बधशाला नहुँदा समस्या

तेह्रथुम-व्यवस्थित बधशाला नहुँदा तेह्रथुमको आठराई गाउँपालिकाका उपभोक्ता खुला भुइँमा बध गरिएको मासु उपभोग गर्दै आएका छन् । उपभोक्तालाई सफा मासु उपलब्ध गराउन सक्रन्तीबजारमा व्यवस्थित बधशाला निर्माण गर्न सरोकारवालाले कुनै चासो नदेखाएपछि अस्वस्थ्य मासु खान बाध्य भएको उपभोक्ताहरूले गुनासो गरेका छन् ।
आठराई क्षेत्रका दर्जनबढी गाउँ र ताप्लेजुङको केही बस्तीहरूको व्यापारिक केन्द्र सक्रान्तिबजारमा अहिलेसम्म पनि व्यवस्थित बधशाला बन्न नसक्दाबीच बाटोमा नै बध गरिएको मासु खान स्थानीयहरू बाध्य छन् । बधशाला निर्माणका लागि सम्बन्धित निकायले ध्यान नदिँदा बर्खामा हिलो लागेको र हिउँदमा धुलो लागेको मासु खान बाध्य भएको स्थानीय खाम्लालुङकी मेन्छिमाया तामाङले गुनासो गरिन् । भनिन्, “नखाऊ भने खानु मन लाग्छ कहिल्यै पनि सफा मासु खान पाइएन ।”
वर्षौंदेखि मासु व्यापारीहरूबीच बाटोमा नै मासु बेचिरहेका छन् । तत्कालीन जिल्ला पशु सेवा कार्यालय, उद्योग वाणिज्य संघ र गाउँपालिकालाई पटक–पटक बधशाला निर्माणका लागि माग गर्दा पनि कुनै पहल नभएको स्थानीय मासु व्यापारी डम्बर योञ्जनले बताए । “बधशासा नभएपछि भुइँमा मासु बेच्न बाध्य छौं,” उनले भने ।
आठराई गाउपालिकाको केन्द्र सक्रान्तिबजारमा हरेक महिनाको १ गते, औंसी र पूर्णिमाको दिन हटिया लाग्छ । ५० बढी होटल रहेको सक्रान्तिबजारमा दैनिक रूपमा मासु खपत बढे पनि सम्बन्धित निकायको बेवास्ताका कारण बधशाला बन्न नसकेको मासु व्यवसायी ज्ञानेन्द्र कन्दङवाले बताए । उनले भने, “मासु व्यवसायी आफैं मिलेर पैसा पनि जुटायौं तर बधशाखा बनाउने ठाउँ नै पाइएन ।”
आठराई गाउँपालिकाकाले बधशाला निर्माणका लागि आर्थिक वर्ष ०७५÷७६ मा ५ लाख बजेट विनियोजन गरेको छ । तर उचित स्थानको अभावमा उक्त योजना सञ्चालन हुन समस्या रहेकोे मासु व्यवसायीको भनाइ छ ।