तीन वर्षपछि बल्ल होङ्शी सिमेन्टमा बिजुली

माग गरेको तीन वर्षपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ ।
उद्योग सञ्चालनका लागि ५० मेगावाट बिजुली आवश्यक रहेकोमा बल्ल ३० मेगावाट पुगेको हो । नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सवस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबार रातीबाट विद्युत आपूर्ति दिएको जनाएको छ ।
वर्षामा नेपालको बिजुली खेर गइरहेको भएपनि वितरण लाइन बनाउन नसक्दा नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ ।
उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै विद्युत दिइएको प्राधिकरणले जनाएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति लिएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिएको हो ।
कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधजस्ता धेरै समस्या कारण प्रसारण लाइनको निर्माण अझै नसकिए पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत दिन सकिएको बताए । उनका अनुसार, होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति दिइएको हो ।
प्राधिकरणका अनुसार, बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत दिइएको छ । “मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउन ठूला उद्योगहरुले मागेजति विद्युत दिँदैछौ, गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सवस्टेसनहरुको क्षमता बढाउने, सदृढीकरण गर्नेलगायतका काम अभियानकै रुपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिने छ”, घिसिङले भने, “ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने छौं ।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पु¥याउने घोषणा अनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण केभी प्रसारण लाइनको निर्माण पूर्णरुपमा सम्पन्न हुन सकेको छैन ।सरकारको लगानीमा ४० लाख अमेरिकी डलर लगानीमा आर्थिक वर्ष २०७३÷०७४ मा आयोजनाको सुरु गरिएपछि भएको अवरोधले ढिलाई भएको छ ।