मुस्ताङमा हिउँपहिरो, हिउँपहिरोका कारण ११ जना घाइते

हिमालपारिको जिल्ला मुस्ताङमा सम्भवतः अहिलेसम्मकै ठूलो हिउँपहिरो गएको छ । आइतबार करिब ११ः३० बजे थासाङ गाउँपालिका–२ मा पर्ने बोक्सीखोला एवं टुक्चे पिक क्षेत्रबाट आएको हिउँ पहिराका कारण ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएकाको स्थानीय जिल्ला अस्पताल मुस्ताङमा उपचार भएको थासाङ गाउँपालिकाका उपाध्यक्ष बालकुमारी शेरचनले बताइन् । उनका अनुसार हिउँपहिराका कारण जनआदर्श अम्मरसिंह माविका केही शिक्षक तथा विद्यार्थी सामान्य घाइते भएका छन् । हिउँपहिरो गएको केही समय पश्चात गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले घटनाको बारेमा सोधपुछ गरी जानकारी लिएका थिए । मन्त्री बरालले अस्पतालमा पुगेर घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । मन्त्री बरालले हिउँपहिरो पुनः जानसक्ने भन्दै स्थानीयलाई सर्तक रहन आग्रहसमेत गरेका छन् ।
उक्त घटना पश्चात नेपाल प्रहरी, नेपाली सेना घटनास्थल पुगेका थिए। टुक्चे हिमाल क्षेत्रबाट ठूलो मुस्लोसहित आएको हिउँको भागले उक्त क्षेत्रबाट करिब पाँच किलोमिटर वरपरसमेत धुलोको मुस्लो पुग्दा स्थानीय त्रसित भएको शिक्षक मनदेवी गौचनले बताइन् । ठूलो आवाजसहित आएको धुँवाको मुस्लाका कारण अतालियर भागदौड गर्दा सामान्य केही विद्यार्थी सामान्य घाइते भएका छन् ।
हिउँपहिराको कारण अनु देसार, अनुसा क्षेत्री, संगमवरुवा, मिलनपुन, अमृता रोकाय मगर, सुजिना केसी, वीरेन्द्र लामिछाने, अनुस्कार बिक, स्नेहाकिसान, वरिसा बिक, सुसिलाथापा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
हिउँपहिराका कारण कोबाङ क्षेत्रमा स्थानीय भागदौड गर्दा सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रताप पौडेलले बताए । उक्त पहिरोमा याक र चौरी गाई पर्नसक्ने उनको भनाइ छ ।