पुल नबन्दा पैसा तिरेर साँघु तर्नुपर्ने बाध्यता हटेन «

पुल नबन्दा पैसा तिरेर साँघु तर्नुपर्ने बाध्यता हटेन


भजनी नगरपालिका–५ का मनिराम चौधरीले पैसा तिरेर साँघु तर्नुपर्ने दिन सकिने आशा गरेको १० वर्ष बिते पनि ती दिन गएका छैनन् ।
भजनीका चारवटा वडाका बासिन्दाले अझै पनि नगरपालिकालाई पैसा तिरेर साँघु तर्ने गरेका छन् । भजनी नगरपालिकाले ठेक्का लगाएर साँघु तरेको पैसा जनताबाट असुल्ने गरेको छ । भजनी नगरपालिकाले कान्द्रा नदीको पाँच ठाउँमा साँघु लगाएर ठेकदारमार्फत जनताबाट पैसा असुल्ने गरेको छ ।
कान्द्राको खैरेनी घाटमा १० रुपैयाँ तिरेर साँघु तरिरहेका मनिरामले दैनिक ओहोरदोहोर गर्दा १०÷१० रुपैयाँ तिर्नुपरेको बताए । “सरकारको पक्की पुलबाट नदी तरेपछि पैसा लाग्दैन,” उनले गुनासो गरे, “तर हाम्रो भजनी नगरपालिकाले साँघु तरेको पनि पैसा लिन्छ । वर्षा र बाढीले अन्न सबै बगाएका किसानले सधैं कहाँबाट पैसा पाएर नगरपालिकालाई तिर्न सक्छौं ।”
स्थानीयका अनुसार ठेकेदारले साँघु तरेको एकतर्फी भाडा प्रतिव्यक्ति १०, साइकलको २०, मोटरसाइकलको ५० र अटोको एक सय रुपैयाँ लिने गरेका छन् । साँघुबाट नदी तर्दा पैसा तिर्नपर्नुका साथै सुरक्षित पनि नरहेको स्थानीय मानबहादुर साउदले बताए ।
भजनी नगरपालिकाको वडा नम्बर ३, ४, ५ र ८ नागरिकले कामका लागि भजनी जाँदा र फर्कंदा शुल्क तिर्नुपर्छ । कान्द्रा नदीमा पर्ने खैरेनी घाट, बिजुलिया, लालबोझी, मिलनपुर, डोंगपुर र लौवस्ता गरी छ ठाउँमा नदी तार्न ठेक्का लगाइएको वडा नम्बर ५ का अध्यक्ष केशवबहादुर बुढाले बताए । नगरपालिकाले हरेक ठाउँबाट तीन लाख ५० हजार रुपैयाँमा साँघु लगाउन ठेक्का लगाएको छ । नगरपालिकाले साँघु लगाउने ठेक्काबाट वार्षिक १७ लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ ।
कान्द्रा नदीको ठेकीमा पक्की पुल बन्न थालेको १२ वर्षभन्दा बढी भयो । ठेकदार र आयोजना कार्यान्वयन गर्ने सरकारी निकायको लापरबाहीका कारण पुल निर्माण निकै सुस्त छ । नगरपालिकाले सो पुल छिट्टै निर्माण गर्न पहल गर्नुको सट्टा साँघु तरेको पैसा असुल्नमा ध्यान दिएको भजनी–३ का मानबहादुर चुनाराले बताए ।
भजनीको ठेकीमा पर्ने कान्द्रा नदीमा २०६८ बाट हुलाकी सडक आयोजनाले पुल निर्माण सुरु गरेको थियो । तर १० वर्षमा पनि सो पुलको ५५ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । आयोजनाले हुलाकी सडकको एलाइनमेन्ट चेन्ज भए पनि पुलको ठाउँ परिवर्तन गर्न परेको र ठाउँ परिवर्तन हुँदा फाउन्डेसन पनि परिवर्तन गर्न परेको ढिलो भएको जनाएको छ । “पहिले कर्मदेवमा पुल बनाउने योजना थियो । पछि ठेकीमा बनाउनुपर्ने भयो,” हुलाकी सडक आयोजनाका इन्जिनियर पदम मडैले भने, “फाउन्डेसनको डिजाइन परिवर्तन गर्नै साढे चार वर्ष लाग्यो । ०७२ मा आएर बल्ल नयाँ डिजाइन स्वीकृत भयो र त्यही वर्षदेखि ठेकेदारले काम सुरु ग¥यो । ठेकदारले राम्रोसंँग काम गरिदिएन, एकदमै लापरबाही ग¥यो ।”
आयोजनाले ठेकेदारले सुरुमा लापरबाही गरे पनि अहिले काम तीव्र गतिमा गरिरहेको दाबी गरेको छ । हामीले कान्द्राको पुल चैतभित्र निर्माण गरी नयाँ वर्षमा उद्घाटन गर्ने लक्ष्य लिएका छौं,” इन्जिनियर मडैले भने, “अब ढिलो हुँदैन । चैतमा गाडी हिँंडाउँछौं ।”
२०६६ साल जेठ ३१ गते तीन करोड ४५ लाख २० हजार रुपैयाँको लागत सम्झौतामा दुई वर्षको निर्माण अवधिसहित लामा शेर्पा जेभीले सो पुल निर्माणको ठेक्का लिएको थियो । तर काम नभएपछि २०६८ बाट अर्को सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्