त्रिवेणी कपको पुरस्कार राशि ५ लाख «

त्रिवेणी कपको पुरस्कार राशि ५ लाख

लमजुङको सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिताको पुरस्कार राशी वृद्धि भएको छ । हरेक वर्ष तमु ल्होसारको अवसरमा आयोजना हुने राष्ट्रव्यापी त्रिवेणी कपको २९ औं श्रृंखलामा पुरस्कार राशि ५ लाख पु-याएको क्लवले जनाएको हो ।
उपयुक्त खेल मैदानको अभावमा पनि जिल्लामा राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले शनिबार सदरमुकाम बेंसीसहरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । यसअघिको प्रतियोगिताहरूमा प्रथम पुरस्कार तिन लाख रहेकोमा यसै वर्षदेखि उपाधि विजेतालाई २ लाख थप गरी पुरस्कार राशि ५ लाख पु-याइएको अध्यक्ष विनोद गुरुङले बताए । त्यसैगरी उपविजेताको पुरस्कार राशि पनि तिनलाख रुपैया पु¥याईएको क्लव अध्यक्ष गुरुङले बताए ।
२७ वर्ष पहिले खेतको गराबाट त्रिवेणी कप सुरु भएको थियो । टालाको बल खेलेर सुरु गरिएको प्रतियोगिताको प्रथम पुरस्कार नगद ३ हजारसहित खसी थियो । २६ औं वर्षमा आइपुग्दा त्रिवेणी कप उपाधि ३ लाख रुपैया नगद भएको थियो भने अहिले पुरस्कार राशि थप वृद्धि गरिएको क्लवले जनाएको छ ।
जिल्लाकै सर्वाधिक पुरस्कार रहेको त्रिवेणीकप फुटबल प्रतियोगिताको उपाधि वृद्धि भएसँगै क्लबले जिल्ला भित्रकै फुटबल खेलाडीहरूलाई समेटेर व्यावसायिक टिम बनाउने समेत जनाएको छ । जिल्लाका विभिन्न क्षेत्रमा फुटबल खेल्दै आएका खेलाडीहरू मध्ये उत्कृष्ट खेलाडीहरूलाई छनौट गरी व्यावसायिक टिम बनाउने तयारी गरेको अध्यक्ष गुरुङको भनाइ छ ।
जिल्लाका उत्कृष्ट खेलाडी छनौटसँगै उनीहरूका लागि आवश्यक पारिश्रमिक एवं प्रशिक्षण व्यवस्था गर्ने र क्लवको तर्फबाट जिल्ला बाहिर सञ्चालन हुने विभिन्न राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरूमा समेत सहभागिता जनाउने क्लबको तयारी छ ।
त्रिवेणी कपलाई जिल्लामा हुने मेला महोत्सव जस्तै उत्कृष्ट पर्वको रुपमा लिने गरिएको छ । त्रिवेणी खेल मैदानबाट फुटवल खेल शुरुगरेकाहरू राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भइसकेका छन् । प्रतियोगितामा जिल्ला बाहिरका विभिन्न क्लवहरू मार्फत राष्ट्रिय खेलाडीहरूले समेत सहभागिता जनाउने गरेका छन् ।
आगामी पुस १२ देखि सुरु हुने प्रतियोगिता सम्पन्न गर्न ३३ लाख ६० हजार खर्च हुने समेत क्लवले अनुमान गरेको छ । प्रतियोगिताका लागि पौष १० गते भित्र टिम दर्ता गरिसक्नुपर्ने क्लबले जनाएको छ ।

क्लबद्वारा दिवंगत सल्लाहकारको परिवारलाई आर्थिक सहयोग
त्रिवेणी युवाक्लवले दिवंगत भएका क्लवका सल्लाहकार धर्मराज श्रेष्ठको परिवारलाई आर्थिक सहयोग गरेको छ । क्लब स्थापनाकालदेखि लामो समयसम्म क्लवमा सल्लाहकारको भूमिकामा सहयोग गरे दिवंगत श्रेष्ठको परिवारलाई समवेदनासहित ५० हजार रुपैयाँ सहयोग गरेको हो ।
शनिबार आयोजित पत्रकार सम्मेलनको क्रममा क्लवका अध्यक्ष विनोद गुरुङले श्रेष्ठको धर्मपत्नी सुमन श्रेष्ठलाई ५० हजार रुपैया चेक हस्तान्तरण गरेका हुन् । दिवंगत श्रेष्ठको सम्मान गर्दै पारिवारिक राहात स्वरुप आर्थिक सहयोग गरिएको क्लवले जनाएको छ ।
विभिन्न सामाजिक संघ सँस्थामा आबद्ध श्रेष्ठको गत जेठ २ गते असामहिक निधन भएको थियो । लामो समयदेखि मधुमेहको समस्या झेल्दै आएका श्रेष्ठ कोभिड–१९ को संक्रमण पछि उपचारकै क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा निधन भएको थियो । श्रेष्ठको परिवारलाई यसअघि लमजुङ उद्योग बाणिज्य सँघ, नेपाल घरेलु तथा साना उद्योग महासँघ लमजुङ, बेंसीसहरस्थित नेवारी समूदायको धर्मश्री गुठीले पनि आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्