चुनावी घोषणापत्रअनुसार काम गर्छौं : उपप्रधानमन्त्री पोखरेल

उ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले प्रतिनिधिसभा निर्वाचनमा प्रस्तुत नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्रअनुसार काम गरिरहेको बताएका छन् । उदयपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रममा पोखरेलले पार्टीको घोषणापत्रमा उल्लेख भएअनुसार शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सरकारले काम गरिरहेको बताए ।
“पाँच वर्षभित्र सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पु-याउने हाम्रो घोषणापत्र अनुसार त्यो काम गर्न हामी प्रतिद्ध छौं,” पोखरेलले भने, “एक, दुई, तीन, चार र पाँच वर्षभित्र केके काम गर्ने भन्ने कार्ययोजना तयार गरेर सरकार अगाडि बढिरहेको छ ।” निर्वाचनमा प्रस्तुत घोषणापत्रकै आधारमा जनताले नेपाल कम्युनिष्ट पार्टीलाई झण्डै दुईतिहाइ मत दिएकाले त्यसको कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको उनले बताए ।
वर्तमान सरकारले कानुन निर्माण गर्ने काम समयमै सम्पन्न गरी केन्द्र, प्रदेश र स्थानीय तहलाई बलियो बनाएर संघीयतालाई पूर्ण कार्यान्वयनमा लैजाने उनको भनाइ थियो ।
उदयपुर देशको ४८ औं र प्रदेश नं १ को १० औं साक्षर जिल्ला घोषित भएको छ ।