कर्णालीमा २ हजार गणक र ५ सय जना सुपरीवेक्षक परिचालन «

कर्णालीमा २ हजार गणक र ५ सय जना सुपरीवेक्षक परिचालन

यही २५ गतेबाट सुरु भएको जनगणनाका लागि कर्णाली प्रदेशमा दुई हजारभन्दा बढी गणक र करिब पाँच सयजना सुपरिवेक्षक परिचालन भएका छन् । कर्णाली प्रदेशका १० वटा जिल्लामा दुई हजार दुई सय ३२ जना गणक र ४ सय ८० जना सुपरीवेक्षक परिचालन भएका हुन् ।
करिब एक हप्ताको तालिम दिएर सही तथ्यांक संकलनका लागि करिब दुई हजार ६ सय जनशक्ति कर्णालीका गाउँगाउँमा पुगेका छन् । जसमा प्रदेश राजधानी सुर्खेतमा सबैभन्दा बढी ५ सय १८ जना गणक र १ सय १६ जना सुपरीवेक्षक खटिएका छन् भने, सुर्खेतपछिको दोस्रो ठूलो सहर जुम्लामा १ सय ४८ जना गणक र ४१ जना सुपरीवेक्षक परिचालन भएको तथ्यांक कार्यालय जुम्लाका प्रमुख शंकरदत्त भट्टले बताए । उनका अनुसार जुम्लाका एक नगरपालिका सात गाउँपालिकाका ६० वटै वडामा गणक सुपरीवेक्षक पुगिसकेका छन् । जनगणना सफल बनाउन प्रचार प्रसारदेखि गणक सुपरिवेक्षकलाई आवश्यक तालिम दिइएको प्रमुख भट्टको भनाइ छ ।
त्यसका साथै, साविक कर्णालीको मुगुमा ९० जना गणक र २० जना सुपरीवेक्षक, हुम्लामा २३ जना सुपरीवेक्षक र ८२ जना गणक, कालीकोटमा १ सय ९३ गणक र ५१ सुपरीवेक्षक, र डोल्पामा ८१ जना गणक र १९ जना सुपरीवेक्षक खटिएका छन् ।
उता दैलेख जिल्लामा ३ सय ९ जना गणक परिचालन भएको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । साथै, रुकुपश्चिममा २ सय ८० गणक र ५७ सुपरीवेक्षक, सल्यानमा २ सय ९१ गणक र र जाजरकोटमा ६४ सुपरीवेक्षक, परिचालन भएको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख पोमनारायण पौडेलले जानकारी दिए ।

उनले भने, “कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म देशभर जनगणना हुँदैछ । कोरोनाले पनि गणना प्रभावित भयो । संघीयतापछि पहिलो जनगणनालाई सफल पार्न सबै जिल्लामा तयारी मजबुद गरिएको छ भने प्रचारप्रसारमा पनि जोड दिएका छौ । सबै पक्ष समेटिएका करिब विभिन्न प्रकृतिका ५५ वटा प्रश्नको जवाफ उत्तरदाताले दिनुपर्ने छ ।”

प्रतिक्रिया दिनुहोस्