भुस पोल्ने पर्व मनाइयो

बागलुङको ताराखोला गाउँपालिकामा ऐतिहासिक भुस पोल्ने मेला यस वर्ष पनि हर्षोल्लासका साथ मनाइएको छ । १५औं शताब्दीमा पाल्पाको अर्गलीबाट बसाइँ सरेर आएका आर्गली मगर समुदायले ताराखोलामा प्रत्येक वर्ष यो पर्व मनाउने गर्दछन भने यस वर्ष पनि हर्षोल्लासका साथ मनाइएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले बताए ।
यही कात्तिक २३ गते देखि २७ गतेसम्म भुस पोल्ने पर्व मनाउन बागलुङका गाउँगाउँ हँुदै छिमेकी जिल्ला, पर्वत, पाल्पा, म्याग्दीबाट समेत दर्शकको सहभागिता रहेको थियो । अर्गलीमा बसोवास गर्ने पुलिसा, ओसासा र नाओसा थरका घर्तीमगरहरूले आफ्नो पहिचान र सभ्यताको रूपमा भुस पोल्ने पर्व मनाउँदै आएको अध्यक्ष घर्तीमगरले बताए । अधिकांश मगर समुदाय बसोबास गर्ने अर्गल गाउँको भुस पोल्ने मेलाको छुट्टै विशेषता रहेको छ । यहाँको ऐतिहासिक मेलाको रूपमा यस पर्वलाई लिने गरिन्छ ।
पाल्पाको अर्गली भन्ने ठाउँबाट बसाइँ सरी आएका मगरहरूले मेलामा आफ्ना समुदायका मानिसको मृत्यु र जन्म संस्कारसँंग सम्बन्धित गोपीचन गीत गाउने र नाच्ने गर्दछन् । मेलाको अन्तिम दिन २७ गते उनीहरूले एक वर्षभरि मृत्यु भएका आफ्ना परिवारका सदस्यको बरखी फाल्ने गर्छन् । सोही दिन पुर्खाहरूले खेती गरेको सम्झनामा शंखुबारीमा छापे खन्ने र पूजाआजा गरी हिउँदे अन्नबालीको खेती सुरु गरिन्छ । दिउँसो ४ बजेको समयमा शंखुघरमा पूजाआजा गरी शंखुबारीमा छापे खन्ने गहुँ, जौ छर्ने गरिन्छ । अविवाहित युवायुवतीले बारी नसकुन्जेलसम्म नरोकी खन्ने गर्दछन् भने विवाहिताले बीउ छर्ने गर्दछन् । १५औँ शताब्दीदेखि सुरु भएको मानिने यस पर्वलाई अर्गलमा उत्सवकै रुपमा लिने गरिएको छ । मारुनी नाच्ने, नौमती बाजा बजाउनेदेखि छापे खन्नेलगायतका कार्यमा युवायुवती उत्साहका साथ संग्लग्न हुने गरेका छन् । यो पर्व गाँउपालिका भित्रको ऐतिहासिक प्रमुख पर्व भएकाले चार वर्षदेखि सार्वजनिक बिदासमेत दिँदै आएको छ ।
यसैबीच उक्त मेलाको अवलोकन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले केन्द्रिकृत राज्य सत्ताले बहुसाँस्कृतिकको संरक्षण गर्न नसकेको आरोप लगाए । स्थानीय र प्रदेश सरकारले स्थानीय संस्कृतिको संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।