कोरोनासँगै मौसमी रुघाखोकीको प्रकोप «

कोरोनासँगै मौसमी रुघाखोकीको प्रकोप

विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरस र विभिन्न चरणमा देखिएको कोरोनाको म्युटेन्डसँगै हाम्रो मुलुकमा पनि थप मौसमी रुघाखोकीको समस्या दिनानुदिन थपिँदै गइरहेको अवस्था छ । हाम्रो मुलुक विविध हावापानी र फरक समयमा हुने जलवायु परिवर्तनसँगै मौसमी परिवर्तनको कारणले पनि बालबालिका तथा वृद्धवृद्धाहरूलाई विभिन्न रोगले सताउने गर्छ । कात्तिकमा परेको बेमौसमी वर्षाको कारणले गर्दा पनि अहिले राजधानी काठमाडौंलगायत विभिन्न ठाउँमा बिहान–बेलुकाको समयमा चिसो ह्वात्तै बढेको छ । चिसो बढेका कारण मौसमी रुघाखोकी तथा विभिन्न सरुवा रोगका बिरामीहरूको अस्पतालहरूमा दिनानुदिन चाप देख्न थालिसकेको छ ।
विशेष गरी १० वर्षभन्दा मुनिका बालबालिकाहरूमा अहिले बढी मौसमी रुघाखोकीको प्रकोप बढिरहेको छ भने प्रायः बिस्तारै सवै उमेर समूहलाई पनि यो मौसमी रुघाखोकीले सताउन थालिसकेको अवस्था छ ।
यो समय भनेको चिसोको समय पनि हो । त्यही भएर बालबालिकाहरू बढी मात्रामा यस मौसमी रुघाखोकीबाट ग्रसित भएका छन् । तर, मौसमी रुघाखोकी लाग्दैमा कोरोना हो भनेर भ्रममा पर्नु हुँदैन । किनभने कोरोना भाइरस र मौसमी रुघाखोकी सरुवा रोग भए तापनि कोरोना भाइरसको उच्च जोखिम रहेको कारणले भाइरस सर्ने सम्भावना बढी रहेको हुनाले विशेष गरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी सचेत रहनु जरुरी हुन्छ । जाडो मौसम सुरु भएकाले मौसमी रुघाखोकी जुनैसुकै उमेर समूहको लागि पनि लाग्न सक्छ सर्न सक्छ । घाँटीमा टन्सिल भएजस्तो हुने, नाक बन्द भएजस्तो हुने, बारम्बार हाच्छिउँ आउने, ख्यासख्यास खोकी र पातलो सिँगान बग्ने जस्ता लक्षण भए मौसमी रुघाखोकी हो भन्ने कुरा जानकारी हुनुपर्छ र समयमा नै सचेत हुनुपर्छ ।
यो रुघाखोकी अत्यन्तै छिटो सर्ने सरुवा रोग भएकाले गर्दा सधैं मास्कको प्रयोग गर्नुपर्छ । सेनिटाइजरको प्रयोग गर्नुपर्छ । स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नुपर्र्छ ।
कोरोनासँगै मौसमी रुघाखोकीको प्रकोप बढिरहेकाले भीडभाडबाट टाढै रहनुपर्छ । यसका लागि विशेष गरी आफ्ना बालबालिकाहरूलाई तातो–न्यानोको व्यवस्था गरिदिने, सधैं पोसिलो र बढी प्रोटिनयुक्त गेडागुडी भएको झोल पदार्थ खान दिने, सधैं उमालेको पानी मानतातो बनाएर खान दिने गर्नुपर्छ । रुघाखोकी निरन्तर बढेमा वा कम नभएमा तुरुन्त नजिकको स्वास्थ्यचौकी वा अस्पतालमा गएर जँचाउने गर्नुपर्छ । कोरोनाको उच्च जोखिम अत्यन्तै रहे तापनि कोरोनाविरुद्धको खोप लगाए तापनि खानपिनमा समस्या हुँदा पनि मौसमी रुघाखोकी लाग्न सक्छ । त्यसैले यो चिसो मौसमको समयसँगै भाइरसले छिटो संक्रमण गर्ने भएकाले गर्दा पनि निकै सचेत भएर हिँडडुल गर्नुपर्छ ।
हाम्रो मुलुकको तराई क्षेत्रमा जाडो मौसममा बढी शीतलहर लाग्ने भएकाले उच्च सावधानी अपनाउन जरुरी हुन्छ । तराई क्षेत्रमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी र बालबालिकाहरूमा बर्सेनि चिसो शीतलहरका कारण निमोनियाँको कारणले मृत्यु भएको खबर आइरहँदा अहिलेदेखि नै उच्च सावधानी अपनाउनु जरुरी देखिन्छ ।
रुघाखोकी मात्रै होइन, चिसोले बालबालिका तथा वृद्धवृद्धाहरूलाई निमोनियाँजस्ता डरलाग्दा रोग देखा पर्ने भएकाले स्थानीय सरकारले जाडो बढी भएको ठाउँमा वा तातो–न्यानोको कमी भएको घरपरिवारको ठाउँमा पुगेर तातो–न्यानोको व्यवस्था गर्नु जरुरी हुन्छ । झन आउने मङ्सिर, पुस, माघ अत्यन्तै जाडो हुने मौसम भएका कारण पनि कोरोनासँगै मौसमी रुघाखोकीको प्रकोप बढी हुने भएकाले गर्दा पनि यस महामारीबाट बच्नु उत्तिकै जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्