नेवारी खाजाको क्रेज «

नेवारी खाजाको क्रेज

त्यसो त नेवारी खाजा काठमाडौंबासीका लागि पुरानो खाजा होइन । तर, पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । नेवारी खाजाले व्यावसायिक रूप पनि लिँदै आएको छ ।
ग्राहकहरू पनि नेवारी खाजाको स्वाद लिन खोजी–खोजी नेवारी होटलहरूमा जाने गरेको पाइन्छ । युवा वर्ग, परिवारको साथमा रमाइलो गर्न वा स्वादको मज्जा लिन नेवारी होटलतिर ग्राहकको आकर्षण बढ्दै गएको छ । काठमाडौं उपत्यकाभित्र करिब ८० प्रतिशत नेवारीहरू बसोबास गर्ने अनुमान छ ।
उपत्यकाभित्र रहेर नेवारी खाजाको स्वाद नलिएको व्यक्ति त सायदै होला । नेवारी खाजाघर विस्तारै ब्राण्डको रूपमा पनि स्थापित हुँदै गइरहेको छ । नेवारभित्र आ–आफ्नो चालचलन भएपनि खाना भने भिन्न रहेको पाइँदैन । अधिकांश नेवारी जाति बाक्लो बस्ती रहेको उपत्यकामा यसको ग्राहक बढ्दै जानु स्वभाविक नै हो । साना होटलदेखि रेष्टुराँसम्ममा यसको व्यापार बढ्दै गइरहेको छ ।
यहाँ बसेर केही हुदैन भन्नेको लागि पनि राम्रो व्यवसायको रुपमा लिइने गर्दछ नेवारी खाजा घर । यो व्यवसायबाट नै नाम र मनग्य आम्दानी कमाइरेहका छन् नेवारी रेष्टुरा र होटलहरूले । यसमा विदेशी पर्यटक भन्दा नेपाली ग्राहकको आकर्षण नै बढी रहेको छ । करिब ८५ प्रतिशत नेपाली समुदाय नै नेवारी खाजाप्रति आकर्षित भएको पाइन्छ ।
कीर्तिपुरमा रहेको लहना, सःसः द नेवा रेष्टुराँमा ग्राहकको मोह बढी मात्रामा रहेको पाइन्छ । नयाँ पुस्तालाई लक्षित गर्दै शुक्रबार र शनिबार यस्ता होटलहरूमा मनोरञ्जनसम्बधि विविध कार्यक्रमहरू सञ्चालनमा ल्याउँदा पनि यसको आकर्षण बढ्दै गएको छ । यसका साथै परिवारजनसँग जाने ग्राहकको पनि उपस्थिति बढी मात्रामा रहेको देखिन्छ । तर नेवारी खानामा भने सम्पूर्ण वर्गलाई समेटिएको पाइन्छ ।

सःसः दि नेवा रेष्टुरेन्ट
नामैले निकै चर्चित रहेको सःसः अहिले ग्राहकको रोजाइमा पर्न पुगेको एक नेवारी रेष्टुरेन्टमध्ये पर्दछ । कीर्तिपुरको सगल टोलमा रहेको यस रेष्टुरेन्ट अनुमानित ५ लाखको लगानीमा चार जनाको सेयरमा सन् २०६६ सालमा स्थापना भएको थियो । कीर्तिपुर पहिलेदेखि नै नेवारी खाजामा निकै प्रख्यात छ ।
यहाँ ससुरालीमा जसरी ज्वाइँको सम्मान गरेर नेवारी चलनअनुसार खाना खुवाइन्छ, त्यसैगरी ग्राहकको पनि सेवा गरिन्छ र त्यही अनुसार नेवारी खाजा तयार गरिन्छ । यहाँ विभिन्न क्षेत्रबाट ग्राहकहरू नेवारी खाजाको स्वाद लिन र नेवारी संस्कृतिको बारेमा बुझ्न आउँछन् । नेपालीहरूमात्र नभएर विदेशी पर्यटकहरू पनि नेवारी खाजाप्रति आकर्षित भएर खाजा खान आउने गर्दछन् । विदेशीहरूमा पनि जापानिजहरू बढी मात्रामा आउने गरेका रेष्टुरेन्टका प्रोमोसनल म्यानेजर क्यूबी महर्जनले बताए ।
नेवारी खाजाका साथसाथै नेवारी संस्कृतिलाई पनि प्राथमिकता दिँदै आएको महर्जनको भनाइ छ । सःसःमा विशेषगरी समयबजी, चटामरी, छोइला, बारा, खाजा सेट, ऐला, थो, योमरी, हाँसको छोइला बढी मात्रामा व्यापार हुने पनि उनले बताए । हाँसको छोइला बनाउनका लागि तराईबाट हाँस ल्याइन्छ । यहाँ खाना, खाजाहरू पुरानै नेवारी शैलीमा टपरी र चरेसको प्लटेमा ग्राहकलाई दिइने गरेको छ । हप्ताको दुई दिन शुक्रबार र शनिबार धेरै नै बढी ग्राहक आउने र शनिबार साँझको समयबाट लाइभ ब्याण्डको प्रस्तुति हुने गरेको छ ।
शुक्रबार र शनिबार अनलाइबाट पनि धेरै रिजर्भेसन हुने बताइएको छ । जात्रा तथा मेलाहरूमा त झन् सःसः एकदम नै व्यस्त देखिन्छ । सञ्चालक फिरोज सिंह आफैं पनि गायक भएका कारण उनले पनि मनोरञ्जन दिँदै आएका छन् । सःसःको वातावरण रमाइलो र शान्त छ, त्यसैले परिवारहरू धेरै मात्रामा आउने गर्दछन् र मनोरञ्जन अनि खाजाको स्वाद लिन पनि जान्छन् ।
सःसःले धेरै राम्रो नाम र सम्मान पाएका कारण अन्य क्षेत्रमा पनि शाखा स्थापना गर्ने प्रोमोसनल म्यानेजर महर्जनले बताए । यहाँ खाना र खाजा धेरै नै स्वादिस्ट, सफा अनि त्यति महँगो नभएका कारण कलेजका विद्यार्थी बढी आउने उनको भनाइ छ ।
यहाँ दैनिक दुई सयभन्दा बढी ग्राहक आउने गर्दछन् । सःसः पहिलो एक नेवारी रेष्टुरेन्ट हो, जसले २०१० मा सार्क ट्रेड फयरमा सहभागी भई विदेशीहरूको पनि मन जित्न सफल भएको थियो ।

ल्होसा घासा अथेन्टिक
काठमाडौंको ज्याठास्थित ल्होसा घासा पनि नेवारी खाजा पारखीको लागि सञ्चालनमा ल्याएको रेष्टुराँ हो । संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको यस होटलमा सुरुका दिनमा १४ लाखका लगानीबाट सुरु गरिएको थियो । २०७४ साल असार २ गतेदेखि सञ्चालनमा आएको यस होटल पर्यटकीय मार्गमा भएको हुँदा पर्यटकहरूले पनि नेवारी स्वाद चाखेर राम्रो प्रतिक्रिया दिएको पाइन्छ । यो रेष्टुराँमा पनि नेपाली ग्राहकहरूको उपस्थिति नै बढी मात्रामा रहेको बताउँछन् होटलका सञ्चालक उत्तम डंगोल ।
ल्होसाको अर्थ स्नाक्स र घोसाको अर्थ गेडागुडी हो । नेवारी नामबाट राखिएको ल्होसा घासामा ग्राहकलाई दिने सेवा र स्वस्थ खानेकुरामा बढी ध्यान दिएको पनि देखिन्छ । यहाँ दैनिक व्यापार १२–१३ हजारसम्म हुने गरेको छ । विशेषगरी शुक्रबार र शनिबार ग्राहकको चहलपहल बढी हुने गरेको छ । यस होटलमा नेवारी शैलीका कोठाहरू र स्वादले जे केहीको पनि मन लोभ्याउन सक्छ । विदेशी पर्यटकहरूमा जापानिज र चाइनिजले विशेष गरी यहाँको चतामरी मन पराउने बताएका छन् । यहाँ चतामरी पिज्जा, छोइला, नेवारी बजी सेट, बारा, आलु साँधेको, ल्होसा घासा स्पेशल डबल फ्राई, ल्होसा घासा चतामरी आदि खाजाको सेटमा पाइन्छ । विशेष गरी यहाँ ग्राहकले रुचाइएका खाजामा चतामरी पिज्जा र चिकेन फ्राई पनि पर्छ ।
यसका साथै यसले पछिल्ला दिनमा शाखा विस्तारमा पनि जोड दिने बताएको छ ।

थसी नेवः बार एण्ड रेष्टुरेण्ट
ललितपुरको सिद्धिपुरमा रहेको नेवारी रोष्टुराँमा नेवारी खाजाको लागि मात्र भन्दा पनि स्वच्छ वातावरण र ग्रामीण नेवारी शैलीलाई नजिकबाट हेर्न पाउने र शान्त वातावरणमा रहेको रेष्टुराँको रुपमा समेत लिइन्छ । यस होटल सञ्चालनमा आएको तीन वर्ष भएको छ । रेष्टुराँ सञ्चालक सञ्जय सुवाल हुन् । उक्त क्षेत्रमा थसी नाम गरेको बिरुवा पाउने भएको हुदा उक्त बिरुवाको नामबाट यस होटलको नाम राखिएको हो । नेवारी शैलीमा सजाइएका कोठा र खाजाको स्वादका कारण यहाँ हप्तामा सातै दिन ग्राहकहरू पुग्ने गरेका छन् ।
यहाँ पनि विशेषगरी शुक्रबार र शनिबार भिड लाग्ने गर्दछ । यहाँको दैनिक व्यापार भने १० देखि १५ हजारसम्म हुने गरेको छ । यसका साथै यहाँ खाजामा नेवारी खाजा सेटमा बफ समयबजि, चिकेन समयबजि र भेज समयबजीको व्यवस्था गरिएको छ । यसका साथै यहाँ बफ चिल्ली, चिकेन चिल्ली, छोइला, चतामरी, बारा, आलु तामा आदि नेवारी खाजा पाईन्छ ।

नेवारी किचेन
ललितपुरस्थित पुल्चोकको लोबिम मलसँगै रहेको नेवारी किचेनले रेष्टुराँ सञ्चालनमा ल्याएको एक वर्ष भइसकेको छ । यस होटलका सञ्चालक राजिव श्रेष्ठ हुन् । उनले पोखरा लेकसाइडमा पनि १० वर्ष नेवारी होटल सञ्चालन गरेका थिए । यहाँ विशेषगरी नेवारी स्वाद र कोठाको शैलीमा पनि नेवारीपन भल्केको देखिन्छ । यहाँ पारिवारिक वातावरणका साथै नयाँ पुस्तालाई समेत लक्षित गरी खाने र बस्ने व्यवस्था गरिएको पाइन्छ । यसका साथै विदेशी पर्यटकलाई समेत छुट्टै मेनुको व्यवस्था गरिएको छ ।
यहाँ पनि शुक्रबार र शनिबार ग्राहकको भिड लाग्ने गरेको छ । यहाँ ग्राहकको रोजाइमा पर्न गएको नेवारी खाजा सेट र र मःम रहेको छ । यसका साथै पन्चाक्वा, छोईला, कचिला, बारा, चतामरी आदि नेवारी खाजाहरू यहाँ पाइन्छ ।

फेमस मोबाइल मःम सेन्टर एण्ड नेवारी खाजा
२०५४ सालमा यस होटलको स्थापना भएको थियो र अहिलेसम्म पनि यो व्यवसायमा निरन्तर लागि रहेको सञ्चालिका दिना प्रजापतिले बताइन् ।
भक्तपुर सूर्यविनायकमा रहेको यो खाजा घर नेवारी खाजामा भन्दा पनि मःममा बढी प्रख्यात छ । १० वर्षअगाडि बानेश्वरमा पनि शाखा खोलेको र दुई ठाउँमा भएका कारण समय दिन नसकेका कारण उता छोडी यतामात्र समय दिएको उनले बताइन् । यहाँ मःम र नेवारी खाजा खानको लागि पाटन, काठमाडौं र यहाँकै लोकल मानिसहरू आउने गरेका पनि उनले बताइन् ।
सुकुलढोका नेवारी खाजा घर

भक्तपुर त्रिपुरासुन्दरीमा एक वर्ष अगाडिदेखि पाँच लाखको लगानीमा यो खाजा घर सञ्चालनमा आइरहेको छ । दस वर्ष अगाडि भक्तपुर सूर्यविनायकमा पनि सञ्चालन गरिएको थियो । यस खाजा घरमा विशेषगरी नेवारी खाजा नै बनाइन्छ । यहाँ छोइला, कचिला, सेकुवा, बारा, लोकल रक्सी मसला हालेको आदि उपलब्ध हुने यस खाजाघरका सञ्चालक सिताराम लोहोलाले बताए । नेवारी चलनअनुसार सुकुलमा बसेर खाजा खाने गर्दछन् ।
पछिल्लो समय सञ्चालनमा आएका होटलहरूले व्यवसायको रुपमा भन्दा पनि नेवारी सस्ंकृति जोगाउन र खानालाई पनि सबै ग्राहकसमक्ष पुराउने हिसाबले सञ्चालनमा ल्याएको देखिन्छ । यसमा अधिकांश ग्राहकहरू नेपाली नै रहेको बताउँछन् होटल व्यवसायीहरू ।

 

 

प्रतिक्रिया दिनुहोस्