मिर्गौला प्रत्यारोपणपछि पनि व्यवसायमा सक्रिय ढुंगाना «

मिर्गौला प्रत्यारोपणपछि पनि व्यवसायमा सक्रिय ढुंगाना

ढुंगानाले सञ्चालनमा ल्याएको गुलेली पिङमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : कारोबार ।


झापा बुद्धशान्तिका युवा व्यवसायी सुनिल ढुंगाना आफ्नो फरक पहिचान बनाउन तल्लीन छन् । एक्सेल डेभ्लपमेन्ट बैंकमा पाँच वर्ष काम गरेर ६ वर्षअघि दुबई पुगेका ढुंगाना आफ्नै मुलुकमा केही गर्ने सोचका साथ नेपाल फर्किए ।
नेपाल आएर बुद्धशान्तिमा साहसिक खेल कान्छाकान्छीको स्विङ् सञ्चालनका लागि काम सुरु गरे । उत्साहका साथ व्यवसाय सुरु गरेका उनलाई अचानक स्वास्थयमा समस्या देखा परेपछि गत पुसमा अस्पताल पुगे । चिकित्सकले दुवै मिर्गौलाले काम नगर्ने बताए । ३६ वर्षीय ढुंगानाको एउटा मिर्गौला जन्मदंै सानो भएकाले काम नगरेको र अर्को मिर्गौला पनि खराब भएको चिकित्सकले बताएका थिए । निदान अस्पताल ललितपुरका चिकित्सकले तत्काल मिर्गौला फेर्न सुझाव दिए । ढुंगानाललाई गत फागुनमा उनकी ६१ वर्षीया आमाले मिर्गौला दिइन् ।
मिर्गौलाले काम गर्न छोडेको जानकारी पाएपछि सम्बन्धित व्यक्ति प्रायः निराश हुने गर्दछन् । प्रत्यारोपण पछि पनि सामान्य नागरिक झैँ जीवन अघि बढाउन सक्दैनन् । तर, मिर्गौला प्रत्यारोपणपछि उनी निरन्तर सक्रिय जीवन बिताइरहेका छन् । ढुंगानामा निराशा कहिल्यै पैदा भएन । “मिर्गौला खराब हुनुलाई नै मैले शक्तिमा बदले, जीवन खुसीसाथ बिताउनु पर्छ भन्ने मेरो सोचले ‘किड्नी फेल’ भए पनि म आत्तिन्न,” उनी भन्छन्, “मिर्गौला प्रत्यारोपण पछि पनि पहिले झैँ काम गर्न सकिन्छ भन्ने एक दृष्टान्त बन्न सक्नु मेरो सोच हो ।” मानसिक रूपले बलियो रहनसके रोगलाई जित्न सकिने धारणा उनको छ ।
उनै ढुंगानाले १ करोड रुपैयाँ लगानीमा साहसिक खेल पारखीका लागि कान्छाकान्छीको स्विङ् सञ्चालनमा ल्याएका हुन् । अहिले साहसिक खेल रुचाउनेका लागि कान्छाकान्छीको स्विङ उत्कृष्ट गन्तव्य बनेको छ । इन्डोनेसियामा प्रख्यात रहेको स्विङ खेल ‘गुलेली पिङ’ पूर्वमा आफूले पहिलोपटक सञ्चालनमा ल्याएको उनी बताउँछन् ।
मुलुकका विभिन्न स्थानबाट पिङ खेल्न पुग्नेको संख्या दैनिकजसो बाक्लो देखिन्छ । “यस प्रकारका पिङमा प्रायः सिधा तानिन्छ र डाँडासम्म पु¥याइन्छ । तर, यो केही फरक छ । माथि तान्ने र केही तल झरेर डाँडा तर्फ जान्छ,” उनले भने, “माथिबाट ३ सेकेन्डमा तल झरिन्छ । सोहीअवधिमा हाम्रो मुटुले ठाउँ छाडेको अनुभूति गर्न सक्छौँ ।”
केही समयअघिसम्म बाँदर हिँड्ने भीरलाई ढुंंगानाले पर्यटकीयस्थलको रूपमा विकास गरिसकेका छन् । भविष्यमा सोही ठाउँमा बन्जि जम्प सञ्चालन गर्ने योजना उनले बनाएका छन् । “मैले विभिन्न देशमा पुगेर साहसिक खेलको अवलोकन गरेको छु । विदेशी अनुभवलाई यहाँ प्रयोगमा ल्याएको हुँ । “खेल साहसिक सँगसँगै सुरक्षित हुनुपर्छ त्यसैले मैले कुस्मामा बन्जिजम्प निर्माण गर्ने इन्जिनियर लगाएको छु,” उनी भन्छन्, “सेफ्टिका हिसाबले हामी सतप्रतिशत सुरक्षित छौं । यहाँ आउने ४० प्रतिशतले मात्र खेल खेल्ने हिम्मत गर्नु हुन्छ ।” यस प्रकारका खेलको भविष्य राम्रो रहेको उनको भनाइ छ । आन्तरिक पर्यटकलाई टेवा पु¥याउँदै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्य उनले बनाएका छन् ।
स्विङका लागि काँकडभिट्टाबाट आइपुगेकी तुलसा ठटालले साहसिक खेलको अनुभूति लिन पश्चिम पुग्नै पर्ने अवस्था हटेको बताइन् । यहाँको सुन्दर प्राकृतिक दृष्यले पनि पर्यटकलाई तान्ने गरेको छ । पछिल्लो समय साहसिक खेलमा युवापुस्ताको आकर्षण बढेको देखिन्छ । जसले नेपाली पर्यटन व्यवसायलाई टेवा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्