गण्डकी प्रदेशमा ३.६८ खर्ब निक्षेप «

गण्डकी प्रदेशमा ३.६८ खर्ब निक्षेप


बैंक तथा वित्तीय संस्थाहरूले गण्डकी प्रदेशमा ३ खर्ब ६८ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । २०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २२.४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययनमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरुका शाखा विस्तार, सरकारले उपलब्ध गराउने पेन्सन लगायत विभिन्न सुरक्षा भत्ताहरु तथा भारत सरकारले अवकाशप्राप्त सैनिकलाई प्रदान गर्ने पेन्सन बैंक खातामार्फत उपलब्ध गराउन थालेकोले निक्षेपमा उल्लेख्य वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा कुल निक्षेप ५०.२ प्रतिशतले वृद्धि भएको थियो ।
यसैगरी गण्डकीमा बैंकहरुको कर्जा लगानी २७.७ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ३०.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
गण्डकीमा २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या एक हजार ३६६ पुगेको छ । यसमध्ये सबैभन्दा बढी कास्की जिल्लामा ३६३ र सबैभन्दा कम मनाङमा १७ रहेका छन् । २०७८ असारसम्ममा प्रदेशमा निक्षेपकर्ताहरुको संख्या पनि अघिल्लो वर्षको तुलनामा १२.९ प्रतिशतले वृद्धि भई ४१ लाख ६४ हजार पुगेको छ । बैंकिङ कारोबारसँगै सर्वसाधारणमा वित्तीय चेतनामा भएको वृद्धिले बैंकिङ कारोबार र निक्षेपकर्ताको संख्यामा बढोत्तरी भएको प्रतिवेदनले औंल्याएको छ ।
२०७८ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित औद्योगिक कर्जा २०७७ असार मसान्तको तुलनामा ७ प्रतिशतले वृद्धि भई कुल रु.६१ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३६.७ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी बैंक तथा वित्तीय संस्थाहरुबाट यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा २०७७ असार मसान्तको तुलनामा ५७.१ प्रतिशतले वृद्धि भई २६ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २९.७ प्रतिशतले वृद्धि भएको थियो । कृषि कर्जामध्ये करिव ५६ प्रतिशत कर्जा कास्की (३७ प्रतिशत) र नवलपरासी (पूर्व) (१८.९ प्रतिशत) जिल्लामा मात्रै प्रवाह भएको छ । व्यावसायिक कृषितर्फ आकर्षण बढ्दै गएपछि कृषि कर्जा उल्लेख्य रुपमा बढेको हो ।

प्रतिक्रिया दिनुहोस्