प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेका छौं «

प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेका छौं

नियन्त्रण तथा विकासदेखि लिएर नागरिकका ससाना समस्या समाधान गर्न स्थानीय तहहरू व्यस्त पनि देखिन्छन् । जनअपेक्षाअनुसार स्थानीय तहले प्रभावकारी काम गरून् भन्ने जनताको माग छ । तर, केही स्थानीय तहका काम भने अपेक्षाअनुसार भएको समेत पाइँदैन । स्थानीयलाई रोजगारीका लागि प्राथमिकतामा राखिएको छ । यस्तै विकासले नछोएको गाउँपालिकामा विभिन्न किसिमका विकास निर्माण तथा भौतिक प्रगति भएको छ । सडकको पहुँच नभएका प्रत्येक टोलटोलमा सडकले छोएको छ । स्थानीय तहको कार्यकाल सकिन अब ६ महिनामात्र बाँकी छ । पहिलो कार्यकालमा के कति काम भए र अब छ महिनाको बाँकी समयमा के कति काम गर्न सकिन्छ भनी थलारा गाउँपालिका बझाङका अध्यक्ष भुवनेश्वर उपाध्यायसँग स्थानीय तहको विकास, अवसर, समस्यालगायतका विविध विषयमा केन्द्रित भई बझाङका कारोबारकर्मी मकरराज धामीले गरेको कुराकानीको सार :

तपाईं गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको चार वर्ष पूरा भइसकेको छ । कार्यकालको अन्तिम वर्षमा हुनुहुन्छ । आफ्नो कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?
हामी निर्वाचित भएको पहिलो वर्ष अध्ययनमै बित्यो । सबै विषय हाम्रा लागि नयाँ थिए । जसरी गाउँ विकास समितिको प्रशासनिक काम भइरहेको थियो, त्योभन्दा बेग्लै थियो । पहिलो वर्ष त हामीलाई प्रशासनिक काम–कारबाही के–कसरी गर्ने भन्नेमै सकियो । स्थानीय सरकार आइसकेपछि जनमुखी काम गर्नुपर्छ भनेर हामी व्यवस्थापनमै व्यस्त भयौं । पालिकाभरिमा नौवटा वडा छन् । सबै वडामा कार्यालय स्थापना गर्नुपर्ने भएकाले कार्यालय व्यवस्थापन कहाँ कसरी गर्ने, कर्मचारीको व्यवस्थापन कसरी गर्ने, गाउँपालिकाले कस्तो नीति तथा कार्यक्रम ल्याउने, आमजनताका आवश्यकता र माग के छन् भन्नेमै बित्यो । पहिले गाविस हुँदा पनि हामीसँग जनशक्ति कमै थियो । एकै सचिवले दुईवटा गाविस हेर्नुपर्ने थियो । हामीले कार्यकालको सुरुवातमै जनशक्तिको अभाव झेल्यौं । पहिलो वर्ष अध्ययनमै बिताएका हामीले दोस्रो वर्षसम्म पनि कर्मचारी अभाव हुँदा अपेक्षाअनुसारको काम गर्न सकिएन । कर्मचारी नहुँदा गाविसमा रहेका प्राविधिकहरूलाई पनि सचिवको जिम्मेवारी दिएर कार्यसम्पादन ग-यौं । विशेष गरेर लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट, नीति तथा कार्यक्रम ल्याउन ठूलै समस्या भोग्नुप-यो । पछि कर्मचारी त पायौं, तर पछिल्ला दुई वर्ष कोरोना महामारीले भएको बन्दाबन्दीका कारण गाउँपालिकाका कार्यक्रम प्रभावित भए । हामीले कायापलट नै गरेका छौं त भन्दैनौं, तर पनि जनमुखी काम भने गरेका छौं । हामीले जनताको पहिलो आवश्यकता शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पुलपुलेसा, सिँचाइ, नहर र सडक पूर्वाधार क्षेत्रमा राम्रै काम गरेका छौं । मलाई लाग्छ, हामीले यो अवधिमा सर्वसाधारणका आधारभूत आवश्यकताहरू पूरा गरेका छौं ।

विकास निर्माण भन्नाले सडक निर्माण मात्र हो भन्ने बुझाइ छ । अन्य पूर्वाधारतर्फ खासै चासो दिएको पाइँदैन । तपाईंको कार्यकालमा केकति पूर्वाधारको विकास गर्नुभयो ।
तपार्इंले भनेको कुरामा धेरै हदसम्म मेरो सहमति छ । अहिलेको पुस्ता सुविधाभोगी छन् । गाउँसम्म सहजै सडक सञ्जाल जोडिए सबै सुविधा गाउँमै पुग्छ भन्ने मान्यताका कारण पनि अधिकांशको जोड सडक निर्माणमै थियो । जनताको माग नै सडक भएकाले हामीले यो अवधिसम्म पालिकाभरिका सबै वडाबाट गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण गरेका छौं । अहिले सबै वडामा सडकको सहज पहुँच पुगेको छ । पालिकाका नौवटै वडामा शाखा सडक विस्तार भएका छन् । भौतिक संरचनाको अभाव हुँदा भाडाका भवनमा कार्यालय स्थापना गरेको नौवटै वडामा भूकम्पप्रतिरोधी भवनको निर्माण सम्पन्न भई आफ्नै भवनबाट सेवा दिइरहेका छन् । पालिकाभरिका विद्यालयमा उचित भौतिक संरचना निर्माण गरेका छौं, जसमध्ये हामीले २५ वटा विद्यालयमा भूकम्पप्रतिरोधी भवन निर्माण गरेका छौं । स्वास्थ्य क्षेत्रमा सबैको पहुँचका लागि सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरेका थियौं । कतिपय स्वास्थ्य एकाइ पनि भाडाकै भवनमा सञ्चालन थिए र हामीले प्रत्येक वडामा सुविधा सम्पन्न सामुदायिक स्वास्थ्य एकाइ र वर्थिङ सेन्टरका भवन निर्माण गरेका छौं । कृषि क्षेत्रमा नभइनहुने सिँचाइ नहर हो । हामीले तरकारी खेतीका साथै अन्न उब्जने फाँटहरूमा सिँचाइका लागि नहर, खानेपानीको मुहान टाढा भएकाले अभाव भएको ठाउँमा विभिन्न संघसंस्थासँगको सहकार्यमा खानेपानी आयोजना निर्माण गरेका छौं । एक गाउँबाट अर्को गाउँ जाने बाटो वर्षायाममा चिप्लो हुने हुँदा धेरैजसो ठाउँमा पीसीसी बाटोहरू, खोलाहरूमा पुल निर्माणलगायतका पूर्वाधारहरूको निर्माण गरेका छौं । पूर्वाधारतर्फ पनि मागमा आधारित योजना निर्माण भएका छन् ।

तपाईं पूर्वशिक्षक पनि हो । शैक्षिक क्षेत्रका समस्यासँग परिचित हुनुहुन्छ । तपाईंको कार्यकालमा शैक्षिक क्षेत्रका समस्या समाधान भए÷भएनन् वा शैक्षिक क्षेत्रमा ल्याएको परिवर्तन के हो ?
म निर्वाचित भएदेखि शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको छु । म विद्यालय बेरोजगार उत्पादन गर्ने कम्पनीजस्तै बन्नु हुँदैन भन्ने मान्यता राख्छु । शैक्षिक क्षेत्रमा गुणस्तर सुधार गर्न यो अवधिमा धेरै काम भएका छन् । मैले प्राविधिक शिक्षामा जोड दिएको थिएँ । भौगोलिक हिसाबले गाउँहरू टाढा हुँदा विद्यालय पनि धेरै छन् तर सबै विद्यालयमा आवश्यकताअनुसारको दरबन्दी थिएन । समुदायले निजी स्रोतबाट चन्दा उठाएर शिक्षकको तलब बेहोर्नुपर्ने अवस्था थियो । हामीले सबै विद्यालयमा आवश्यकताअनुसारका स्वयम्सेवक शिक्षक भर्ना गरेर पठनपाठमा सहजता ल्याएका छौं । यो प्रविधिको युग भएकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेका छौं । अहिले गाउँपालिकाको सामुदायिक विद्यालयमै प्राविधिक शिक्षा प्रदान गर्न सुरु गरेका छौं । आधारभूत विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न सबै विद्यालयमा कम्प्युटर शिक्षक र आवश्यक कम्प्युटरको व्यवस्था गरेका छौं । पालिकाभरिका विद्यालयमा हुने परीक्षामा एकरूपता ल्याउने गरी कार्यक्रम ल्याएका छौं । शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूसँग छलफल गर्ने गरेका छौं । शैक्षिक क्षेत्रमा अन्य विकासका लागि आवश्यक बजेट विनियोजन गर्दै आएका छौं ।

थलारा गाउँपालिकावासीले हरेक वर्ष भोकमरीको समस्या हुने गरेको भनेर गुनासो गरिरहनुहुन्छ । कृषि क्षेत्रमा गाउँपालिकाले ध्यान नदिएको गुनासो पनि सुनिन्छ । यसप्रति तपाईंको ध्यान किन नगएको ?
भूगोलका कारण अन्न उत्पादनमा कमी हुँदा प्रायःजसो यस्ता गुनासा हामीकहाँ पनि आइरहन्छन् । तर, तपाईंले भनेको जस्तो गाउँपालिकाको ध्यान नगएको भने पक्कै होइन । हामीले पहिलो प्राथमिकता नै कृषिलाई दिएका छौं । हामीले माटो परीक्षण गरेर कुन ठाउँमा के खेती गर्दा उपयुक्त हुन्छ भनेर पनि अध्ययन गरेका छौं । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नजिकका गाउँहरूमा यो समस्या देखापरेको छ । कृषकहरूको बालीनालीमा जंगली जनावरले क्षति गर्दा भोकमरीको समस्या भएको छ । हामीले अन्न उत्पादन नभए व्यावसायिक रूपमा फलफूल तथा तरकारी खेती गर्न सकिन्छ कि भनेर अध्ययन पनि गरेका थियौं । अन्न कम उत्पादन हुने ठाउँमा फलफूल वा तरकारी खेती पकेट क्षेत्र बनाएर कार्यक्रम ल्याएका छौं । हामीले कृषक समूह र सहकारीमार्फत सहजै लक्षित वर्गसम्म कार्यक्रमको पहुँच पु¥याएका छौं । सबै वडामा भूगोल हेरेर फलफूल र तरकारी पकेट क्षेत्र घोषणा गरेका छौं । त्यसको व्यवस्थापनका लागि आवश्यक बजेट पनि विनियोजन भएको छ । सबै वडामा भूगोल हेरेर माथिल्लो क्षेत्रका गाउँमा फलफूल, तरकारी, पशुपालन र नदी तटीय क्षेत्रमा धान खेतीलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएका छौं । कृषकहरूको उत्पादनलाई बजारसम्म पु-याउनका लागि पनि हामीले सहयोग गरेका छौं । कृषि उत्पादनमा आत्मनिर्भर बनाउन र जीविकोपार्जनका लागि सहजता ल्याउने खालका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

गाउँपालिकाका सयौँ युवा कामको खोजीमा भारत तथा अन्य मुलुकमा जाने क्रम रोकिएको छैन । स्वदेशमै युवाहरूलाई स्वरोजगार बनाउनका लागि के गर्नुभयो ?
हामीले कार्यक्रम ल्याउनुभन्दा अगाडि नै प्रत्येक वडामा गएर स्वरोजगारसम्बन्धी युवाहरूले केके गर्न सक्छन् भनेर तथ्यांक संकलन गरी जीविकोपार्जन, आयमूलक र सीपमूलक कार्यक्रम ल्याएका छौं । तर, यो समस्या हामीहरूले मात्र समाधान गर्न सकिने अवस्था छैन । जबसम्म युवाहरूमा आफ्नो ठाउँमा मैले आफैंले केही गर्नुपर्छ भन्ने सोच पलाउँदैन तबसम्म यो काम गर्न सकिँदैन । अहिले युवाहरूको विदेश पलायन एक प्रकारको फेसन नै भएको छ । स्वदेशमा जाँगर चलाउँदैनन् । हामीले युवाहरूलाई स्वरोजगार बनाउनका लागि विभिन्न किसिमका सीपमूलक र आयआर्जनमूलक कार्यक्रम लागू गरेका छौं । व्यावसायिक भेडाबाख्रा पालन, व्यावसायिक तरकारी खेती, कुखुरापालन, फलफूल खेती, कम्प्युटरसम्बन्धी तालिम, इलेक्ट्रोनिक मर्मत तालिम, हाउस वायरिङलगायतका तालिम दिएका छौं । अहिले कतिपय युवाहरू गाउँमै व्यवसाय गरेर बसिरहेका छन् ।

तपाईंले आफ्नो कार्यकालमा गरेका काम वा गर्न चाहेर पनि गर्न नसकेको काम, जसले तपाईं आफैं असन्तुष्टि हुनुभएको छ, कुनै काम छन् त्यस्तो ?
छ नि, किन नहुनु ? मेरो कार्यकाल सकिँदासम्म म आफैंले गरेका काममा ७० प्रतिशतजति सन्तुष्ट छु । कोरोनाको पहिलो कहरमा मेरा नागरिक भारतमा फसेका थिए । प्रदेश सरकार र केन्द्रीय सरकारसँग हारगुहार गर्दा पनि कसैले वास्ता गरेनन् । पछि आफैंले त्यहाँको प्रदेश सरकारसँग समन्वय गरेर एक सयभन्दा बढी थलारावासीको उद्धार गरेर ल्याएँ । त्यो अवधिभर सबै व्यवस्था गरे पनि उनीहरूको दुःख देखेर धेरै कार्यक्रम ल्याएँ, तर पनि म सफल भइनँ । यसै महिनाको पहिलो दिन आएको विपद्ले ठूलो धनजनको क्षति भएको छ । वडा नं. ४ डिक्लामा गएको पहिरोमा परी २३ जना बेपत्ता भएकोमा चार जनाको मात्र शव फेला परेको छ । दुई परिवारका दुई जनामात्र बचेका छन् । सात घरको नामनिसाना छैन । सोही ठाउँमा मात्र झन्डै दुई सय परिवार विस्थापित हुने अवस्थामा छन् । उनीहरूको उचित व्यवस्थापन गर्नका लागि बजेट छैन । उनीहरू उच्च जोखिममा छन् । यो अवस्थामा कसरी सन्तुष्ट मिल्छ । मैले प्रदेश र केन्द्रीय सरकारसँग बस्ती स्थानान्तरणका लागि माग गरेको छु । तर, सम्बोधन हुने अवस्था छैन । खप्तड राष्ट्रिय निकुञ्ज नजिक भएकाले पर्यटन क्षेत्रको विकासका लागि विशेष योजनाअन्तर्गत खप्तड जोड्ने सडक निर्माण गर्ने चाहना थियो । थलारा गाउँपालिकामा रिङरोड बनाउने सपना थियो । अरू सबै काम सके पनि मेरो कार्यकालमा पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण यी काम हुन सकेन ।

कतिपय स्थानीय तहले स्थानीय तहको कानुन निर्माण नगरेको भन्ने सुनिन्छ । कानुन बनाएको भए पनि कार्यान्वयन नभएको अवस्था छ, तपाईंको गाउँपालिकाले यस विषयमा के गरेको छ ?
स्थानीय तहमा रहेको गाउँसभा र नगरसभाले कानुन निर्माण गर्दा प्रदेशले जारी गरेको कानुनबमोजिम गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहले कानुन निर्माणमा धेरै समस्या भोगिरहेका छन् । त्यो समस्या हामीकहाँ पनि आयो । कानुन निर्माणसम्बन्धी दक्ष जनशक्ति र विज्ञता नहुनु, जनप्रतिनिधिमा कानुन निर्माण गर्नुपर्छ भन्नेमा पर्याप्त ज्ञान नहुनु, कानुन निर्माणको चरणका बारेमा नै जानकारी नहुँदा कानुन निर्माणमा समस्या भयो । कानुनी साक्षरताको कमी, व्यवस्थापन कार्यविधिको उचित अभ्यासको कमी, सरोकारवालासँग छलफल नहुने तथा जनप्रतिनिधिले कानुन निर्माणमा भन्दा विकास निर्माणलाई मात्र प्राथमिकता दिँदा समस्या आइपरेको हो । यसका बाबजुद पनि गाउँपालिकाले २६ वटा ऐन, नियमावली र कार्यविधि गाउँसभाबाट पारित गरी कार्यान्वयन भइरहेको छ भने कति कानुन कार्यान्वयनको चरणमा छन् । गाउँपालिकाले सार्वजनिक खरिद नियमावली–२०७५, शिक्षा ऐन–२०७५, डोजर सञ्चालनसम्बन्धी कार्यविधि–२०७६, विपद् व्यवस्थापन जोखिम न्यूनीकरणसम्बन्धी कार्यविधि–२०७५, एकल पुरुष भत्ता वितरण कार्यविधि–२०७७ लगायतका २० वटा कानुन निर्माण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्