छठ समापन «

छठ समापन

वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव सूर्यनारायणको भक्तिपूर्वक पूजाअर्चना गरी छठ सम्पन्न भएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्व बिहीवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको हो । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।
गत सोमवारबाट सुरु भएको छठ पर्वमा आराध्यदेव श्री सूर्यको पूजा, अर्चना, उपासना गरी मनाइन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन नजिकका पोखरी, तलाउ, खोला, नदी वा गंगामा स्नान गरी शुद्ध भएर व्रत सुरु गरिन्छ ।
व्रतालुले सप्तमीको दिनसम्म, माछा, मासु, लसुन, कोदो, फापर लगायतका शास्त्रमा वर्जित खानेकुहरु बार्ने चलन रहेको छ । विशेष गरेर तराईमा मनाइने छठ पर्व मिथिला क्षेत्रमा भव्यताका साथ मनाइँदै आइएको छ । पछिल्लो समय काठमाडौंको गौरीघाट, थापाथली, कमलपोखरी र रानीपोखरीमा मनाइने गरिएको छ ।
विशेष गरी मनोकांक्षा पूरा हुने विश्वासमा महिलाहरुले निर्जल कठोर व्रत बस्ने गर्दछन् । काठमाडौंका विभिन्न स्थानका नदी किनार तथा पोखरीहरुलाई बेहुलीझैँ सिँगारेर छठ मनाइएको हो । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई गंगा माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मान्ने शास्त्रमा उल्लेख गरिएको छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजाआराधना गरेमा चिताएका मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्