वैज्ञानिक र व्यावहारिक शान्ति शिक्षा : आजको आवश्यकता «

वैज्ञानिक र व्यावहारिक शान्ति शिक्षा : आजको आवश्यकता

सम्पूर्ण विश्व नै विभिन्न बहानामा अशान्तिको छाल मडारिएको सन्दर्भमा सबैमा वैज्ञानिक शान्तिमय संस्कृतिको विकास गर्नु नै आजको आवश्यकता हो ।

हरेक वर्ष १० नोभेम्बरमा विश्वभर शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाउने गरिन्छ । यो दिवस मनाउन सुरु गरेको सन् २००१ देखि पाइन्छ । यो वर्षको विश्व विज्ञान दिवस ‘बिल्डिङ क्लाइमेट–रेडी कम्युनिटिज’ भन्ने नाराका साथ विश्वभर शान्ति र विकासका लागि मनाइयो । सम्पूर्ण प्राणीको जीवनमा विज्ञानको महत्वपूर्ण भूमिका हुन्छ । वास्तवमा विज्ञानले नै जीवन सहज बनाउँछ । यस कुरालाई हृदयगत गरी संयुक्त राष्ट्रसंघले यो दिवस मनाउन सुरु गरेको पाइन्छ । सो क्रममा विज्ञानको प्रभाव, प्रगति, विकासले हाम्रो समाजमा पार्न सक्ने प्रभाव आवश्यकताबारे सम्पूर्ण मानवमा थाहा हुनुपर्छ ।
सो कारण समुदायलाई विज्ञानसँगसँगै महत्वपूर्ण पक्ष बनाएर अगाडि बढाउन आवश्यक छ भनी राष्ट्रसंघले बताउँदै आएको पाइन्छ । सो क्रममा विश्वका विभिन्न देशबीच वैज्ञानिक विकास र सोचमा एकरूपता होस् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एकतामा वृद्धि होस् भन्ने विचारका साथ यो दिवस मनाउने गरेको पाइन्छ । विश्वका सबै राष्ट्रमा सामाजिक लाभका लागि विज्ञानको प्रयोग, विज्ञानको उपयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू नवीकरण होस्, विज्ञानले सामना गरिरहेको महत्वपूर्ण चुनौतीमा जानकारी होस् र वैज्ञानिक प्रयासको लागि समर्थन गर्न शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाउने मूल उद्देश्य हो । युनेस्कोले शान्ति र विकासको लागि यो दिवस मनाउन सुरु गरेपछि विभिन्न वैज्ञानिक परियोजना र कार्यक्रमहरू पारित भई सफल भएको पाइन्छ । युद्ध ग्रसित क्षेत्रका वैज्ञानिकहरूलाई विश्वका अरू वैज्ञानिकसँग संगठित गर्दै लैजानु पनि यो दिवसको एक उद्देश्य हो ।
विज्ञान र विकासको स्रोत नै गुणस्तरीय, व्यावहारिक र शान्ति शिक्षा हो । यसै सिलसिलामा हाम्रो देशको शिक्षा आधारभूतदेखि उच्चसम्म आमजनताका लागि शान्तिमय, व्यावहारिक र वैज्ञानिक हुनुपर्छ । नेपालको शिक्षा विगतदेखि हालसम्मकोे अवधिलाई हेर्दा नेपाल र नेपाली जनताको मूल स्वार्थ इच्छा र आवश्यकताभन्दा राजनीतिक परिवेशमै अलमलिएको देखिन्छ । नेपालको शिक्षा आधारभूतदेखि उच्चसम्म नै देश सुहाउँदो छ भन्न सकिँदैन । गुणस्तर, व्यावहारिक र वैज्ञानिक नहुँदा लाखौँ शिक्षित बेरोजगारहरू खाडी मुलुकमा रोजगारका लागि जान बाध्य भएका छन् भने आफ्नो देशमा गाउँघरका कृषि योग्य जमिन सबै बाँझो छन् ।
नेपाल र नेपालीको विकासका लागि आधारभूत शिक्षादेखि उच्च शिक्षा शान्तिमय, वैज्ञानिक, व्यावहारिक र राष्ट्रिय हितका लागि हुनुपर्छ । अशान्ति हटाउन सबैभन्दा पहिले आफ्नो परिवार, समुदाय, समाज, संस्कृति, मानव अधिकार आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संघर्ष तथा द्वन्द्वले शान्ति कहिल्यै आउँदैन, अतः सदैव बन्धुत्वको भावनाको विकास गरी वैज्ञानिक शान्ति शिक्षाको सञ्चार गर्नु आवश्यक छ । प्रत्येक देशमा सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासको सुनिश्चित गर्ने मार्गमा सबै समुदाय, वर्ग एवं धर्मको संयुक्त रूपले वैज्ञानिक शान्ति संस्कृतिको विकास गर्न नितान्त आवश्यक भएको छ । आज सम्पूर्ण विश्व नै विभिन्न बहानामा अशान्तिको छाल मडारिएको सन्दर्भमा सबैमा वैज्ञानिक शान्तिमय संस्कृतिको विकास गर्नु नै आजको आवश्यकता हो ।
महान् दार्शनिक मार्टिन लुथरको भनाइअनुसार शान्ति केवल युद्धबाट आउने होइन, आपसी मेलमिलाप र शान्तिबाट नै आउँछ । आजको सन्दर्भमा माथि उल्लिखित वाक्यांशहरू धेरै महत्वपूर्ण छन् । विश्वयुद्ध, अन्याय एवं आपसी वैमनस्यताका कारण शान्ति भंग भई शान्तिको ज्योति टाढा भएकाले हामी सबै मिली शान्ति संस्कृतिको विकासबाट नै शान्ति ल्याउनु आवश्यक छ । शान्ति संस्कृतिको विकासबाट मानव मूल्य–मान्यताको विकास सम्भव छ । शान्ति विकासको लागि विद्यालय तहको पाठ्यक्रममा नै शान्ति शिक्षा राख्नुपर्ने आजको आवश्यकता हो । शिक्षण पद्धतिको माध्यमबाट शिक्षकद्वारा सदैव उच्च नैतिकतासाथ शान्ति शिक्षा व्यापक बनाउन आवश्यक छ । युनेस्कोले मानव मूल्य, मान्यता र शान्तिबारे यसरी आफ्नो भाव व्यक्त गरेको छ, उचित आचरण, शान्ति, प्रेम र अहिंसा सबैमा सार्वभौमिक मूल्य छ शान्तिका लागि, जुन शान्ति आधारित वैज्ञानिक शिक्षाको कार्यक्रमको निर्माण सबैले गुर्नपर्छ ।
शान्तिका लागि मुख्य तीन प्रकारको आयाममा विशेष ख्याल राख्नुपर्छ— सार्वभौमिक शान्ति, सामाजिक शान्ति र प्राकृतिक शान्ति । आज हाम्रो देश नेपालमा पनि शान्ति शिक्षासम्बन्धी पाठ्यक्रम राख्ने बहस नचलेको भने होइन, यो बहस बहसमा मात्र सीमित भएको छ । शान्ति शिक्षाको लागि निम्न उद्देश्य राखी विद्यालयका विद्यार्थीहरूलाई शान्तिको मार्ग दिन सक्ने सशक्त पाठ्यक्रम बनाउन आवश्यक छ । शान्ति संस्कृति स्थापना गर्न अध्यापक अर्थात् गुरुहरूले पनि सोसम्बन्धी विभिन्न कार्य गर्नुपर्ने समय आएको छ । सोका लागि विविध छलफल एवं कार्यशाला आयोजना गरी विस्तृत पाठ्यक्रम बनाई शान्ति स्थापना गर्न सहयोग गर्ने, व्यावहारिक तथा वैज्ञानिक तरिकाबाट शान्तिसम्बन्धी कार्य एवं प्रशिक्षण दिने, पाठ्यक्रम निर्माण, विशिष्ट स्थानीयसहित विकास मापन गर्ने मानवीकृत मूल्याङ्कन प्रक्रियाको निर्माण तथा उपयोग गर्नुपर्छ ।
शान्ति शिक्षा व्यक्तित्व तथा चरित्र निर्माणका लागि पाठ्यक्रम हुन आवश्यक छ । शान्ति स्थापना शिक्षा उत्पादनका लागि जिम्मेवार एवं संवेदनशील नागरिकको भूमिकामा जोड दिनु आवश्यक छ । शान्ति शिक्षाको कार्यक्रमका लागि विभिन्न पाँच स्तरको एकीकृत पाठ्यक्रम शान्ति शिक्षा दिन सक्ने क्षमतावान् शिक्षाको विकास गर्नु आजको आवश्यकता हो । यो निम्न प्रकारको हुन सक्छ : शान्ति शिक्षाको सिद्धान्तबारे उचित पाठ्यक्रम बनाउनुपर्ने, सबै सैद्धान्तिक पाठ्यक्रम एवं शिक्षण पद्धतिको सम्बन्धित पाठ्यक्रममा नै शान्ति शिक्षाको बारे एकीकृत तरिकाबाट ज्ञान दिने, शान्ति शिक्षा अध्यापन अभ्यास तथा अन्य विद्यालय अनुभव आदानप्रदानमा ध्यान दिने, सांस्कृतिक साहित्यिक तथा अन्य पाठ्य सहभागी कार्यक्रमको सहयोगको माध्यममा शान्ति शिक्षाको विशिष्ट गतिविधि अयोजना गर्ने, शिक्षक, शिक्षण संस्था तथा सबै समुदायमा शान्ति शिक्षाको सन्देश प्रसारित गर्नुपर्छ ।
हाम्रो शिक्षा क्षेत्रको मूल समस्यालाई हेर्ने हो भने क्षेत्र र परिधिबारे स्पष्ट नहुनु, अन्तर्राष्ट्रिय परिभाषामा उच्च शिक्षा कक्षा १२ पछिको शिक्षालाई जनाउँछ । राजनीतिक दलको निहित स्वार्थका कारण सरकारको विभिन्न शैक्षिक योजनाले पनि शिक्षाको लागि स्पष्ट मार्गचित्रण गर्न नसक्नु, नीतिनिर्माणको राष्ट्रप्रतिको ठूलो तिरस्कार नै हो । जसको परिणामस्वरूप नेपालमा शिक्षा अन्योल अवस्था, शिक्षक, विद्यार्थी, अभिभावकबीच समन्वय नभई विद्यमान समस्याहरू देखा परेको, शिक्षा क्षेत्र राजनीतीकरण, शैक्षिक संस्थालाई सम्बन्धन दिने नीति स्पष्ट र पारदर्शी नभएको, शैक्षिक तथा भौतिक पूर्वाधारको कमी, यसको परिणामस्वरूप अन्तर्राष्ट्रिय जगत्मा नै हाम्रो शैक्षिक उपाधिको विश्वसनीयतामा नै प्रश्नचिह्न उठ्ने गरेको, उचित शैक्षिक पाठ्यक्रम लामो समयदेखि समयअनुसार देशको आवश्यकताअनुसार परिवर्तन नभएको, पाठ्यभार, पाठ्यअवधि, गुणस्तरीय मापदण्डको अभाव, विदेशी विश्वविद्यालयहरूसँगको सम्बन्धनमा सञ्चालित शैक्षिक नियन्त्रण र समन्वयको अभाव, निजी स्तरबाट खोलिएका शैक्षिक संस्थामा बढ्दो व्यापारीकरण भई शिक्षक, अभिभावक, विद्यार्थीलाई थप आन्दोलित बनाएको, उचित कार्यनीतिको अभाव, असक्षम प्रशासन, नातावाद, राजनीतिकरण, भ्रष्टाचारीलाई राजनीतिक तथा प्रशासनिक संरक्षण, व्यक्तिगत स्वार्थ, असक्षम राजनीतिक नियुक्ति, अनुशासनको कमी, न्यून आर्थिक स्थिति, विज्ञलाई पाखा अनभिज्ञलाई प्रशासन, पुरानै स्वार्थपूर्ण कार्य व्यावसायिक शिक्षाको अभाव, वास्तविक योजनाको अभाव, उचित पुरस्कार र दण्डको व्यवस्था नहुनु असक्षम व्यवस्थापन आदिबाट नेपालको शिक्षा खासै वैज्ञानिक, व्यावहारिक भएको छ भन्न सकिँदैन कि ? त्यसमा पनि कोभिड महामारीले झन् अस्तव्यस्त पारेको छ ।
सो समस्या हल गर्न शिक्षा क्षेत्रमा आधारभूत शिक्षा र प्राविधिक वा व्यावसायिक शिक्षाबीच सरकारले स्पष्ट नीति ल्याउनुपर्ने, आधारभूत शिक्षा सबै नागरिकलाई प्रदान गर्नुपर्ने, गुणस्तरीय मूल्याङ्कन, समय सुहाउँदो पाठ्यक्रमको विकास हुनुपर्ने, शिक्षा क्षेत्रमा व्यापारीकरण रोकी शिक्षक, विद्यार्थी र अभिभावकको मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुपर्ने, सक्षम व्यवस्थापन, नातावाद, राजनीतिक प्रदूषण, भ्रष्टाचारीलाई प्रश्रय नदिने, जनसहभागितामा जोड, वैज्ञानिक तथा व्यावहारिक शिक्षा, दीर्घकालीन शैक्षिक योजना, पूर्वाधारको विकास, आवश्यक उपकरण प्रयोग, वास्तविक देशअनुसारको शिक्षा, प्रशासनमा राजनीतिक हाबी रोक्ने, हाम्रो होइन गुणस्तरीय मान्छेलाई पदमा राख्ने आदि कार्य गरेमा हाम्रो शिक्षा गुणस्तर र व्यावहारिक, नेपाल र नेपालीको हितमा भई वैज्ञानिक शान्ति संस्कृतिको विकास हुने थियो । तबमात्र हरेक वर्ष नोभेम्बर १० मा मनाइने शान्ति तथा विकासका लागि विश्व विज्ञान दिवसले सार्थकता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्