराहरू काठमाडौंबाट गरेर पनि जिल्ला तहबाटै मुद्दा चलाउने व्यवस्था गर्न सकिने उनको सुझाव छ ।
अनुसन्धार निकाय काठमाडांँमा मात्र हुँदा समस्या
किरन र सविना त साइबर अपराधमा पीडित प्रतिनिधि पात्र मात्र हुन् । साइबर अपराधमा मुद्धा दिएपनि न्याय पाउन झन्झट व्यहोर्नुपर्ने धेरै छन् । अनुसन्धान गर्ने निकाय प्रहरीको साइबर अपराद अनुसन्धान ब्यूरो काठमाण्डौँमा सीमित हुँदा दूर दराजका नागरिकको पहुँचमा पुग्न सकेको छैन् । ‘काठमाडौं जानै सकिएन् प्रदेश राजधानीमै साइबर ब्युरो भइदिएको भए मैले न्याय पाउने थिएँ कि’ सविना भन्छिन्, ‘कम्तीमा पनि प्रदेश राजधानीमा त साइबर अपराध ब्युरो हुनुपर्ने हो ।’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक माधव श्रेष्ठ हाल जिल्ला प्रहरी कार्यालयमार्फत साइबर अपराधसम्बन्धीका उजुरीहरू ब्युरोमा पठाउने र समन्वयको काम मात्र भइरहेको बताउँछन् ।
कर्णालीमा बढ्दै साइबर अपराध
पछिल्लो समय साइबर अपराध बढ्दै गएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको पछिल्लो तीन बर्षको तथ्यांकले साइबर अपराध तिब्र रुपमा बढेको देखाउँछ । आर्थिक बर्ष २०७६-०७७ मा साइबर अपराध सम्बन्धी प्रदेशभर २८ वटा उजुरी परेकोमा ०७७-०७८ मा ४९ उजुरी परेका थिए । चालु आर्थिक बर्षको असोजसम्म ४० उजुरी परेका छन् । २०७६-०७७ देखि गत असोजसम्म सुर्खेत जिल्लामा सबैभन्दा बढी ७२ उजुरी परेका छन भने मुगु र डोल्पामा एउटा पनि उजुरी परेका छैनन् । यस्तै दैलेखमा १६, जाजरकोटमा ९, जुम्लामा ६, कालिकोटमा पाँच, सल्यान र रुकुम पश्चिममा ४–४ तथा हुम्लामा १ उजुरी परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्