प्राविधिक शिक्षाका लागि ७० लाख संकलन «

प्राविधिक शिक्षाका लागि ७० लाख संकलन

गलकोट- बाग्लुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाका लागि ७० लाख रुपैयाँ सहयोग संकलन गरिएको छ । विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले सुरु गरेको सहयोग संकलन अभियानबाट हालसम्म ७० लाख जम्मा भएको विद्यालयले जनाएको छ ।
विद्यालयले यही फागुन ७ गतेदेखि १५ गतेसम्म ९ दिन स्वर्ण महोत्सव मनाउँदैछ । विद्यालयले शिक्षाप्रेमी, उद्यमी, विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक विद्यालय व्यवस्थापन समितिलगायत संघसंस्था तथा व्यक्तिबाट स्वेच्छिक रकम संकलन गरेको विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले जानकारी दिए ।
विद्यालयले डेढ करोड संकलन गर्ने र कम खर्चमा स्वर्ण महोत्सव सम्पन्न गरी बचत रकमले अक्षयकोष निर्माण गर्ने र ब्याजबाट प्राप्त रकमले प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले बताए । कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ४९१ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरे पनि रोजगारमूलक शिक्षाका लागि प्राविधिक विषयको पठनपाठन सुरु गर्ने योजना विद्यालयले बनाएको छ । शिक्षा मन्त्रालयबाट सम्बन्धन लिई कक्षा ११ र १२ मा कृषि तथा पशु विज्ञान विषयको कक्षा विद्यायलमा सञ्चालन गर्ने योजना बनाएको खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्